राजनीति


रक्षामन्त्री र उद्योगमन्त्री नियुक्ति गर्ने तयारीमा देउवा, कसको सम्भावना?

सुजाता कोइराला र राजन केसीमध्ये एक निश्चित
रक्षामन्त्री र उद्योगमन्त्री नियुक्ति गर्ने तयारीमा देउवा, कसको सम्भावना?

केशव सावद
माघ २९, २०७८ शनिबार १५:२२, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्। उनले रिक्त रक्षामन्त्री र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पदमा नियुक्तिकाे तयारी गरेका हुन्। 

रक्षामन्त्री र उद्योगमन्त्री दुई दिनभित्रै नियुक्ति गर्ने तयारीमा प्रधानमन्त्री देउवा रहेकाे उनका विश्वासपात्र मानिने एक प्रभावशाली मन्त्रीले नेपालखबरलाई जानकारी दिएका हुन्। 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा हारेपछि तत्कालीन रक्षामन्त्री डा. मीनेन्द्र रिजालले गत पुस १ गते पदबाट राजीनामा दिएका थिए। 

यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि तत्कालीन उद्योगमन्त्री गजेन्द्र हमालले असोज २४ गते राजीनामा दिएका थिए। 

स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाले शनिबार सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग पनि छलफल गरेका छन्। 

‘प्रधानमन्त्रीज्यूले पर्सि (सोमबार) सम्म मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ’, ती मन्त्रीले शनिबार दिउँसाे नेपालखबरसँग भने, ‘यसका बारेमा आज (शनिबार)  प्रचण्डजी र माधव नेपालजीसँग पनि छलफल गर्नुभएको छ।’

यो पनिदेउवासँग प्रचण्ड–नेपालको आग्रह : एमालेको अनुरोधअनुसार संसद् बैठक सारौं

प्रधानमन्त्री देउवाले पार्टीकाे १४औँ महाधिवेशनमा सघाएका कांग्रेस नेता प्रकाशमान सिंहको सिफारिसमा एक जनालाई मन्त्री बनाउने बताइएको छ। 

स्रोतका अनुसार सिंहको सिफारिसमा सुजाता कोइराला र राजन केसीमध्ये कुनै एक जना मन्त्री बन्ने निश्चित छ। रक्षामन्त्रीरे भने अझैँ टुंगो लागि नसकेको स्रोतको भनाइ छ। 

‘प्रकाशमानजीको सिफरिसमा एक जना मन्त्री नियुक्त हुनुहुन्छ। उहाँलाई सम्भवतः उद्योग मन्त्रालय दिने भन्ने छ’, ती मन्त्रीले भने, ‘रक्षा मन्त्रालय आफैँसँग राख्ने कि भन्ने छ। साझेदार दलहरुले मानेनन् भने उद्योग मन्त्रालय उता दिएर रक्षामा प्रकाशमानजीको सिफारिसमा जानेले पाउनुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .