राजनीति


अखिल क्रान्तिकारीमा भाँडभैलो, बैठकमै हात हालाहालपछि १० जना निलम्बित

जुम बैठकले दिपेशलाई महासचिव बनाएदेखि बढ्दो विवाद
अखिल क्रान्तिकारीमा भाँडभैलो, बैठकमै हात हालाहालपछि १० जना निलम्बित

तनावबीच बसेको क्रान्तिकारीको बैठक। जसलाई एउटा समूहले बहिष्कार गरेको छ।


रुपक चौलागाईं
असार ५, २०७९ आइतबार २२:३९, काठमाडौँ

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको भाँडभैलो थेगिने अवस्था देखिएको छैन। 

आइतबारका लागि बोलाइएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा पनि त्यहीँ भाँडभैलो फेरि दोहोरियो। 

राजधानीको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा बोलाइएको बैठकमा संगठनका दुई गुटबीच झडप नै भएको छ। दुई गुटबीच हात हालाहालले तनाव भएपछि बैठक हलसम्मै पुगेर प्रहरीले सुरक्षा दिनुपरेको छ। 

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा दुई पक्षका नेताहरुबीच कुटाकुट भएपछि साँझ ढिला मात्रै बसेको थियो। 

संगठनको पदाधिकारी चयनप्रति असन्तुष्टि जनाउँदै आएका उपाध्यक्ष पवन कार्की लगायतका विद्यार्थी नेताहरुले आइतवार पनि विरोध गरेका छन्। 

कार्कीसहित  १० जना निलम्बन
बैठकस्थल दिनभर तनावग्रस्त भएपछि आइतबार साँझ बसेको केन्द्रीय समितिको बैठकले १० जना केन्द्रीय सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको छ। 

असन्तुष्ट पक्षका कार्कीसहित अन्य १० जनालाई आइतबार साँझ बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको छ।

बैठकले पवन कार्की, वसन्ता भण्डारी, रमेश खड्का, उपदेश यादव, श्याम रोका, बाल कुमार केसी, रविन बस्नेत, सञ्जीव चौधरी, समीर बुढाथोकी र पदम नेपालीलाई सदस्य पदसमेत नरहने गरी कारबाही गरेको एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए। 

उनीहरुलाई अनिश्चित कालका लागि निलम्बन गरिएको हो।

अरु निर्णय? 
अखिल क्रान्तिकारीले तीन महिने अभियान संचालन गर्ने निर्णय पनि गरेको छ। देशभर १९ वटा कमाण्ड बनाएर अध्यक्ष र उपाध्यक्षले नेतृत्व गर्नेगरी अभियान संचालन हुनेछ। 

‘फ्री शिक्षा, फ्री स्वास्थ्यको नारासहित विद्यार्थीसँग अखिल क्रान्तिकारी’ भन्दै तीन महिने अभियान संचालन गरिने भएको हो।

त्यस्तै, ९९ सदस्यीय सचिवालय निर्माण भएको छ। सचिवालय सदस्यहरुबाट विभागीय जिम्मेवारी दिने, नयाँ केन्द्रीय सदस्यहरुलाई जिल्ला इन्चार्ज बनाउने निर्णय पनि भएको छ। 

अहिलेसम्म अखिल क्रान्तिकारीमा जिल्ला समिति कार्यकारी थियो। प्रदेश समिति र राष्ट्रिय विश्वविद्यालयलाई कार्यकारी बनाएर जिल्लालाई भने समन्वय समिति बनाउने निर्णय पनि आज साँझ बसेको बैठकले गरेको छ।

अवैधानिक कमिटीको कारबाही मान्दैनौँ : कार्की
कार्कीले भने पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीको केन्द्रीय कमिटीलाई अवैधानिक भनेका छन्। उनले अवैधानिक कमिटीले गरेको निर्णय नमान्ने बताए।

‘पछि आफ्ना आफ्ना मान्छेहरूलाई मात्र बोलाउँदै अरुलाई भित्र छिर्न नदिएर केही मान्छेले बैठक गरेका हुन्,’ कार्कीले भने, ‘हामीले कोणसभा गर्यौं। अवैधानिक कमिटी भएकाले त्यसलाई खारेज गर्न माग गरेका छौं। हामीले पार्टीमा भनेका छौँ। अब पार्टीले नै एक्सन लिन्छ।’

फ्यार्क्सन इन्चार्ज हितमान शाक्य र अध्यक्ष पञ्चा सिंहलाई कारबाहीका लागि पार्टी कमिटीमा आग्रह गरेको उनले बताए। 

कारबाही नभएमा आफ्नो केन्द्रीय कमिटीले कारबाही गरेर अघि बढ्ने उनले बताए। ‘टीको लगाएर आउने कुराको विरोध गरेका हौं,’ उनले भने, ‘निर्वाचन लड्न पाउनुपर्यो भन्ने कुरा हो।’

विशेष राष्ट्रिय भेला वा महाधिवेशनमा जानका लागि आफूहरुले माग गरेको उनले बताए। 

‘उनीहरु तयार छन् भने पञ्चा सिंहसँग चुनाव लड्नका लागि हामी तयार छौं,’ कार्कीले भने। कार्यकर्ताबाट अनुमोदन भएर आउन उनले सिंहलाई चुनौती दिएका छन्। 

जबरजस्ती बैठक गर्न खोज्दा यस्तो अवस्था आएको उनले बताए। 

माग रिजेक्ट भइसक्यो : पञ्चा सिंह
पदाधिकारी चयनमा असन्तुष्टि जनाउँदै आएका कार्कीका माग सम्बोधन गर्नका लागि हरसम्भव प्रयास गरे पनि कमिटीबाटै रिजेक्ट भएको अध्यक्ष सिंह बताउँछिन्। 

‘महासचिव भन्दामाथि उपाध्यक्ष र अध्यक्षसहितको कार्यालय छ। पदाधिकारी बैठकले पनि आइतबार बिहान रिजेक्ट गर्यो,’ उनले भनिन्, ‘उहाँलाई केन्द्रीय कमिटीमा पनि आफ्नो कुरा राख्न भनेका थियौँ, तर उहाँ मान्छे लिएर हलमा छिर्नुभएछ।’

सिंहका अनुसार आज बिहान पदाधिकारी बैठक बसेको थियो। ‘हामी खाना खान गएका थियौँ, पवनजी एउटा टिम ल्याएर हलभित्र छिर्नुभएछ। मूलतः कमिटी नै विघटन गर्नुपर्ने उहाँको माग थियो। पदाधिकारी पनि थप्नुपर्यो भन्नुभएको थियो,’ उनले भनिन्, ‘हिजो हामीले कार्यालयमा पदाधिकारी थपको प्रस्ताव पनि लगेका थियौँ, तर पदाधिकारी थप्न सकिँदैन भन्ने कुरा आयो।’

भएको के? 
राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व आएदेखि नै अखिल क्रान्तिकारीमा विवाद सुरु भएको हो। 

गत असोज दोस्रो साता राष्ट्रिय सम्मेलन गरेको क्रान्तिकारीले अध्यक्षमा पञ्चा सिंहलाई चयन गरेदेखि अन्य पदाधिकारी चुन्न सकेको थिएन।

वैशाख ५ गते क्रान्तिकारीको जुम एपमार्फत केन्द्रीय कमिटीको भर्चुअल बैठकबाट पदाधिकारी चयन भएको घोषणा गरिएको थियो। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी त्यही जुम बैठकबाट उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई महासचिव घोषित गरिएसँगै क्रान्तिकारीमा विवाद सुरु भएको हो।

जुम बैठकको लफडा 
जुम बैठकले उपाध्यक्ष, महासचिव मात्र होइन, केन्द्रीय सदस्यमै नरहेकालाई पदाधिकारीमा चयन गरेको भन्दै असन्तुष्टि बढेको थियो। 

असोजमा भएको सम्मेलनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो। त्यसपछि धेरैको संख्यामा असन्तुष्ट भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .