ad ad

राजनीति


काठमाडौं ४ मा राधालाई फकाउँदै राजनीतिक दल

काठमाडौं ४ मा राधालाई फकाउँदै राजनीतिक दल

नेपालखबर
भदौ २९, २०७९ बुधबार १२:५५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–४ बाट फेरि प्रतिष्पर्धा गर्ने तयारीमा छन्। उनीसँगै नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई पनि काठमाडौं–४ बाटै निर्वाचन लड्ने तयारीमा छन्।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने अनौपचारिक घोषणा गरेकी छन्।

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको विजयबाट हच्किएका राजनीतिक दलहरु पोखरेलको घोषणाले आफ्नो मत काटिने भयमा छन्।

बालेन्द्रले स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा काटेजस्तै आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारले मत कटौती गर्ने पूर्वानुमान गर्दै दलहरु काठमाडौं–४ मा राधालाई आ–आफ्नो पक्षमा ल्याउन प्रयासरत छन्।

राधालाई प्रमुख प्रतिपक्षी एमाले, सत्ता साझेदार नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आ–आफ्नो दलबाट उम्मेदवार बन्न प्रस्ताव गरिरहेका छन्।

राधाले पनि आफूलाई एमाले, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र पार्टीले आ–आफ्नो दलबाट उम्मेदवार बन्न प्रस्ताव गरेको प्रतिक्रिया दिइन्। कांग्रेसले भने अहिले उम्मेदवार नबन्न आग्रह गरेको राधाले सुनाइन्।

‘एमाले, एकीकृत समाजवादी, राप्रपा, रवि लामिछानेको पार्टीले हाम्रो पार्टीबाट चुनाव लड्नुस् भनिरहेका छन्,’ राधाले नेपालखबरसँग भनिन्, ‘केही समयअघि कांग्रेस महामन्त्री गगन थापा पनि आउनुभएको थियो। उहाँले अरुले जस्तो प्रस्ताव गर्नु भएन। नलड्दा हुन्छ भन्ने आशयमा कुरा गर्नुभयो।’

राधाले दलहरुबाट प्रस्ताव आए पनि आजका दिनसम्म आफूले निर्णय गरिनसकेको पनि बताइन्। ‘अहिलेसम्म मैले यही क्षेत्रबाट जान्छु भनेर फाइनल गरिसकेको छैन। म यो क्षेत्रकी भोटर हुँ। के–कसरी जाने भनेर अहिले भोटरहरुको माझ जाँदै छु,’ राधाले भनिन्, ‘कसैले दलबाट जान भन्नुहुन्छ, कसैले स्वतन्त्रबाट जानु भन्नुहुन्छ। आजको दिनसम्म मेरो स्वतन्त्र नै छ।’

एमाले जस्तो ठूलो राजनीतिक दलको प्रस्तावबारे राधा भन्छिन्, ‘राजनीतिक दलमा रहँदा अलिकति काम गर्न पनि असहज हुने, केही काम गर्न परे सबैसँग परमिसन लिनुपर्ने भएकाले काम गर्न नसकिएला कि भन्ने हिसाबले स्वतन्त्रबाट जानुपर्छ भन्ने हो।’

कुराकानीका क्रममा उनले एमालेबाट निर्वाचन लड्न इच्छुक भएकोसमेत संकेत गरिन्। राधाले आफूलाई एमालेले काठमाडौं–४ छाडेर काठमाडौं–६ वा महोत्तरीबाट चुनाव लड्न अथवा समानुपातिकमा बस्न प्रस्ताव गरेको खुलाइन्।

राधाले राप्रपाबाट आफूलाई समानुपातिक प्रणाालीको बन्दसूचीमा शीर्ष पाँचभित्रै नाम सिफारिस गर्नेसमेत प्रस्ताव आएको बताइन्। उनले राप्रपासँगै पूर्वसञ्चारकर्मी रवि लामिछानेको पार्टीले पनि प्रस्ताव गरेको तर सानो पार्टीमा जाने इच्छा नभएको बताइन्।

‘राप्रपाले समानुपातिकमा पाँच भित्रै नाम राख्छु भनेर प्रस्ताव गरिरहेको छ। रवि लामिछानेको पार्टीले पनि भनेको हो,’ राधा भन्छिन्, ‘तर, उहाँहरुसँग जान्नँ।’

उनले कांग्रेसप्रति पनि अनिच्छा देखाइन्। ‘राजनीतिक दलबाटै लड्नुपर्ने भए एमालेबाट लड्छु,’ राधाले भनिन्, ‘कुरा त एकीकृत समाजवादीबाट पनि आएको हो। तर, मन छैन। कांग्रेसमा जाने त कुरै भएन।’

उनी एमालेले प्रदेशसभा सदस्यतर्फ प्रत्यक्ष निर्वाचन प्रणालीमा निर्वाचन लडाए आफू तयार हुनेसम्मको मनस्थितिमा पनि देखिन्छन्।

नेपाल पुँजी बजार संघको नेतृत्व सम्हालिरहेकी राधा युवाहरुले राजनीतिमा प्रवेश गर्नुपर्ने बताउँछिन् । काठमाडौं क्षेत्र नम्बर ४ मा मात्रै २४ हजार सेयर लगानीकर्ताहरु रहेको र आफू महिलासमेत भएकाले यही भोटबाट आफू विजयी बन्ने उनले दाबी गरिन् ।

हेर्नुहोस् भिडिओ–
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .