ad ad

राजनीति


सहकारी छानबिन समिति ‘ठग बचाउने ठगहरूको प्रपञ्च’ : चित्रबहादुर केसी

सहकारी छानबिन समिति ‘ठग बचाउने ठगहरूको प्रपञ्च’ : चित्रबहादुर केसी

नेपालखबर
असोज ३, २०८१ बिहिबार २१:१७, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्।

उनले सहकारी ठगहरू मिलेर अरु ठगलाई बचाउने प्रपञ्च गरेको भन्दै व्यंग्य गरेका छन्।

बिहीबार बुटवलमा आयोजित पार्टी निकट युवक संगठन अखिल नेपाल युवक संघको राष्ट्रिय भेला तथा प्रशिक्षण कायृक्रममा बोल्दै अध्यक्ष केसीले कांग्रेस, एमाले र माओवादी मिलेर आफ्नो पार्टीका सहकारी ठगसहित रवि लामिछानेलाई जोगाउन प्रपञ्च गरेको आरोप लगाए।

‘सहकारीका ठूला ठगहरू कांग्रेस, एमाले, माओवादीमै छन् नि’ उनले भने, ‘रवि लामिछानेलाई नजोगाए त आफ्ना पनि फँस्छन्। त्यसकारण छानबिन समिति तिनै ठगहरू मिलेर अर्को ठगलाई जोगाउने प्रपञ्च हो।’

संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नहुने केसीको भनाई थियो।

‘यसअघि बनेका आठवटा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन भएन। अब पनि हुने अवस्था देखिँदैन’ केसीले भने, ‘जनताले सहकारीमा डुबेको रकम सजिलै फिर्ता पाउने अवस्था बनेन।’

केसीले राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाबाट सञ्चालित भएको पनि दोहोर्‍याए।

फरक प्रशंगमा अध्यक्ष केसीले देशमा विदेशी हस्तक्षेप गम्भीर रुपमा बढेर गएको बताए। उनले पहिला भारतीले नेपालमाथि हस्तक्षेप गर्ने गरेकोमा अहिले अमेरिका पनि प्रत्यक्ष रुपमै आएको उल्लेख गरे।

‘नेपालमा यसअघि भारतीय साम्राज्यवादको मात्रै हस्तक्षेप थियो। पश्चिमाहरू नेपालमा भारतमार्फत प्रवेश गर्थे’ केसीले भने, ‘अहिले अमेरिकी साम्राज्यवाद प्रत्यक्षरुपमै नेपालमा आएको छ।’

उनले संविधानमा विदेशीले घुसाइदिएको संघीयताको भारी अब देशले बोक्न नसक्ने पनि स्पष्ट पारे।

अध्यक्ष केसीले युवाशक्ति विदेश पलायन भइरहेको भन्दै देशभित्रै रोजगारी र बस्ने वातावरण बनाउन संघर्ष गर्न आह्वान गरे। राष्ट्रियता जोगाउने मेरुदण्ड नै युवाशक्ति भएको केसीको भनाई थियो।

हिजो र आज (असोज २ र ३ गते) गरी २ दिनसम्म चलेको अखिल नेपाल युवक संघको राष्ट्रिय भेला तथा प्रशिक्षणले आठौं राष्ट्रिय सम्मेलन आगामी फागुन ५, ६ र ७ गते बुटवलमा गर्ने ठेगान गरेको अध्यक्ष कृष्ण पाण्डेले जानकारी दिए।

भेला तथा प्रशिक्षणको उद्घाटन बुधकार जनमोर्चाका महासचिव मनोज भट्टले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .