नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि आसन्न निर्वाचनबाट नेपाली कांग्रेसले नै ‘म्यान्डेट’ पाउने दाबी गरेका छन्।
लौहपुरुष गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा आज शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद् विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई मत दिने दाबी गरेका हुन्।
संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको जिकिर सिंहले गरे।
स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुनेगरी काम गर्नुपर्नेमा सिंहले जोड दिए।
सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँडबारे छलफल भइरहेकाले छिट्टै निकास निस्कने सिंहको भनाइ छ।
गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ’, उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’
गणेशमान सिंहले देखाएको बाटो हिँड्न सके मात्र लोकतन्त्र बलियो हुने उनले बताए। गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेता सिंहले नेपाली राजनीतिमा गणेशमान सिंहको योगदानको चर्चा गरे।
Shares
प्रतिक्रिया