राजनीति


मोदीलाई वाराणसी गंगाले बोलाइन्, प्रचण्डलाई शहीदको रगतले गोरखा

मोदीलाई वाराणसी गंगाले बोलाइन्, प्रचण्डलाई शहीदको रगतले गोरखा

वाशुदेव मिश्र
असोज २१, २०७९ शुक्रबार १५:१८, पोखरा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१४ को लोकसभा निर्वाचनमा गुजरातको वडोदरासँगै उत्तरप्रदेशको वाराणसी चुनावी क्षेत्र रोजे। सन् २००१ मा गुजरातको राजकोटबाट राजकीय यात्रा सुरु गरेका तथा वडोदरालाई मुख्य चुनावी क्षेत्र बनाउँदै आएका मोदीको त्यो निर्णयको आलोचना भयो।

सन् २००९ मा भारतीय जनता पार्टीका नेता डा. मुरली मनोहर जोशीले चुनाव जितेकाले मोदीले सुरक्षित ठाउँ खोजेको आरोप लाग्यो। प्रत्युत्तरमा मोदीले भने, ‘ना मुझे किसी ने भेजा है, ना मैं यहाँ आया हूँ, मुझे तो माँ गंगा ने बुलाया है।’
 

नेपालको राजनीतिमा अहिले झण्डै त्यस्तै भएको छ। चितवनको क्षेत्र नम्बर ३ बाट यसअघि चुनाव जितेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निम्तो आएको छ। निम्तो दिनेमा गोरखा क्षेत्र नम्बर २ का निवर्तमान सांसद डा. बाबुराम भट्टराई, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठदेखि स्थानीय तहका नेतासम्म रहेका छन्।

प्रचण्डले यो पटक आफू गोरखाबाट उम्मेदवार बन्नसक्ने संकेत गर्दै भनेका छन्, ‘हरेक पटक निर्वाचन क्षेत्र फेर्न सक्ने भएकैले प्रचण्ड भएको हो।’

माओवादीका शीर्ष नेतृत्व, अन्य दलका नेताहरु र जनप्रतिनिधिहरुले समेत गोरखा निम्तो गरेपछि प्रचण्डको मन गोरखातिर सोझिएको छ। गोरखा चितवनभन्दा सुरक्षित त छ नै, गोरखासँग प्रचण्डको भावनात्मक सम्बन्ध पनि जोडिएको छ। 

कुनैबेला प्रचण्ड गोरखामा मास्टरी गर्थे। भूमिगत हुनुअघिसम्म उनी गोरखाको आरुघाटमा रहेको भिमोदय माविमा मास्टरी गर्थे। चक र डस्टर थन्क्याएर मुक्तिको मार्गमा लाग्ने संकल्प उनले गोरखामै गरेका थिए। त्यतिमात्र कहाँ हो र? प्रचण्डकै अध्यक्षतामा २०५१ साल फागुन २–४ गतेसम्म गोरखाको धुवाकोटमा बसेको तत्कालीन माओवादीको तेस्रो विस्तारित बैठकले जनयुद्धको थालनी गर्ने निर्णय गरेको थियो।

धुवाकोट बैठकको सम्झना गर्दै प्रचण्डका सहकर्मी डा. बाबुराम भट्टराईले एउटा आलेखमा भनेका थिए, ‘धुवाकोट बैठकमा उपस्थित सबै १९ जना केन्द्रीय सदस्यले युद्धमा मर्न पनि सकिन्छ भन्दै बैठकपछि सामूहिक फोटो खिचाएका थियौँ।’

२०५२ साल फागुन १ गते सुरु भएको जनयुद्धको पहिलो आक्रमण थाल्ने जिल्लामध्ये गोरखा पनि एक थियो। ०५२ फागुन १ गतेबाट रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको राडीज्युला प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीमाढी प्रहरी चौकी र गोरखाको कृषि विकास बैंकको साना किसान बैंकमाथि एकसाथ भौतिक आक्रमण गरेको थियो माओवादीले। लगत्तै महासचिवको हैसियतले प्रचण्डले विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मा लिएका थिए।

कमाण्डर भएका नाताले पनि प्रचण्डसँग जनयुद्धका हरेक मोडको स्मरण छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङ ‘करन’ का अनुसार प्रचण्ड बेलाबेला माओवादी जनयुद्ध सुरुताकादेखि अहिलेसम्मका हरेक घटनाहरुको स्मरण गर्छन्। शहीदहरु सम्झन्छन् र भक्कानिन्छन्। यस्तो स्वभाव उनले सार्वजनिक स्थलमा पनि देखाउँदै आएका छन्।

पहिलो शहीद र उच्चस्तरका नेता गुमाएको जिल्ला गोरखा नै भएकाले प्रचण्डको गोरखासँग भावनात्मक सम्बन्ध भएको करनको बुझाइ छ। २०५२ साल फागुन १४ गते गोरखा ताकुकोट माविका प्रधानाध्यापक सूर्यप्रसाद गुरुङलाई पक्राउ गर्न पुगेको प्रहरीको गोलीबाट कक्षा ४ मा पढ्ने १२ वर्षीय दिलबहादुर रम्तेलको निधन भएको थियो। माओवादीले रम्तेललाई जनयुद्धको पहिलो शहीद मानेको छ।

२०५६ साल भदौ २३ गते घाँखु हत्याकाण्ड (हाल सिरानचोक गाउँपालिकामा पर्ने) मा माओवादीले आफ्ना वैकल्पिक पोलिटब्यूरो सदस्य सुरेश वाग्ले ‘बासु’ गुमाएको थियो। उनी जनयुद्धमा मारिने उच्च तहका नेता हुन्। प्रचण्डले उनकै सम्झनामा बासु स्मृति बिग्रेड नै खडा गरेका थिए। हर्मी प्रहरी चौकीबाट गएको टोलीले उनको पक्राउपछि हत्या गरेको थियो भने हालका महासचिव देव गुरुङ २०५३ सालमा गोरखाबाटै पक्राउ परेका थिए। अहिले प्रचण्डलाई निम्तो गरिएको गोरखा क्षेत्र नम्बर २ मा पर्ने  आँपपिपलको रातडाँडा सुरेश वाग्लेको जन्मथलो हो भने पहिलो कृषि विकास बैंक कब्जा गरिएको च्याङ्ली पनि सोही क्षेत्रमा पर्छ।

माओवादी केन्द्रीय सदस्य विजय धितालका अनुसार शहीदको रगतको सम्मान गर्न तथा जनयुद्धको विरासत बचाउन प्रचण्डलाई गोरखा २ मा निम्तो गरिएको हो।

‘गोरखाले जनयुद्धमा ठूलो योगदान दिएको छ, गण्डकीमै जन्मनुभएका अध्यक्षले गोरखाबाट चुनाव लड्नु भनेको गण्डकीकै इज्जत, शहीद, बेपत्ता तथा घाइते योद्धाहरुको सम्मान हो’, उनले भने, ‘जनयुद्धको जन्मथलो भएकाले गोरखाको निर्वाचन क्षेत्र सुरक्षित भएको पनि सत्य नै हो।’

प्रचण्डलाई राजनीतिक रुपले उचाइमा पुर्याउने तथा टक्कर दिने काम पनि गोरखाले नै गरेकाले पनि गोरखा प्रचण्डले नबिर्सने नाम हो। 

‘बाबुराम भट्टराईले प्रचण्डसँग गरेको अन्तरविरोध होस् वा शान्ति प्रक्रियामा आएपछि २०६७ सालमा पालुङटारमा सम्पन्न बैठक नै किन नहोस् प्रचण्डले नभुल्ने घटनाहरु हुन्’, माओवादीका एक नेताले भने, ‘एकातिर चितवनमा संगठन कमजोर हुनु र अर्कोतिर गोरखाको सुरक्षित निर्वाचन क्षेत्र खाली हुँदा पनि उहाँले गोरखामा मन गर्नुभएको हो।’

उनले २०५५ मंसिर २६ गते थुमी बाँसपुर हत्याकाण्ड, २०५५ कै केराबारी हत्याकाण्डको स्मरण गर्दै भने, ‘प्रचण्ड गोरखा आउँदा र यहाँ विकास निर्माणका काम हुँदा ती शहीदहरुको सम्मान हुन्छ।’

गोरखाको क्षेत्र नम्बर २ मा पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिका तथा गोरखा नगरपालिकाका ८,९,१०,११,१२,१३ र १४ वडा रहेका छन्। गएको स्थानीय निर्वाचनमा माओवादीले ती क्षेत्रमा पकड जमाएको छ।

गएको चुनावमा सो क्षेत्रबाट नयाँ शक्तिका डा. बाबुराम भट्टराई विजयी भएका थिए। कांग्रेसको समर्थनमा मैदानमा उत्रेका भट्टराईले ३१,८०७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी माओवादी नेता नारायणकाजी श्रेष्ठले २४,९३३ मत प्राप्त गरेका थिए। भट्टराई र श्रेष्ठको मतान्तर ६,८७४ रहेको छ। भट्टराई लोकतान्त्रिक गठबन्धन र श्रेष्ठ वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए। तत्कालीन वाम गठबन्धनमा एमाले र माओवादी थिए। गोरखा क्षेत्र नम्बर १ बाट भने माओवादीका हरि अधिकारी २९ हजार ८६० र २ मतले विजयी भएका थिए।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी, लेवाडेमा जन्मेका प्रचण्ड पछिल्लो चरणमा सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा थिए। भावनात्मक रुपले उनी कास्कीबाटै उम्मेदवार बन्न चाहन्थे। एकपटक जन्मस्थान ढिकुरपोखरीमै  जग्गा किनेर घर बनाउने र कास्की क्षेत्र नम्बर ३ लाई स्थायी निर्वाचन क्षेत्र बनाउने तयारी पनि थालिएको थियो। तर, बीचमा त्यसो भएन।

मोदीले वाराणसीबाट भारी मतले चुनाव जिते र सन् २०१९ को चुनावमा पनि वाराणसीकै उम्मेदवार बने। मोदीलाई सन् २०२४ पछि पनि भारतको प्रधानमन्त्रीको रुपमा हेरिएको छ। मोदी सम्भवत् आउँदो चुनावमा पनि वाराणसीबाटै उम्मेदवार बन्नेछन्। मोदी वाराणसी आएसँगै सो क्षेत्रमा बजेटको खोलो बगेको छ।वाराणसीको मुहार फेरिएको छ। 

भावी प्रधानमन्त्रीको रुपमा हेरिएका प्रचण्डबाट गोरखावासीले पनि त्यही अपेक्षा राखेका छन्। बाबुरामले निर्वाचन क्षेत्रमा सक्दो विकास गरिदिएकै छन्।मध्यपहाडी लोकमार्ग गोरखा हुँदै गएको छ। सम्भावनाले युक्त टारहरु भएको गोरखामा अब प्रचण्डले पसिना हैन बजेट बगाए हुने भएको छ। चितवन असुरक्षित हुँदै गर्दा र गोरखा क्षेत्र नम्बर २ खाली हुँदा प्रचण्डको मन पग्ल्यो।

माओवादी गण्डकीका एक नेता भन्छन्, ‘गोरखाबाट उम्मेदवार बनेपछि प्रचण्डले सुरक्षित क्षेत्रमात्र नभएर गण्डकीवासी भएको महशुस गर्न पाउनुहुन्छ, गोरखाको विकास पनि हुन्छ। यो हाम्रो लागि खुसीको कुरा हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .