ad ad

राजनीति


विश्वसँगै स्वर्णीम मैदानमा उत्रिए रोकिन सक्छ सुरेन्द्र पाण्डेको ‘ह्याट्रिक’

विश्वसँगै स्वर्णीम मैदानमा उत्रिए रोकिन सक्छ सुरेन्द्र पाण्डेको ‘ह्याट्रिक’

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले एमालेका सुरेन्द्र पाण्डे र सत्ता गठबन्धनका विश्व पौडेलको मत तान्न खोजिरहेका छन्


जेवी पुन मगर र सागर न्यौपाने
कात्तिक २०, २०७९ आइतबार १३:४१, भरतपुर

चितवन क्षेत्र नम्बर १ का टोलटोलमा घुम्दै बुझ्दै जाँदा थाहा भयो– नेपाली कांग्रेसले यस क्षेत्रमा चुनावअघि चर्चा गरिएझैँ अर्थशास्त्री स्वर्णीम वाग्लेलाई चुनावी मैदानमा उतारेको भए उनको जित सुनिश्चितजस्तै रहेछ। उनलाई संघीय संसदमा पठाउन यहाँका मतदाता मानसिक रूपले तयार भई बसेका रहेछन्। तर चुनाव न हो, त्यसो हुन सकेन।

विश्वमञ्चमा आफूलाई चिनाइसकेका प्रतिभाशाली वाग्लेको प्रतापबाट अत्तालिएका कांग्रेसभित्रका उदाउँदा पुस्ताकै ‘राजनीतिक जोडघटाउ’ का कारण अन्तिम समयमा वाग्लेको स्थानमा गठबन्धनका तर्फबाट कांग्रेसकै अर्का अर्थशास्त्री विश्व पौडेललाई उम्मेदवार बनाइयो। 

योजना आयोगका उपाध्यक्ष भइसकेका विश्वका ख्यातिप्राप्त शैक्षिक संस्थाबाट ग्राएजुट यी दुई युवा अर्थशास्त्रीबीच धेरै कुरामा समानता छ। तर क्षेत्र नम्बर १ मै घर भएका काठमाडौंबासी यी दुईमध्ये स्वर्णीम विश्वभन्दा बढी स्थानीय मतदातामाझ परिचित देखिन्छन्। यो कुरा नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने पनि स्वीकार्छन्।

हेर्नुस् भिडिओः

यो अप्ठेरोबारे नेपालखबरसँग कुरा गर्दै राजीव भन्छन्, ‘विश्वजी नयाँ भएकाले उहाँलाई मतदातामाझ चिनाउनै समय लाग्यो।’

गठबन्धनलाई मतदातासामु आफ्ना उम्मेदवारलाई सशरीर चिनाउने काम जारी छ। १७ कात्तिकमा रत्ननगर टाँडीमा कोणसभासहित ससानो र्‍यालीमा देखिएका गठबन्धनका उम्मेदवार विश्वलाई त्यसयता घरदैलोमा हिँडाउन थालिएको छ। विश्वलाई यस क्षेत्रबाट दुई-दुईचोटि निर्वाचित (२०७० र २०७४) भई अर्थमन्त्रीसमेत भइसकेका एमालेका प्रभावशाली उम्मेदवार सुरेन्द्र पाण्डेको जनाधारबाट मत तान्न प्रचार गरिएजस्तो सजिलो देखिँदैन।

गत स्थानीय निर्वाचनमा ‘लोकतान्त्रिक–वाम गठबन्धन’ का बाबजुद एमालेले ल्याएको राम्रो मत परिणामले विश्वलाई आफ्नो प्रतिद्वन्द्वी हराउन धेरै मेहनत गर्नुपर्ने देखिन्छ। 

यस क्षेत्रमा ३ वटा नगरपालिका छन्। तीमध्ये एमालेले गएको स्थानीय निर्वाचनमा राप्ती नगरपालिकाका ११ वडामध्ये ८ वटामा जितेको थियो। यी ८ वडामा उसका वडाध्यक्षहरूले पाएको मत परिणाम विश्लेषण गर्दा गठबन्धनका उम्मेदवारले भन्दा एमालेले पाएको मत १६ सय बढी देखिन्छ।

खैरहनी नगरपालिकाको सातवटा वडामा जितेको एमालेले पाएको मत त्यहाँ पनि गठबन्धनको भन्दा बढी नै देखिन्छ। यी वडाबाट गठबन्धनका वडाअध्यक्षहरूले ल्याएको मत १२ हजार ६६० छ भने एमाले एक्लैले १३ हजार ४४७ मत पाएको छ।

रत्ननगर नगरपालिकामा मात्र गठबन्धनले बढी मत ल्याएको देखिन्छ। यो नगरपालिकामा रहेको १६ वडामध्ये ९ वटामा नेपाली कांग्रेस, ५ वटामा एमाले र नेकपा माओवादी र स्वतन्त्रले एक/एकवटा वडामा जितेका छन्। यहाँ गठबन्धनका वडाध्यक्षको मत २१ हजार ३८२ छ भने एमालेका वडाध्यक्षहरूले पाएको मत १३ हजार १८१ छ। 

आप्रवासीहरूको सहर भएकाले चितवनको मतदातामाझ को, कहाँबाट आएका हुन् भन्ने कुराले धेरै अर्थ बोक्दो रहेछ। यहाँका मतदाताहरूका भनाइमा गोर्खाबाट चितवन झरेका स्वर्णीम उठेका भए यस क्षेत्रमा बसोबास गर्ने करिब ६० प्रतिशत गोर्खाली मतदाताको मत उनका निम्ति सुरक्षितसरह हुने थियो।

टाँडीमा फेन्सी पसल सञ्चालन गरेर बसेका साविकको गोर्खा क्षेत्र नम्बर ३ बाट चितवन बसाइँ सरेका चन्द्रकान्त भट्टका भनाइमा ११ देखि १६ नम्बर वडाभित्र गोर्खालीहरूको बाहुल्य छ।

भट्ट भन्छन्, ‘गोर्खालीहरूले स्वर्णीम आउनुहुन्छ भनेर कुरेका थिए तर आउन पाउनु भएन। त्यसको असर निर्वाचन परिणाममा पर्नसक्छ।’ 

यस क्षेत्रमा धादिङ र गोर्खाबाट आएकाहरू एकातर्फ र बागलुङ, कास्की, तनहुँ र लमजुङका मतदाता अर्कातर्फ लामबद्ध भई उम्मेदवार चयन गर्ने परम्परा छ। रत्ननगरमा स्वास्थ्य सेवा दिइरहेका बागलुङबाट झरेका एकजना डाक्टरका भनाइमा कास्कीबाट झरेका पौडेललाई अझैसम्म धादिङ र गोरखाले खुलेर समर्थन गरेका छैनन्।

उनी भन्छन्, ‘यदि स्वर्णीम आएर विश्वका निम्ति घरदैलो हिँडिदिने हो भने त्यसले परिणाममा उलटफेर ल्याइदिन पनि सक्छ।’

त्यसो त यो क्षेत्रमा पनि रवि लामिछानेका कारण चितवनको क्षेत्र नम्बर २ माझैँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल (३९ वर्ष) को सहरिया क्षेत्रमा चर्चा छ, विशेषगरी महिला र युवामाझ।

परम्परागत रूपमै हरेक निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई एकछापे मतदान गर्ने चन्द्रकान्त भट्ट परिवारमा रविकै कारण ‘फुट ‘आएको छ। भट्टका श्रीमतीले ‘अहिलेसम्म हजुरले भनेको ठाउँमा भोट हाल्यौं। यसपालि मैले भनेको ठाउँमा मत हाल्नुपर्छ’ भनिरेहकी छन्। उनले यसपालि घण्टीमा मत दिई ‘भ्रष्ट नेताहरू’ लाई सबक सिकाउने जिकिर गरिरहेकी छन्।

यस्तो मतभेद भट्ट परिवारभित्र मात्र छैन, वडा नम्बर ११ स्थित उनको टोलमा बहुसंख्यक घरपरिवारभित्रै यही ‘जिद्दी’ चलिरहेको उनी सुनाउँछन्। उनका भनाइमा टोलमा ७० प्रतिशत जति कांग्रेसी मतदाता छन्। 

हुन पनि हामीले भेटेका केही मतदाताका कुरा सुन्दा तीमध्ये धेरैले प्रतिनिधिसभामा घण्टी र प्रदेशसभा र समानुपातिकमा आफ्ना दलका उम्मेदवारहरूलाई मतदान गर्ने सल्लाह गरेको बताइरहेका थिए। तर यस्तो चर्चा बजार क्षेत्रमा मात्र केन्द्रित रहेको बताइन्छ।

रत्ननगरमा चियापसल सञ्चालन गरिरहेका पर्वतबाट चितवन झरेका ‘सापकोटा दुग्ध डेरी तथा किराना पसल’ का सञ्चालक भन्दै थिए, ‘बजारमा रविको चर्चा चले पनि भित्री बस्तीमाचाहिँ गठबन्धन र एमालेकै उम्मेदवारलाई मतदान गर्छन्।’

बलिया पाण्डे
आजको मितिसम्म चर्चाका हिसाबले ‘लो प्रोफाइल’मा रहेका गठबन्धनका पौडेलको तुलनामा मतदातासँग वर्षाैंदेखि अन्तरक्रियामा रहेका एमालेका पाण्डे नै अगाडि देखिन्छन्। धादिङबाट चितवन झरेका पाण्डेलाई गोरखाबासीजस्तो ठूलो समुदायको समर्थन नभए पनि यिनले आफ्नो क्षेत्रमा सकेको गरेका छन् भनी समाजले मूल्यांकन गरेको देखिन्छ।

अन्य नेताभन्दा ‘इमान्दार र प्रतिबद्ध नेता’का रूपमा उनको छवि बनेकाले गठबन्धनका निम्ति पाण्डे स्वाभाविक रूपमा बलिया प्रतिस्पर्धी हुन्। 

तर गठबन्धन दलका नेताहरू एमाले विभाजनको कित्ताकाटमा पहिला माधव नेपालका पक्षमा उभिएका कारण पाण्डेसँग एमाले कार्यकर्ता रुष्ट भएको फाइदा आफूहरूलाई हुने हिसाब-किताब गरिबसेका छन्।

माओवादीका एकजना जिल्ला नेता भन्छन्, ‘ओलीको विरोधी कित्ताको दस भाइमा पर्नुभएका सुरेन्द्रजीलाई कतिपय एमालेले नै मतदान गर्दैनन्।’

रत्ननगरका १४ र १५ नम्बर वडामा धादिङबासीहरूको बाहुल्य छ भने राप्ती नगरपालिकामा बागलुङे बढी छन्। त्यहाँ रैथाने चेपाङ र तामाङको पनि राम्रै बसोबास छ। खैरहनी र रत्ननगरमा एमाले नै बलियो देखिन्छ। 

यो सबै अवस्थाको विश्लेषण गर्दा क्षेत्र नम्बर १ मा यही अवस्था रहिरहेको खण्डमा एमालेका सुरेन्द्र पाण्डेले ‘ह्याट्रिक’ हान्न सक्नेछन्।

तर बागलुङे डाक्टर र अरु स्थानीयको भनाइ मनन गर्दा स्वर्णीम चितवन झरेर विश्वसँगै घरदैलोमा हिँडिदिए यदि भने चितवनका गोर्खाली मतदाताले परिणाममा उलटफेर ल्याइदिन सक्छन्।

चितवन २ : दलभन्दा बलिया रवि लामिछानेलाई कस्न एउटै रणनीति अपनाउँदै गठबन्धन र एमाले

चितवन ३ : प्रचण्डलाई हराउने ओली–कोइराला रणनीति कांग्रेसले डेढ वर्षपछि मात्रै थाहा पाएपछि

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .