ad ad

राजनीति


पूर्वमन्त्री आचार्य भन्छन् : रातारात मतपेटिका साटिन सक्छन्, ठूला नेतामाथि निगरानी गर्नू

पूर्वमन्त्री आचार्य भन्छन् : रातारात मतपेटिका साटिन सक्छन्, ठूला नेतामाथि निगरानी गर्नू

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १४:२४, काठमाडौँ

पूर्वमन्त्री निलाम्बर आचार्यले राजनीतिक दलका प्रमुख नेताहरु उम्मेदवार भएको क्षेत्रमा निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन्। 

आइतवार ललितपुरमा आयोजित निर्वाचन आयोगको अभिभाराबारेको अन्तरक्रियामा बोल्दै पूर्वमन्त्री आचार्यले प्रमुख नेताहरु उम्मेदवार भएको ठाउँमा निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताए। 

उनले प्रमुख नेताहरु उम्मेदवार भएको ठाउँमा मतदाताले कर, बल र अनुचित प्रभावबिना मतदान गरेको अनुभूति गर्न सक्नुपर्ने बताए। 

उनले प्रमुख नेताहरु उम्मेदवार भएको ठाउँलाई निर्वाचनको स्वच्छताको मापदण्डको रुपमा प्रस्तुत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराए। 

‘हाम्रा प्रमुख नेताहरु जहाँजहाँ निर्वाचनमा उम्मेदवार उठ्नुभएको छ। उहाँहरुले म स्वच्छ किसिमले, निष्पक्ष, धाँधलीरहित र स्वाधीन मतदानद्वारा, आफैँले आफैँलाई कर, बलबिना, अनुचित प्रभावबिना मतदाताले दिएको मतबाट निर्वाचित भएको भन्ने पाउन ती ठाउँमा विशेष ध्यान दिइयोस्', उनले भने, 'अरुले पनि भन्न पाउन् कि दुई चारजना कराएर हुन्छ र? यिनीहरुलाई त मतदाताले नै स्वाधीन मतदानद्वारा विश्वास गरेका हुन्। त्यसैले प्रमुख नेताहरु उम्मेदवार हुनुभएको ठाउँलाई स्वच्छताको एउटा मापदण्डका रुपमा प्रस्तुत गरियोस्। र त्यहाँ विशेष ध्यान दिइयोस् भन्ने एउटा मेरो आग्रह रहेको छ।’

पूर्वमन्त्री आचार्यले नेपालमा कुनैबेला रातारात मतपेटिका साटिएकोतर्फ ध्यानाकर्षण गराउँदै सुरक्षाका लागि सतर्कता आवश्यक रहेको बताए। 

उनले नागरिकहरुको सजगता र सतर्कताले आयोगलाई पनि सजग र सतर्क हुन मद्दत गर्ने बताए। उनले निर्वाचनको मौन अवधिमा बदमासी हुनसक्ने भन्दै निगरानी गर्नुपर्ने बताए। 

पूर्वमन्त्री आचार्यले कार्यान्वयन हुन सक्नेगरी मात्रै निर्वाचन सम्बन्धी कानुन बनाउनुपर्ने बताए। उनले आचारसंहितामा कतिपय कुरा अस्पष्ट रहेको भन्दै त्यसलाई पनि प्रष्ट पार्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .