ad ad

राजनीति


बागीलाई फकाउन सत्ता गठबन्धनले अन्तिम प्रयास गर्ने

निस्क्रिय कार्यकर्ताहरुलाई सक्रिय बनाइने
बागीलाई फकाउन सत्ता गठबन्धनले अन्तिम प्रयास गर्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १६:३९, काठमाडौँ

पाँचदलीय गठबन्धनमा आवद्ध दलहरुको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनमा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ। 

बिहीवार नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका निर्वाचन परिचालन समितिमा आवद्ध नेताहरुको संयुक्त बैठकले निर्वाचन परिचालनका समस्या समाधानको पहल गर्ने निर्णय गरेको हो। 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा कांग्रेसको निर्वाचन परिचालन सचिवालय समिति संयोजक अम्बिका बस्नेतको अध्यक्षतामा बसेको बैठकले चुनावी अभियानमा देखिएको समस्या समाधान गर्दै जाने विषयमा छलफल गरेको छ।

बैठकबारे जानकारी दिँदै नेपाली कांग्रेसका नेता तथा कांग्रेस निर्वाचन परिचालन सचिवालय समितिको सह–संयोजक दिव्यमणि राजभण्डारीले गठबन्धनका समस्या समाधान गर्दै धेरै भोट प्राप्त गर्नेगरी चुनावी अभियानमा जाने विषयमा छलफल भएको बताए। 

उनले स्थानीयदेखि केन्द्रिय स्तरसम्मका पार्टी सदस्यहरुलाई चुनावमा परिचालन गर्ने सम्बन्धमा सहमती भएको उल्लेख गरे। 

‘गठबन्धनमा देखिएका केही समस्या छ भने त्यस समस्यालाई निराकरण गर्दै जाने र चुनावमा कसरी धेरै भोट हासिल गर्नका लागि राम्रो समझदारीमा चुनावमा जानको निम्ति छलफल भयो। एकआपसमा सहकार्य गर्ने विषयमा छलफल भयो। नियमित छलफल गर्ने र समस्या निराकरण गर्ने र अगाडी बढ्ने प्रतिवद्धता भयो', उनले भने, 'हाम्रा साथीहरु टोल, वडादेखि राष्ट्रिय स्तरसम्म सबै साथीहरुलाई क्रियाशील गराउने, सबै साथीहरुलाई चुनाव परिचालनमा जुटाउने र अगाडी बढाउनुपर्ने भन्नेमा हामिले सन्देश दिएका छौँ।’

माओवादी नेता महेश्वर दाहालले कतिपय ठाउँमा अझैपनि बागि उम्मेदवारहरु रहेकाले बागि फिर्ता गराउने विषयमा छलफल भएको बताए।

त्यस्तै गठबन्धनका नेता, कार्यकर्ताहरु नै चुनावमा सक्रिय नभएको भन्दै उनले त्यस्ता समस्या समाधानका लागि गठबन्धनमा छलफल अघि बढेको बताए। 

‘गठबन्धनमा उठेका उम्मेदवारहरु जहाँ जानुभएको छ, त्यहाँ दुई, तिनवटा समस्याहरु देखिए भन्ने छ। पहिलो कुरा, अझैपनि केही बागिहरु हुनुहुन्छ। अझै दुईवटा उम्मेदवारहरु भइरहनुभएको छ कतिपय ठाउँहरुमा। कतिपय ठाउँमा आफ्नै साथीहरु सक्रिय नभएको भन्ने छ। सबैतिर के–कस्तो छ भनेर समस्याहरुको बारेमा आज छलफल भए, उनले भने, 'कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा नेतृत्वसँग पनि कुरा गर्ने र अधिकतम परिचालन गर्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्यो।’

बैठकमा कांग्रेसको तर्फबाट नेताहरु अम्बिका बस्नेत, दिव्यमणि राजभण्डारी र सुरेश आचार्यको सहभागिता थियो। माओवादीबाट महेश्वर दाहाल, गोविन्द आचार्य र विष्णु सापकोटा सहभागी थिए। 

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट लक्ष्मण केसी, लोकतान्त्रिक समाजवादी पार्टीबाट दामोदर आचार्य र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .