ad ad

राजनीति


बागीलाई भोट नहाल्न आग्रह गर्दै वर्षमानले भने : राजनीतिमा इमान चाहिन्छ

बागीलाई भोट नहाल्न आग्रह गर्दै वर्षमानले भने : राजनीतिमा इमान चाहिन्छ

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार २०:१७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राजनीतिमा बेइमानी गर्न नहुने बताएका छन् । 

गृहजिल्ला रोल्पाको माडी गाउँपालिकास्थित घर्तीगाउँमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पुनले भित्र एउटा र बाहिर एउटा कुरा गरे बेइमानी हुने बताए। 

रोल्पा प्रदेशसभा (ख) मा बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका पूर्वजिल्ला इन्चार्ज दिपेन्द्र पुनलाई मतदान नगर्न आग्रह गर्दै पुनले यस्तो बताएका हुन्। 

पुनले सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई विजयी गराउनु आफूहरुको राजनीतिक धर्म भएको बताए। 

‘राजनीतिमा भित्र एउटा र बाहिर एउटा कुरा गरियो भने त्यो  बेइमानी हुन्छ। राजनीतिमा नैतिकता र इमान चाहिन्छ’, उनले भने, ‘पार्टीको निर्णय नमान्ने मान्छे माओवादी हुन सक्दैन, हाम्रो उम्मेदवार अमरसिंह पुनजी हुनुहुन्छ, भ्रममा नपरी उहाँलाई जिताउन म सबै मतदाता र पार्टी कार्यकर्तालाई अपिल गर्न चाहन्छु।’ 

पुनले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म जानेमा शंका नगर्न आग्रह गर्दै त्यसभन्दा अगाडि पनि गठबन्धन जान सक्ने औँल्याए। 

केपी ओलीले जनमतको अपमान गरी पटकपटक संसद विघटन गरेका कारण संविधान र लोकतन्त्र बचाउन वर्तमान गठबन्धन बनेको पुनको भनाइ थियो। 

उनले चुनाव जित्न र सत्ता स्वार्थका लागि मात्र गठबन्धन नभएको उल्लेख गरे।

‘जित्नकै लागि चुनावमा सहभागी हुने हो, तर सत्ता स्वार्थका लागि मात्र गठबन्धन भएको होइन’, पुनले भने, ‘केपी ओलीको पटकपटकको प्रतिगमनका कारण यो गठबन्धन बनेको हो। सत्ता स्वार्थका लागि मात्र भएको होइन।’ 

पुनले गठबन्धनले जनमतको सम्मान गर्ने भन्दै कुनै पनि हालतमा पाँच वर्षे कार्यकालको बीचैमा प्रतिनिधिसभा विघटन नहुने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .