ad ad

राजनीति


ललितपुरसँग बालेन्द्रको प्रस्ताव : नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना गर्न सहकार्य गरौं

ललितपुरसँग बालेन्द्रको प्रस्ताव : नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना गर्न सहकार्य गरौं

नेपालखबर
पुस २, २०७९ शनिबार १४:३७, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र बागमती नदीको सफाईका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन्। 

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्रस्ताव गरेका हुन्। ‘ललितपुर महानगरपालिका एकदमै जेठो नगरपालिका भएको हुनाले हाम्रो सम्पदा, संस्कृति अथवा नेवाः सभ्यतासम्बन्धि  युनिभर्सिटीका लागि पनि पहल गरिदिन पनि म यहीबाट अनुरोध गर्न चाहन्छु,’ मेयर शाहले भने। 

यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्लाएक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उनको तर्क छ।

‘सम्पदाको क्षेत्रमा जसरी अहिले ललितपुर महानगरपालिकाले ढुंगेधारा, पुरानो हिटीहरुको संरक्षणमा अग्रसर भएको छ। त्यो कुराहरुलाई हामीले पनि अब पुल्चोक इन्जिनियरिङ कलेजसँग समझदारी गरेर हाम्रो हिटीहरुको पुनःस्थापनाको काम गर्दैछौं,’ मेयर शाहले भने, ‘त्यसका लागि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सहकार्य गरेर गर्नसक्छ। त्यसका लागि स्थान काठमाडौंमा पनि सक्छ अथवा ललितपुरमा नै हुन पनि सक्छ।’

मेयर साहले नेवाः सभ्यतासम्बन्धि विश्वविद्यालय र वागमती सफाईको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाडौं उपत्यकाको विकासको लागि नै राम्रो सन्देश हुने समेत स्पष्ट पारे। 

कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाः सम्बन्धि विश्वविद्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उल्लेख गर्दै जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकालाई मिलाउन सहज हुने धारणासमेत राखे।

‘काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका आफैंमा एउटा एकदमै नजिकको भित्र, छिमेकी दाजुभाई जसरी बस्दै आएको भएकाले हामीले सहकार्य गर्नुपर्ने धेरै कुराहरु छन । देशकै पहिलो नगरपालिका भएको हुनाले हाम्रो संस्कृति, सभ्यता, सम्पदा जोगाउनका लागि ललितपुर महानगरपालिकाले एकदमै अग्रसर भएर आफ्नो भुमिकाहरु देखाएको छ’ मेयर शाहले भने, ‘त्यो एकदमै सराहनीय छ। र, आगामी दिनहरुमा हामीले पनि सिक्नुपर्ने धेरै कुराहरु छन ललितपुर महानगरपालिकाबाट।’

‘ललितपुरमा अलिकति जग्गाको अभाव नभएको हुनाले त्यसका लागि पहल गरिदिनु भयो भने हाम्रो सभ्यताको अभिलेखीकरण पनि हुन्छ। यसलाई हामी अन्तर्राष्ट्रियकरण गर्नसक्छौं। हाम्रा कलाकौशलहरु त्यसमा अन्तर्राष्ट्रियकरण गर्नसक्छौं,’ उनले भने, ‘हाम्रा बाजाहरुलाई डिग्रीको कोर्समा समावेश गर्नसक्छौं। नेवाः सभ्यता भित्र धेरै पक्षहरु छन। सम्पूर्णलाई मान्छेले पढुन्। हाम्रा पुस्तान्तरण गर्न पाउँ। अब आउने नयाँ पुस्ताले त्यो कुरालाई सिक्न पाउन पाउने अवसर दिन सकियोस् भन्ने चाहना पनि छ।’

दुईपटा महानगरपालिका, वागमती सभ्यता एकीकृत परियोजना, सहरी विकास मन्त्रालयले सहकार्य गरेर वागमतीको स्थायी सफाई अभियान संचालन गर्नपर्ने उनले बताए।

प्राचिन ढुंगेधाराहरुको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरुले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढन लागेको जानकारी समेत दिए। ललितपुर महानगरपालिकासँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको पनि पटकपटक दोहो¥याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .