राजनीति


बागमतीको सभामुखमा तीन जना प्रतिस्पर्धी, कसको पल्लाभारी?

बागमतीको सभामुखमा तीन जना प्रतिस्पर्धी, कसको पल्लाभारी?

फाइल तस्बिर


सुनिता विष्ट
पुस २८, २०७९ बिहिबार १७:१५, हेटौंडा

बागमती प्रदेश सभामा सभामुखमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ। 

सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले पनि सभामुखका लागि उम्मेदवारी दर्ता गरेका हुन्। 

सत्ता गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद

सिर्जना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्। यससँगै बागमती प्रदेश सभा सभामुखका लागि ३ जना निर्वाचनमा होमिएका छन्। 

सायजुको प्रस्तावकमा नेमकिपाका सुरेन्द्र गोसाईं र समर्थकमा गीता काफ्ले, अधिकारीको प्रस्तावकमा कांग्रेसकै कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार छन्। 

गठबन्धनका पाठकको प्रस्तावकमा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल  रहेका छन्। 

राप्रपाको भागमा यस प्रदेशमा सभामुख परेपछि बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्तारूढ दलहरूबीच मुख्य पद भागबन्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो। 

सात दलीय गठबन्धनको सत्ता भागबण्डामा बाग्मती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने निश्चित जस्तै छ। 

सत्तारूढ गठबन्धनले बाग्मती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो। एमालेले दलको बैठक बसेर उपसभामुख पदका उम्मेदवार चयन गर्ने जनाएको छ। 

आ–आफ्नै दाबी
११० सदस्यीय बागमती प्रदेश सभामा ७ राजनीतिक दलको नेतृत्व रहेको छ। ७ दलमध्ये गठबन्धनबाट एक जना उम्मेदवार बनाउँदा अन्य दुई दलले आ–आफ्नै दाबी गर्दै उम्मेदवार उठाएको छ। 

५ दल अर्थात एमाले, माओवादी, राप्रपा सहित एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी पनि सरकारलाई समर्थन गर्दै गठबन्धनमा मिसिएको छ। 

कांग्रेस प्रमुख प्रतिपक्षमा छ भने नेमकिपा पनि प्रतिपक्षमा छ। तर प्रतिपक्षमा रहेका दुई दलले पनि आ–आफ्नो उम्मेदवार खडा गरेको छ। 

आफू जस्तो छ उस्तैमा बसेर पार्टीको मर्यादा अनुसार काम गर्ने बताउँदै आएको नेमकिपाले सभाको हरेक गतिविधिमा सहभागी हुन पाउने आफ्नो अधिकारलाई सुनिश्चित गरेको छ। 

सरकार पक्षलाई समर्थन गरेर नजाने बताउँदै नेपकिपा बागमती संसदीय दलका नेता सुरेन्द्रराज गोसाईँले आफ्नो अधिकारको प्रयोग गरेको बताए। नेमकिपाको बागमती प्रदेश सभामा ३ सिट छ। 

यता, प्रदेश सभाको ठुलो दल समेत रहेको नेपाली कांग्रेसको ३७ सिट छ। तर सरकारमा जान बहुमत नपुग्ने भएपछि अहिले कांग्रेस ठुलो दल भएपनि प्रमुख प्रतिपक्षको भूमिकामा रहेको छ।

कांग्रेस एक्लै रहेता पनि गठबन्धनको साथ खोज्दै सभामुखमा उम्मेदवारी दर्ता गराएको हो। 

सरकारलाई समर्थन गर्न कांग्रेसको सभामुख पाउन पर्ने सर्त राखेको छ। त्यहीकारण अधिकारीलाई सभामुखको उम्मेदवार बनाइएको कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बताए। 

को बन्लान् सभामुख? 
बागमतीको सभामुखमामा राप्रपाका भुवन पाठकको सम्भावना बढि छ। कारण उनलाई प्रत्यक्ष ३ दलको समर्थन छ। 

एमाले, माओवादी र राप्रपाको समर्थनमा रहेका पाठकलाई एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले पनि समर्थन गर्न सक्छ। 

किनकी दुई दलले सरकारलाई समर्थन गरेको छ। जसअनुसार ११० सांसदमध्ये पाठकलाई ७० सांसदको मत आउने निश्चित छ। 

यता, कांग्रेसको ३७ सांसद छन्। कांग्रेसबाट उम्मेदवार बनेका शिवराज अधिकारीले सभामुखको पदमा निर्वाचित हुन ५६ सांसदको समर्थन आवश्यक हुन्छ। 

तर कांग्रेस मात्रैको समर्थनले अधिकारी निर्वाचित हुने अवस्था छैन। सरकारलाई आफूले समर्थन गर्ने तर कांग्रेसको भागमा सभामुख रोज्दै बार्गेनिङ बढाएर भएपनि सभामुख आफ्नो पोल्टामा पार्ने रणनीतिमा कांग्रेस छ। 

तर गठबन्धनलाई समर्थन गरे पनि नगरेपनि स्पष्ट बहुमत पुग्ने भएपछि गठबन्धनमा रहेका दलहरुले भने कांग्रेसको यो प्रस्तावलाई प्राथमिकतामा राखेको छैन। 

त्यसोत ३ सिट मात्रै रहेको नेमकिमा प्रतिपक्षमा छ। जसका लागि ५६ सांसदको समर्थन पुर्याउनु मुस्किल मात्रै होइन, असम्भव पनि छ। 

संविधानको हक पालना गर्दै सहभागिता जनाएको बताउने नेमकिपा बाट सभामुख पाउनु कठिनको बिषय हो। 

सत्ता समीकरणलाई मध्यनजर गर्ने हो भने पनि गठबन्धनका साझा उम्मेदवार पाठक नै प्रदेश सभा सभामुख बन्ने लगभग निश्चित छ। 

यद्यपि, चुनावी मैदानमा होमिएका तीन उम्मेदवार मध्ये कसको पल्लाभारी होला त्यो भने मतपरिणाम पछि मात्रै थाहा हुने छ। 
शुक्रबार निर्वाचन

बिहिबार मनोनयन दथर्ता गरेको सभामुखको चुनाव शुक्रवार बिहान ११ बजेका लागि समय तोकिएको छ। जसअनुसार ११ बजे बस्ने प्रदेश सभाको बैठकमा निर्वाचन हुनेछ। 

बाग्मती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई जना गरी एक सय १० जना प्रदेश सभा सदस्य रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .