नेपालको उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। दुई प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्य र ममता झालाई पराजित गर्दै उनी शुक्रबार मुलुकको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
निर्वाचन आयोगका अनुसार जनता समाजवादी पार्टी (जसपा) का नेता यादवले ३० हजार ३२८ मतभार पाउँदा दोस्रो भएकी शाक्य १६ हजार ३२८ र तेस्रोमा झाले २५ सय ३७ मात्रै मतभार ल्याएकी छन्।
उपराष्ट्रपति निर्वाचनका लागि जसपाले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो।
जसपा संसदीय दलका नेतासमेत रहेका यादव गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
उनी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहालाई ३५४ मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्य बनेका थिए।
१३ हजार आठ सय २२ मतका साथ यादव विजयी हुँदा कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गरेका थिए। खरायो चिह्न पाएका स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो भएका थिए।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि बारा–२ बाट विजयी यादव २०७८ सालमा केपी ओली नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री थिए।
उनी २०७६ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठन भएको जसपाको कार्यकारणी समिति सदस्य भएका थिए।
त्यसअघि २०७५ मा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भई गठित समाजवादी पार्टीमा महासचिवको जिम्मेवारी सम्हाली सकेका थिए।
२०४७ मा नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका नवनिर्वाचित उपराष्ट्रपति यादव २०५९ सालमा तत्कालीन मधेसी जनअधिकार फोरममा आवद्ध भएका थिए।
२०६० फागुन ७ गते फोरमको बारा अध्यक्ष बनेका यादव सोही वर्ष भारतको पटनामा सम्पन्न बैठकबाट केन्द्रीय सदस्यमा मनोनित भएका थिए। पहिलो संविधान सभामा समानुपातिकतर्फ सदस्य बनेका यादव २०६५ मा फोरमको महासचिव भएका थिए।
उनी २०५७ सालमा नागरिकता सम्बन्धी विधेयकका विषयमा भएको आन्दोलनका क्रममा काठमाडौंमा गिरफ्तार भएका थिए। २०६२/०६३ को जनआन्दोलनका क्रममा सक्रिय रहेका यादवलाई काठमाडौंबाट तत्कालीन राज्य पक्षले पक्राउ गरेको थियो।
यादवले बारा, पर्सा, रौतहट र कैलालीमा २०६२/०६३ मा भएको मधेश जनविद्रोहको नेतृत्व गरेका थिए। उक्त समयमा उनी ६ पटक पक्राउ परेका थिए।
सद्भावना पार्टीबाट राजनीति सुरु गरेपछि २०४८ सालमा शिक्षण पेशामा लागेका उनले २०६४ फागुन १६ गते शिक्षक पदबाट राजीनामा दिएका थिए।
२०२७ साउन ९ गते सिहवादेवी यादव र प्रसाद राय यादवको सन्तानका रुपमा जन्मिएका यादवले वीरगञ्जको ठाकुर राम बहुमुखी क्याम्पसबाट गणितमा बीएड (२०५५) र भारतको मज्फ्फरपुरमा रहेको डा. बाबासोह भिमराव अम्वेडकर विश्वविद्यालयबाट गणित र विज्ञान विषयमा बीएससी (सन् १९९३) गरेका छन्।
बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरिया स्थायी ठेगाना भएका नव निर्वाचित उपराष्ट्रपति यादवका २ छोरा र १ छोरी छन्।
उनको गाउँमा एउटा साधारण घर छ। राजनीतिक सिलसिलामा उनी आफैं अधिकांश समय काठमाडौँमै हुने गरेका थिए। गाउँको घरमा उनकी धर्मपत्नी चम्पादेवी बस्दै आएकी छन्।
ओली नेतृत्वको तत्कालीन सरकारमा वनमन्त्री भएपछि पहिलोपल्ट गाउँ पुग्दा सामान्य भेषभूषामा रहने लजालु स्वाभावकी चम्पादेवीले स्वागत गर्दाको दृष्यले उपस्थितलाई भावविभोर बनाएका थियो।
पत्नीको भावुकता देखेर मन्त्री यादवले पनि आफूलाई रोक्न सकेका थिएनन्। उनले स्वागतका लागि पत्नीले ओढाएको दोसल्ला फुकालेर उनैलाई ओढाई दिएका थिए।
प्रतिक्रिया