राजनीति


‘ग्राउन्ड’ बुझेका जितनारायणले जोगाउलान् कांग्रेसको साख

चितवन २ मा उत्रिए विश्वप्रकाश शर्मा
‘ग्राउन्ड’ बुझेका जितनारायणले जोगाउलान् कांग्रेसको साख

उम्मेदवारी मनोनयनका क्रममा जीतनारायण श्रेष्ठ। तस्बिर : नेपालखबर


सागर न्यौपाने
चैत २०, २०७९ सोमबार २१:२५, काठमाडौँ

गत मंसिर ४ को चुनावमा चितवन क्षेत्र नम्बर २ बाट उमेश श्रेष्ठसँगै जितनारायण श्रेष्ठको नाम पनि प्रतिनिधिसभाको उम्मेदवारमा नेपाली कांग्रेसले सिफारिस गरेको थियो।

क्षेत्रीय समितिले पहिलो नम्बरमै नाम सिफारिस गरे पनि निवर्तमान जिल्ला सभापति उनले टिकट पाएनन्। बरु सभापति शेरबहादुर देउवालाई रिझाएर उमेश श्रेष्ठले टिकट लिए।

मंसिरमा पहिलो नम्बरमा सिफारिस भएर पनि टिकट नपाएका उनै जितनारायण वैशाख १० को उपनिर्वाचनका लागि त्यही क्षेत्रमा कांग्रेसका उम्मेदवार बनेका छन्। श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएपछि चितवन २ को चुनाव झन् रोचक हुने देखिएको छ। 

चितवन २ को उपचुनाव कति प्रतिस्पर्धात्मक हुँदैछ भन्ने कुरा नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई नै चुनावी कमाण्डर बनाएबाटै प्रष्ट हुन्छ। 

उनै शर्माको काँधमा श्रेष्ठलाई उपनिर्वाचन जिताउनुपर्ने जिम्मेवारी छ। श्रेष्ठ स्थानीय मात्रै नभई साे क्षेत्रका चर्चित नेता पनि हुन्।

तर, श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग प्रतिस्पर्धामा उत्रिएका छन्। साे क्षेत्रमा अहिलेसम्म रवि निकै बलिया उम्मेदवार देखिन्छन्।

सोमबार उम्मेदवारी दर्ता गर्दा रविको पक्षमा देखिएको माहोलले पनि उनको समर्थन अझै तलमाथि नभएको बुझ्न सकिन्छ।

यद्यपि भीडमा देखिएका सबैले मत दिदैँनन् भन्ने प्रष्ट छ। यो कुरा बुझेका शर्मा आइतबारदेखि चितवनमा खटिइसकेका छन्। 

निकटस्ठ नेताहरुका अनुसार जिल्ला सभापति भइसकेका श्रेष्ठ पार्टी संगठन परिचालनको शैली थाहा भएको नेताको रुपमा चिनिनन्छन्। 

सधैँ चर्चामा आउने श्रेष्ठमा तल्लो तहका कार्यकर्तासँग सम्बन्ध र सम्पर्कमा बस्ने शैली छ।

उनीसँग उपनिर्वाचनमा भिड्न लागेका श्रेष्ठ स्थानीय परिस्थिति विश्लेषण गर्दैछन्। नेता–कार्यकर्ताको मनस्थिति बुझ्दैछन्। 

नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराएपछि कांग्रेसका उम्मेदवार श्रेष्ठले केही नेताहरुसँग ब्रिफिङ लिए।

किन पनि भने, ४ मंसिरको चुनावमा उमेश श्रेष्ठको उम्मेदवारीप्रति असन्तुष्ट धेरै कांग्रेसका नेता÷कार्यकर्ता र समर्थक लामिछानेलाई जिताउन खटिएका थिए।

त्यही दृश्य देखेका श्रेष्ठ उनीहरुलाई फर्काउने योजना बनाइरहेका छन्।

‘विगतमा पार्टीका कतिपय निर्णयले छिन्नभिन्न साथीहरु उम्मेदवारी दर्तापछि सम्पर्कमा आउनुभएको छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘भोलिबाट अरु साथीहरुलाई जोड्छौँ। पार्टीको आन्तरिक संरचना सक्रिय बनाउँछौँ। २४ गतेबाट आक्रामक प्रचार थाल्छौँ।’

श्रेष्ठले उम्मेदवारी दर्ता गराउँदा गएका महामन्त्री शर्मा चुनावी कमान्डर बनेर खटिनेछन्। 

‘कांग्रेस एकढिक्का भएर लाग्नेछ। यसपटक हामीलाई हार्ने छुट छैन। क्षेत्र, जिल्ला र केन्द्र एकैपटक प्रचारमा होमिएको छ, केन्द्रबाट महामन्त्री कमान्डर बनेर आउनुभएको छ,’ श्रेष्ठले थपे।

यसपटक कांग्रेसले केही नेताको कारबाही फुकुवा गरेको छ, अझै केहीमाथिको कारबाही हटाउने उनले सूचना पाएका छन्।

चितवन २ को उपनिर्वाचनमा यसपटक गठबन्धनका साझा उम्मेदवार श्रेष्ठ हुन्। माओवादी, एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चाले उक्त क्षेत्रमा श्रेष्ठलाई खुलेर सघाउने विश्वासमा उनी छन्। 

‘हिजोभन्दा आज अवस्था फरक छ, विगतमा भोट दायाँबायाँ गर्ने साथीहरु हामीतिर खुलेर लाग्नुभएको छ, मैले अहिलेसम्म हजारजतिलाई सम्पर्कमा जोडिसकेको छ,’ श्रेष्ठ दाबी गर्छन्।

नागरिकता प्रकरणले त्यस क्षेत्रबाट निर्वाचित रवि लामिछानेको पद गुमेका कारण वैशाख १० मा उपचुनाव हुन लागेको हो।

चुनावमा रविसहित श्रेष्ठ, नेकपा एमालेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी परेको छ। मुख्य प्रतिस्पर्धा यिनै तीन उम्मेदवारबीच हुने विश्लेषण छ।

‘म चितवनको चिरपरिचित व्यक्ति हुँ, मेरो यहाँबाहेक अन्य क्षेत्रमा कुनै भूमिका रहँदैन। २७ वर्ष यहीँ राजनीति गरेँ,’ मत पाउनुपर्ने तर्क दिँदै श्रेष्ठले भने, ‘विगतमा बिग्रेको मत फर्कार चुनाव जित्छु।’

एमालेबाट जिल्लामै क्रियाशील युवा नेता उम्मेदवार भएकाले उनले एमालेकै जोगाउँदा आफ्नो पक्षमा गठबन्धनको सबै मत खस्ने उनको विश्लेषण छ। उनी यही हिसाबकिताबमा चैत २४ गतेसम्म लाग्नेछन्। 

२७ वर्ष चितवनको माटो चिनेको छु
कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघबाट २०४८ देखि राजनीति थालेका श्रेष्ठ २०५२ सालमा वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको इकाइ सदस्य भए।

२०५६ मा जिल्ला सचिव चुनिएका उनी २०६१देखि २०६६ सम्म जिल्ला अध्यक्ष निर्वाचित भए। 

२०६७ मा कांग्रेसको जिल्ला कार्यसमिति सदस्य बनेका श्रेष्ठले २०६९ मा सचिव निर्वाचित भए। 

२०७२ मा जिल्ला सभापति बनेका थिए। २०३६ सालमा जन्मेका उनी सभापति हुँदा ३६ वर्षमा थिए।

कांग्रेसको चौधौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भए पनि उनी चितवनमै क्रियाशील छन्।  

चैत १६ गते केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पान समितिको बैठकले चितवन २ को उपनिर्वाचनमा श्रेष्ठलाई उठाउने निर्णय गरेको हो। 

‘मलाई चितवनको ढुंगा, माटोले पनि चिन्छ, चितवनको राजनीतिमा मैले २७ वर्षे जवानी बिताएको छु,’ उनले भने, ‘मलाई भेट्न गाह्रो छैन। सबैले सजिलै भेट्न, आफ्ना कुरा राख्न सक्नुहुन्छ।’

‘पहिलो पटक प्रतिनिधि सभाको चुनाव लड्न लागेको भएर मतदाताको शुभेच्छा पाउने विश्वास लिएको छ,’ उनी भन्छन्। 

पाँच महिनाअघिको अवस्था 
४ मंसिरको चुनावा त्यस क्षेत्रबाट रास्वपाका सभापति लामिछानेले ४९ हजार ३०० मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मात्रै मत पाए।

नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाए।

यसपटकको उपचुनावमा रविबाहेक दुईजना उम्मेदवार नयाँ र पहिलो पटक प्रतिनिधि सभामा उठेका हुन्। 

दुवै उम्मेदवार स्थानीय भए पनि लामिछाने होइनन्। उनीहरुले यही मुद्दा उठाउन खोजिरहेका छन्। 

दिनेश कांग्रेसमै खुले
रोचक त, २०७२ माघमा दिनेश कोइराला र जीतनारायण श्रेष्ठ चितवन जिल्ला सभापतिमा लडेका थिए। त्यसबेला श्रेष्ठले कोइरालालाई १६४ मतले हराए।

उनै कोइराला मंसिरको चुनावमा उमेश श्रेष्ठविरुद्ध उठेका थिए। उनलाई एमालेले समर्थन गरेको थियो । 

तर, वैशाख १० गते हुने उपनिर्वाचनमा कोइरालाले श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेका छन्। 

बोलेपछि गर्छन् श्रेष्ठ
२२ वैशाख २०७९ मा भरतपुर महानगरपालिकाको चुनावी सभा राखिएको थियो।

स्थानीय तहको वैशाख ३० गते हुने चुनाव अन्तर्गत भरतपुर महानगरपालिकामा प्रचण्डकी छोरीसमेत रहेकी माओवादी केन्द्रीय सदस्य रेणु दाहाल उम्मेदवार थिइन्।

पहिला पनि मेयर जितेकोले कांग्रेसले आफ्नै उम्मेदवार बनाउनुपर्ने लबिङ गर्‍यो। तर, सफल भएन।

कांग्रेसले रेणुलाई नै समर्थन गर्यो‍। त्यसले जिल्लाका कांग्रेसका नेताहरु बिच्किए। 

असन्तुष्ट कांग्रेसको मत यताउता नहोस् भनेर प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेता चितवन पुगेका थिए।

त्यही कार्यक्रममा बोल्दै जीतनारायणले पार्टीले निर्णय गरेपछि तलमाथि नहुने मात्र भनेनन्। चुनाव जिताएर पठाउने घोषणा नै गरे।

‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा तपाईँले ढाँट्ने काम नगर्दिनुहोला,’ उनले भने, ‘गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .