राजनीति


चितवन २ ले यस पटक पाहुनालाई बिदा गरेर पठाउँछ : रामप्रसाद न्यौपाने (अन्तर्वार्ता)

चितवन २ ले यस पटक पाहुनालाई बिदा गरेर पठाउँछ : रामप्रसाद न्यौपाने (अन्तर्वार्ता)

फाइल तस्बिर


सुनिता विष्ट
बैशाख ४, २०८० सोमबार २०:५, चितवन

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका कारण चितवन क्षेत्र नम्बर २ को राजनीतिक माहोल तातेको छ। उपनिर्वाचनका लागि विभिन्न दलकासहित २२ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमध्ये सबैभन्दा बढी चर्चा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका साझा उम्मेदवारको छ।  

मंसिर ४ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएर सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो। नागरिकता पुनप्र्राप्ति गरेर लामिछाने यहाँ दोहोरिने योजनामा छन्। यस्तै नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले चुनावी गतिविधि तीव्र पारेका छन्। 

मंसिर ४ मा ३५ हजारभन्दा बढी मतान्तरले विजयी लामिछाने फेरि चुनावी मैदानमा उत्रिएर अन्य उम्मेदवारलाई फेरि चुनौती दिएका छन्। रवि र गठबन्धनको चुनौती चिर्न एमालेले स्थानीयस्तरमा लोकप्रिय न्यौपानेलाई मैदानमा उतारेको छ। यतिबेला न्यौपाने चुनावी प्रचार लिएर घर घर र चोक चोकमा पुगिरहेका छन्। चुनावी दौडधूपबीच न्यौपानेले कसरी मतदाता रिझाइरहेका छन् त? रवि र गठबन्धनको चुनौती एमालेले कसरी चिर्न सक्ला? यिनै विषयमा चितवन एमाले उम्मेदवार रामप्रसाद न्यौपानेसँग नेपालखबरले गरेको कुराकानी : 

निर्वाचन नजिकिएसँगै घरदैलो अभियान कसरी चलाइरहनु भएको छ?
मतदानको मिति आइसकेको छ। छोटो समयमै तयारी गर्नुपर्ने अवस्था आइलाग्यो। सबै जनताले एकपटक भेट्ने चाहना राख्नु भएको छ। तर सबैलाई भेट्न गाह्रो भइरहेको छ। सकेसम्म सबै मतदाताको घर दैलोमा नमस्कार गर्दै पुग्ने प्रयास गरिरहेको छु। टोलटोलमा पुगिरहेको छु। पुग्न नसकेको अवस्थामा मिडियामार्फत निर्वाचनअघि आउन भ्याइनँ भने पनि निर्वाचनपछि सबैको घरदैलोमा अवश्य आउने छु भनेर। यसमा मतदाताले सकारत्मक प्रतिक्रिया दिनु भएको छ। 

तपाईंका चुनावी एजेन्डा के के छन्? 

चुनावी एजेण्डा मुलतः नागरिकहरु सरकारबाट निराश हुनुहुन्छ। सरकारी सुविधाबाट ढिलासुस्तीका कारण आक्रोश बढेको छ। म जनमुखी सेवामा लागेर ढिलासुस्ती सवाधान गर्नेमा प्रतिवद्ध रहनेछु। यसलाई अन्त्य गर्ने मेरो प्रमुख एजेन्डा हो। अर्को पाटो चितवन विभिन्न भौगोलिक हिसाबले इच्छाकामना पहाडी क्षेत्र छ। पालिकाको माथिल्लो क्षेत्र दुर्गम पनि छ। तल्लो क्षेत्र समथर छ। भरतपुर महानगरपालिका २९ नम्बर वडाबाहेक समथर छ। यहाँका विभिन्न विशेषता पनि छन्। यहाँका जातजाति, भाषा, धर्म रहनसहनको व्यवस्थापन भएको पाइँदैन। यसलाई व्यवस्थापन गर्नेछु। यसैगरी भरतपुरलाई शिक्षा र स्वास्थ्यको हवका रुपमा विकास गरेर आर्थिक रुपमा समुन्नत बनाउन सकिन्छ। यसलाई पनि प्रमुख प्राथमिकता दिएको छु। यसैगरी इच्छामनकामनामा पर्यटकीय पूर्वाधार विकास गरी पर्यटकीय हव बनाउने मेरो चुनावी एजेन्डा छ।

मतदातामाझ रामप्रसाद न्यौपाने

मंसिरको निर्वाचनमा विजयी रवि लामिछाने पनि प्रतिस्पर्धामा छन्। उनको उम्मेदवारीलाई चुनौतीको ठान्नुभएको छैन?
मूल कुरा जनतासँगको सम्बन्ध हो। जनताको मत हो। मलाई के लाग्छ भने जनताले त्यसबेला एक प्रकारको आक्रोश पोखेर नयाँ दलका उम्मेदवारलाई भोट हाले। तर यो पटक त्यस्तो हुँदैन। किनभने सम्बन्धित दलहरुले जे कुरा लिएर मतदातासमक्ष जानुभएको थियो, त्यो कुरा पूरा गर्न सक्नुभएन। अर्को कुरा चितवनमै जन्मिएर, यहीँको माटोमा हुर्किएर, यहाँको भुगोल बुझेको युवा उम्मेदवारलाई मतदाताले रुचाउनुहुन्छ भन्नेमा ढुक्क छु। बाहिरी मान्छेलाई उहाँहरुले जिताउन लाग्नुहुन्न भन्ने लाग्छ। 

तपाईंका लागि चुनौती त गठबन्धनका जीतनारायण श्रेष्ठ पनि हुन् नि? स्थानीयसमेत रहेका उहाँलाई प्रतिस्पर्धी मान्नु हुन्न? 
त्यस्तो होइन, मेरा प्रतिस्पर्धी सबै उम्मेदवार हुन्। कोही कडा प्रतिस्पर्धी होलान् कोहीले कम चुनौती देलान्। तर, मैले गठबन्धनको मात्रै नभई सबै उम्मेदवारलाई प्रतिस्पर्धी ठानेको छु। म मूलतः जनतालाई नै आव्हान गर्दछु। यो मूल पार्टीपंक्ति एउटा भयो, अर्को पाटो जनतासँग रहने प्रमुख कुरा हो। 

त्यसकारण उहाँहरुले स्थानीय उम्मेदवार उठाउन सक्ने, भोलि पनि जनताको सुखदुख र अप्ठ्यारोमा काम लाग्ने नेता छान्नुपर्छ भन्ने लाग्छ। म त अहिले पनि जनताको सुखदुखमै छु। उहाँहरुसँगै हातेमालो गरिरहेको छु। उहाँहरु मर्दा मलामीदेखि बिरामी हुँदा अस्पतालसम्म र बिहेमा जन्तदेखि सार्वजनिक कार्यक्रममा पुगिरहेको छु। त्यसैले प्रतिस्पर्धी जो भए पनि जित्ने गरी मैले तयारी तीव्रता दिइरहेको छु। 

अहिले घरदैलोमा पुगिरहँदा जनताले कसरी हेरेको पाउनु भएको छ? 
घरदैलोमा पुग्दा मतदाताले नियमित आइदिए हुन्थ्यो भन्ने इच्छा देखाइरहनु भएको छ। एमालेबाट मेरो उम्मेदवारीले उहाँहरु खुसी हुनुभएको पाएको छु। निर्वाचनका बेला हात जोड्दै आउनुहुन्छ, जितेपछि मुख देख्न पाइँदैन भन्ने गुनासो पनि सुनाउनु भयो। तपाईं पनि त्यसो नगर्नु भन्ने प्रतिक्रिया पनि दिइरहनु भएको छ। मैले उहाँहरुलाई आफ्नो कार्ययोजना पनि सुनाएको छु। त्यसो हुँदा युवा उम्मेदवार उठेको भन्दै मतदाताहरु खुसी पाएको छु। मतदाताले देखाउनु भएको माया नै मेरो विजयको हौसला हो भन्ने ठानेको छु। 

२२ उम्मेदवारमध्ये तपाईंलाई नै जनताले मत दिनु पर्ने आधारहरु के छन्?
राम न्यौपाने यहाँको माटोमा हुर्किएको व्यक्ति। यहाँका अनेक अप्ठेरोबाट गुज्रिएर यहाँसम्म आइपुगेको एउटा पात्र हो। एउटा युवा हो। यसकारण मलाई यहाँका समस्या, एजेन्डा र यहाँको जनसम्बन्धबारे राम्रोसँग जानकार छु। यहाँका भौगोलिक आधारमा विकास गर्नुपर्ने पाटोमा निपुण छु। नागरिकको समस्यालाई संसदमा लैजाने र संसदमार्फत राज्यलाई उत्तरदायी बनाउन पहल हुनेछ। यहाँका व्यवसायीदेखि किसान थुप्रै समस्याको चाङमा हुनुहुन्छ। म उहाँको मलहम बन्न सक्नेछु। यिनै आधारमा टेकेर मतदाताहरुले मत दिनुहुन्छ भन्नेमा ढुक्क छु। 

सबै उम्मेदवारलाई जित्ने आत्माविश्वास हुन्छ, तर जित्ने एकजनाले हो। मतपरिणाबारे तपाईंको प्रक्षेपण कस्तो छ? 
त्यो अहिले नै मैले क्याल्कुलेशन गर्न सकेको छैन। तर, हामीले मतदाताको उल्लास हेर्ने हो भने ४० हजारभन्दा बढी मतान्तरले विजयी हुनेमा ढुक्क छु।

तर चितवनका जनता रविको पक्षमा पनि देखिन्छन् नि? 
जनता रास्वपाको पक्षमा छन्, छैनन् भन्ने अहिले नै मुख्य मान्न सकिँदैन। एउटा भ्रमचाहिँ जति चिर्नु पर्ने हो, त्यति चिर्न नसकिएको हो कि भन्ने लागेको छ। पछिल्लो समय मतदाता सचेत भइसकेका छन्। हिजोको जस्तो बाहिरबाट आएर यहाँका जनतालाई भ्रमित बनाउँदै भोट फकाउने अपेक्षासाथ उहाँ (रवि) आउनुभयो। यो पटक पहिले जस्तो उपस्थिति छैन। चितवनबासीले चितवनकै नागरिकलाई  जनप्रतिनिधि बनाउनपर्छ भन्ने बुझिसकेका छन्। आमरुपमा रास्वापाले गरेका गतिविधिको प्रचार धेरै भएकाले नागरिकमा भ्रम परेको मात्रै हो। तर यहाँका स्थानीय अहिले उहाँको पक्षमा उभिनुभएको मैले पाएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .