राजनीति


चितवन–२ : इच्छाकामनाको मतले हौसिएका रवि भरतपुर गन्दा झनै ‘ढुक्क’

चितवन–२ : इच्छाकामनाको मतले हौसिएका रवि भरतपुर गन्दा झनै ‘ढुक्क’

सुनिता विष्ट
बैशाख १२, २०८० मंगलबार ३:३२, हेटाैंडा

वैशाख १० गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। राजनीतिक दलहरूको लामो समयको विवाद पछि सोमबार दिउँसो २ बजेबाट मतगणना सुरु भएको थियो। मंगलबार बिहानसम्म आइपुग्दा लगभग ४० हजारको हाराहारीमा मतगणना भइरहेको छ।

गत मंसिर ४ को निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रहेका रवि लामिछाने विजयी भएका थिए। नागरिकता प्रकरणमा उनी विरुद्ध मुद्दा परेपछि सांसद पद खारेज भएको थियो। उनको संसद पद खारेज भएकै कारण आइतबार चितवन २ मा उपनिर्वाचन गर्नुपरेको हो। 

रास्वपाका उम्मेदवार लामिछानेको गल्तीकै कारण राज्य कोषको करोडौं रकम उपनिर्वाचनमा खर्च भएको भन्दै अन्य उम्मेदवारहरुले आफ्नो पार्टीलाई मत माग्न कुनै कसर बाँकी राखेका थिएनन्। 

२२ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा १२ वटा राजनीतिक दलका उम्मेवार छन् भने १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यसमध्ये मतगणनाको सुरुवाती अवस्था देखि नै रास्वपाको अग्रता कायमै रहेको छ। उनलाई सोमबार दिनभर जसो एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले पछ्याइरहेका थिए भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ तेस्रो स्थानमा सिमित रहन परेको थियो।

तर भरतपुर उपमहानगरपालिकाको १,२, ३ र ५ नम्बर वडाको मतगणना हुँदा रास्वपाले छलाङ मारेको छ भने कांग्रेस दोस्रो स्थानमा रहँदै रास्वपालाई पछ्याइरहेको छ। 

त्यसोत, गत मंसिर ४ को निर्वाचनमा यस क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकामा अन्य दललाई धेरै मत आउँदा रास्वपाको पक्षमा लगभग २ हजार मत कटाउन पनि सकस भएको थियो। जसका कारण रास्वपाले यसपटक इच्छाकामना गाउँपालिकामा अलि बढि सक्रियाता देखाएको थियो। 

गाउँ÷गाउँमा औषधि बोकेर पुगेको रास्वपाको हातमा इच्छाकामनाको ७ वटा वडाबाट सन्तोषजनक मत पाएको भन्दै रास्वपाका उम्मेदवार लामिछानेले मतगणना स्थलमै खुसी दर्साए। 

मंसिर ४ को निर्वाचनमा इच्छाकामनामा हामी कमजोर थियौं। यो पटकको उपनिर्वाचनमा एकदमै राम्रो मत आयो। उनले भने, ‘एकदमै उत्साहित छौं। खुसी लागेको छ। मंसिर ४ को निर्वाचनमा म विल्कुलै नयाँ थिएँ। चुनाव चिन्ह नयाँ थियो। अहिले हामीले सक्रियता देखायौं। त्यसको परिणाम पनि होला राम्रो मत आयो।’ 

गत निर्वाचनमा कमजोर देखिएको क्षेत्रमा पनि आफ्नै पक्षमा मत आउनुलाई जीत भए जत्तिकै ठानेका रविलाई भरतपुरको ४ वटा वडाको मतगणाले झन् ढुक्क बनाइदिएको छ। बजार क्षेत्र लाग्ने बित्तिकै दोब्बर भन्दा बढी मतान्तरका साथ अग्रतामा रहेका उनलाई अन्य प्रतिस्पर्धिसँगको क्रास कम हुँदै गएको अनुमान लगाउन सकिन्छ। 

यता, सुरुवाती मतगणनामा रविलाई पछ्याइरहेका एमालेका रामप्रसाद न्यौपाने भने तेस्रो स्थानमा पुगेका छन्। पछिल्लो मत परिणाम अनुसार रास्वापाको अग्रता रहँदै गर्दा कांग्रेसका जितनारायण श्रेष्ठ एमालेका न्यौपानेलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएका छन्। 

पछिल्लो मतपरिणाम अनुसार लामिछानेले २४ हजार १३६ मत प्राप्त गरेका छन्। निर्वाचन आयोगका अनुसार यहाँ अहिलेसम्म ३६ हजार ९८७ मत गणना भइसकेको छ। नेपाली कांग्रेसका जित नारायण श्रेष्ठ ५ हजार ३२१ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपाने ४ हजार ७७२ मतसहित तेस्रो स्थानमा छन्।

यस क्षेत्रमा १ लाख २४ हजार ६ सय ९५ कुल मतदाता रहेकोमा ७८ हजार २ सय ७७ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .