ad ad

राजनीति


नेपाल-बेलायत छैटौँ बीसीएम बैठक, गोर्खा सैनिकबारे छलफल भयो, निर्णय भएन

नेपाल-बेलायत छैटौँ बीसीएम बैठक, गोर्खा सैनिकबारे छलफल भयो, निर्णय भएन

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १४:५, काठमाडौँ

नेपाल-बेलायत द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम)को छैटौँ बैठक बुधबार लण्डनस्थित विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा सम्पन्न भएको छ।

बैठकमा विकास साझेदारी र व्यापार तथा लगानी, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा सहकार्यबारे विषयमा छलफल भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।

दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको एक सय वर्ष पुगेको अवसरमा सम्पन्न बैठकमा दुवै पक्षले नेपाल-बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गरेका थिए। पारस्परिक हितका विभिन्न क्षेत्रमा संलग्नता बढाउने विषयमा छलफल भएको दूतावासले जनाएको छ।

बैठकमा परराष्ट्रसचिव भरतराज पौड्यालले नेपाली टोलीको नेतृत्व गरेका थिए।

बैठकमा विकास सहयोग र प्राथमिकता, व्यापार, लगानी र पर्यटन, शिक्षा र मानव संसाधन विकास, कन्सुलर मामिला र जनतालगायत द्विपक्षीय सम्बन्धका प्रमुख पक्षहरूमा भएको प्रगतिको समीक्षा पनि भएको विज्ञप्तिमार्फत दूतावासले जनाएको छ।

ब्रिटिश गोर्खा मुद्दा, जलवायु परिवर्तन र दीगो विकासका सम्बन्धमा कुरा भएको विज्ञप्तिमा उल्लेख छ।

बैठकमा ब्रिटश गोर्खा भर्ती विवादमा पनि छलफल भएको बताइएको छ।

भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूले बेलायती सरकारले नेपाली ब्रिटिश सैनिकहरूलाई दास जस्तो र अमानवीय व्यवहार गरेको बताउँदै आएका छन्। उनीहरूले दुवै सरकारले यो विषयमा चाँडो छलफल गरेर ब्रिटिश सरहकै व्यवहार गर्न कूटनीतिक पहल गर्नुपर्ने माग गर्दै आएका छन्।

बैठकमा उक्त छलफल भएको तर कुनै निष्कर्षमा भने पुगेको देखिन्न। विज्ञप‍्तिमा भनिएको छ, 'भूतपूर्व गोरखा सैनिकका समस्या समाधानका विषयमा छलफल जारी राख्ने सहमति भएको छ।'

बैठकमा बेलायतले बेलायतमा सबैभन्दा बढी सेना पठाउने दोस्रो ठूलो राष्ट्र नेपाल भएको भन्दै प्रशंसा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .