ad ad

राजनीति


टेकनाथ रिजालको बयान : नेपालीलाई शरणार्थी बनाएर लैजान आपत्ति छैन भनेको हुँ

टेकनाथ रिजालको बयान : नेपालीलाई शरणार्थी बनाएर लैजान आपत्ति छैन भनेको हुँ

नेपालखबर
जेठ १०, २०८० बुधबार १४:४८, काठमाडौँ

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने कुरामा शरणार्थी नेता टेकनाथ रिजालले पनि सहयोग गरेको खुलेको छ। जुन कुरा उनले बयानका क्रममा पनि स्वीकार गरेका हुन्।

टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दुलालले प्रस्ताव गरेपछि आफूले भुटानी शरणार्थीलाई समस्या नपर्ने गरी नेपालीलाई पठाउने कुरामा आपत्ति नरहेको भनेको बयानमा खुलाइदिएका छन्।

अरु को को मिलेर रकम उठाए भन्ने जानकार रिजालले आफ्नो भने संलग्नता अस्वीकार गरेका छन्। आफ्नो सरोकार भुटानी शरणार्थीको विषयमा मात्रै भएकाले नेपालीलाई शरणार्थी बनाएर लैजाने कुरामा संलग्नता नरहेको रिजालको बयान छ।

उनका अनुसार सुरुमा टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दुलालले उनलाई प्रस्ताव गरेका थिए। रिजालले नेपालीबाट रकम उठाएर भुटानीका नाममा अमेरिका पठाउन लागेकोबारे जानकार रहेको बयान दिएका छन्।

टेकनाथ रिजालको बयानः
जाहेरवाला मध्येका प्रेमराज पन्थीलाई म चिन्छु, नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कार्यमा भूमिका खेल्ने ब्यक्तिका रुपमा म निजलाई ३ वर्षअघि देखि चिन्छु।

अन्य जाहेरवालासँग मेरो चिनजान छैन। केशव प्रसाद दुलाल र सानु भण्डारीलाई करिब ४ वर्ष अगाडि भुटानी शरणार्थी समस्या समाधानको सन्दर्भमा चिनजान भएको, डा. इन्द्रजित राईलाई १५ वर्ष अघिदेखि चिन्छु, टेकनारायण पाण्डेलाई यसअघि गृह सचिव हुँदा देखेको मात्र हो।

रामशरण केसीलाई मेरो बिर्तामोडमा भएको घर मर्मतको सिलसिलामा २ वर्ष पहिलेदेखि चिन्छु, टोपबहादुर रायमाझीलाई ४ वर्ष पहिले झापामा रहेका भुटानी शरणार्थीहरुलाई स्वदेश फिर्ता र तेस्रो मुलुकमा पुनर्स्थापनाको सन्दर्भमा चिनेको हो। यस बाहेक अन्य प्रतिवादीहरुलाई चिन्दिन।

जाहेरवाला समेतका नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनि पीडितहरुबाट रकम लिने कार्यमा प्रतिवादीहरु केशवप्रसाद दुलाल, सानु भण्डारी, रामशरण केसी, प्रेमराज पन्थी, ईन्द्रजित राई र टोपबहादुर रायमाझी संलग्न छन् भन्ने मलाई थाहा छ।

करिब ४ वर्ष पहिले मलाई सानु भण्डारी र केशवप्रसाद दुलालले टोपबहादुर रायमाझीसँग भेट गराई टोपबहादुर रायमाझीसँग कुरा गराउँदा टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल र सानु भण्डारीले नेपालमा बाँकी रहेका भुटानी शरणार्थीहरु मध्ये तेस्रो मुलुकमा पुनर्स्थापना हुन चाहनेहरुलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्ने र केही नेपालीहरुलाई भुटानीहरुकै नाममा अमेरिका समेतका मुलुकमा लैजाने हाम्रो योजना छ, सो मा तपाईंले सहयोगी भूमिका खेलिदिनुपर्यो भनेर मलाई भनेका हुन्।

नेपाल सरकारका उच्च ओहदाका मानिसले मलाई त्यस्तो प्रस्ताव गरेपछि मैले सम्पूर्ण भुटानी शरणार्थीहरुको समस्या पूर्ण रुपमा समाधान हुनु पर्छ, नेपालीहरुलाई कहाँ लैजाने र कस्तो व्यवस्थापन गर्ने भन्ने मेरो विषय पनि होइन र मेरो पहुँचको कुरा पनि होइन। तर तपाईंहरु भुटानीहरुको नाममा नेपालीहरुलाई तेस्रो मुलुक लैजाने हो भने सोबाट भुटानीहरुलाई मर्का नपार्ने र निजहरुबाट रकम नलिने गरी मिलाउन सक्नु हुन्छ भने यसमा मेरो आपत्ति हुने छैन भनेको थिएँ।

यसपछि टोपबहादुर रायमाझी, सानु भण्डारी, केशवप्रसाद दुलालले गृह मन्त्रालयका मन्त्री र सचिव समेतसँग कुरा गरी कार्यदल समेत बनाई काम शुरु गरेका हुन्। म कसैलाई ठगी गर्ने कार्यमा परिपञ्च मिलाउने, रकम लिने र खाने तथा ठगी गरेको रकम राख्ने समेतका कार्यमा मेरो संलग्नता छैन।

नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनि पीडितहरुबाट रकम लिने कार्यमा प्रतिवादीहरु केशवप्रसाद दुलाल र सानु भण्डारी संलग्न छन्। सो कार्यमा हाल अमेरिकामा रहेका अशोक पोखरेल पनि सानु भण्डारी र केशव दुलालका मतियार भई रकम लिने दिने कार्यमा संलग्न छन्। निजहरुले जाहेरवाला समेतबाट रकम संकलन गरी लिने र संकलन भएको रकम मध्येबाट आफूहरुले ब्यापार बिजनेश समेतमा खर्च गर्ने र सोही रकम मध्येबाट टोपबहादुर रायमाझी, बाहिर तत्कालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, गृहसचिव टेकनारायण पाण्डे समेतलाई दिने गरेको कुरा सुनेको हुँ।

के कति रकम लिए दिए भन्ने म एकिन साथ भन्न सक्दिन। यस कार्यमा टोपबहादुर रायमाझी यस कार्यको शुरुवातमा योजनाकारको रुपमा रहेका र अशोक पोखरेल, सानु भण्डारी र केशव दुलाललाई सल्लाह दिने, गृह मन्त्रालयमा समन्वय गर्ने र रकम लिने कार्यमा संलग्न छन्। यस बाहेक प्रेमराज पन्थी, रामशरण केसीसमेत भई रकम संकलन गर्ने सानु भण्डारी र केशव दुलाललाई दिने कार्यमा निजहरु संलग्न छन्। यस कार्यमा रकम संकलन गर्ने र बाँडी लिने कार्यमा अन्य को को संलग्न छन् भन्ने मलाई थाहा छैन।

जिल्ला भक्तपुरको सिरुटार घर हुने गोकुल थापा नाम गरेका व्यक्तिसँग म आजभन्दा २० वर्ष पहिले नेपाल आउँदाका बखत देखि नै चिनजान भएको हो। निजले नेपालीहरुलाई भुटानी बनाई अमेरिका लैजाने भनेर पीडितहरुबाट रकम लिएको बारेमा मलाई थाहा छैन। जाहेरवाला प्रेमराज पन्थीलाई मैले भेटेको होइन।

निजलाई अमेरिका लैजाने बारेमा कुनै कुरा गरेको छैन। प्रेमराज पन्थीसँग गोकुलले रकम मागेको र गोकुल थापाले निजलाई रकम फिर्ता गरेको बारेमा मलाई थाहा छैन। यस कामको सन्दर्भमा मलाई प्रेमराज पन्थीले कुनै कुरा गरेको होइन र मैले निर्देशन दिएको पनि होइन। भेषराज शर्मा लम्साल मेरो चिनजानका मानिस हुन्।

करिब १५ वर्ष पहिले धोबिघाटमा म डेरा बस्दा डेरा बसेको घरको घरधनी भेषराज शर्मा लम्सालका आफन्त भएकोले त्यहीं निजसँग भेट भई साथीको सम्बन्ध भएको हो। करिब ४ वर्ष पहिले केशवप्रसाद दुलाल र सानु भण्डारी मलाई भेट्न झापा गएकोमा निजहरुले मलाई मेरो घरमा नै भेटेका हुन्।

निजहरुले मलाई भुटानी शरणार्थीहरुको समस्याको बारेमा घुमाउरो शैलीमा कुरा गरी १०० देखि १५० जना नेपाली नागरिकहरुलाई पनि भुटानीको परिचय दिई अमेरिका लैजान सहयोग गर्नु पर्यो भन्ने प्रस्ताव गरेका थिए। सो विषयमा म उक्त काम गर्ने कुनै कार्यकारी वा अधिकारप्राप्त व्यक्ति नभएको हुँदा कसलाई पठाउने वा नपठाउने विषयमा मेरो कुनै भूमिका रहने कुरै भएन।
तर नेपालमा बाँकी रहेका भुटानी शरणार्थीहरुको अगुवा भएकोले नेपालमा रहेका भुटानीहरुको तेस्रो देशमा पुनर्स्थापना, मानवीय सहायता र भुटान फिर्ताको सम्बन्धमा नेपाल सरकारले उचित पहल कदमी लिएको अवस्थामा को कुन नेपालीहरु भुटानीको नाममा अमेरिका जाने हुन् भन्ने मेरो सरोकारको विषय नै थिएन।

यही ब्यहोरा मैले निजहरुलाई बताएकोमा सो को केही समयपछि केशवप्रसाद दुलाल, भेषराज लम्साल र सानु भण्डारीले नेपालीहरुको भुटान मानवअधिकार संस्थाको सदस्यता कार्ड बनाएको बारेमा मैले छनक पाएको थिएँ। निजहरुले बनाएको कार्डमा मलाई सही गर्नका लागि अनुरोध गरेकोमा मैले सरकारी तवरमा कुरा नगरी म कार्डमा सही गर्दिन भनेको हुँ। तर सो कुरामा मलाई ईन्द्रजित राई र टोप बहादुर रायमाझीले समेत भनेको हुँदा नेपाल सरकारका निजहरु दुवै जनाले नेपालीहरुको नाममा भुटानी कार्ड बनाउँदा कुनै समस्या नपर्ने भनेको, म आफू नेपाल सरकारबाट प्राप्त सुविधामा आश्रित रहेको मानिस भई तत्काल प्राप्त हुनु पर्ने सुबिधाहरु रोकिई रहेको अवस्थामा सो सुविधा समेत प्राप्त हुने आश्वासन समेत प्राप्त भएको तथा सरकारी तवरमा टोपबहादुर र ईन्द्रजित राई मुख्य भई काम गरी रहेका तथा बाहिरबाट तत्काल कर्मचारीहरुको सरुवा बढुवा गराउन, आफ्ना लागि तुरुन्त सेवा सुविधा लिन सक्ने हैसियतका सानु भण्डारी र केशवप्रसाद दुलाल यस कार्यमा संलग्न भएकोले निजहको विश्वासमा मैले केही कार्डहरूमा सहीछाप गरिदिएको हो।

बाँकी कार्डहरू प्रविधिको दुरूपयोग गरी वा अन्य तवरबाट बनाए भन्ने मलाई थाहा भएन। जनक कार्कीलाई म चिन्दिनँ, निज मेरा सल्लाहकार पनि होइनन्। नेपालीहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा गोकुल थापा जानकार छन् र निजले केशवप्रसाद दुलाल र सानु भण्डारीसँग मिलेर सोसम्बन्धी कार्य गरेका हुन्। तर मैले कोही कसैलाई अमेरिका लैजाने भन्नेबारे निजसँग कुरा गरेको छैन।

गोकुल थापाले रामशरण केसीबाट रकम, नागरिकताको फोटोकपी र फोटो लिएको मलाई थाहा छैन। गोकुल थापाबाट मैले कुनै रकम लिएको छैन। रामशरण केसी र प्रेमराज पन्थी मेरो घरमा जाने आउने गरी रहने मानिस हुन्। रामशरण केसीले गोकुल थापा, सानु भण्डारी र केशवप्रसाद दुलालले निजहरू समेतबाट निजहरूलाई अमेरिका लैजाने भनी रकम लिएको र काम नगरेको भनेर गुनासो गर्ने गरेका हुन्।

तर म निजहरूबाट रकम लिने कार्यमा संलग्न छैन। निजहरू बीचको लेनदेनको बारेमा मलाई थाहा भएन। करिब ६ वर्षपहिले रामशरण केसी मेरो घरमा गई नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने हाम्रो योजना छ, तपाईंले मद्दत गरी दिनुहोस् भन्न आएका थिए। मैले सो बेला सख्त इन्कार गरेको थिएँ।

सोपछि पनि निज रामशरण केसीले मलाई पटक पटक सो बारेमा फोनबाट अनुरोध गरिहेका थिए। पछि गोकुल थापामार्फत् नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजानेसम्बन्धी काम गरी रहेका सानु भण्डारी र केशव दुलालसँग मेरो भेट भई कुरा भएपछि मैले रामशरण केसीलाई भेषराज शर्मा लम्साल र केशव दुलालसँग चावहिलको ए–एवान पार्टी प्यालेसमा भेट गराइदिएको हो।

सोपश्चात् पनि रामशरण केसीको काम समयमा नभएपछि मलाई रामशरण केसीले सो बारेमा गुनासो गर्ने गरेका हुन्। मैले निजसँग रकम लिएको र निजलाई ठगी गरेको छैन। मैले रामशरण केसी समेतका ३४ जना व्यक्तिहरूको भुटानी शरणार्थी कार्ड (परिचय पत्र) बनाई दिने भनी कार्डहरू लिएको होइन।

रामशरणबाट केशव दुलाल र सानु भण्डारीले कार्डहरू लिई मलाई सही गराएको हुन सक्छ। मैले कोही कसैबाट रकम लिएको होइन। मैले रामशरण केसीलगायत कोही कसैसँग रकम लिएको छैन, यो सबै झुठ्ठा हो। मैले कार्डहरू बनाएको होइन, केशवप्रसाद दुलाल र सानु भण्डारीले मलाई दिएका केही कार्डहरूमा सही सम्म गरेको हो। मैले कुनै कार्डहरू जलाएको र जलाउन लगाएको होइन।

केही कार्डहरूमा केशवप्रसाद दुलाल र सानु भण्डारीले सही गराएका हुन्। कुन कुन कार्डहरूमा मैले सही गरेको थिएँ भन्ने हाल एकिनसाथ भन्न सक्दिनँ। लक्ष्मी कोइराला, कृष्ण कोइराला, रामशरण केसी र प्रेम पन्थीका विरूद्धमा मैले प्रहरी वृत्त गौशालामा निवेदन दिएको हो।

प्रेमराज पन्थी र लक्ष्मी कोइरालासहित झापा बिर्तामोडका ६/७ जना मानिसहरू मेरो झापा घरमा गई हामीहरूको रकम चाहियो भनेर हुल–हुज्जत नै गर्न लागेपछि मैले ‘तिमीहरूको रकम मैले कहिले लिएको हो? प्रमाणबिना मेरो घरमा घेर्न आएका हौ?’ भनेपछि निजहरू मेरो घरबाट गए। मेरो घरमा जाने मानिसहरू लक्ष्मी कोइराला र प्रेम पन्थी तथा रकम लेनदेन रहेका भनिएका कृष्ण कोइराला र रामशरण केसी भएकाले मैले निजहरूविरूद्ध प्रहरी वृत्त गौशालामा निवेदन दिएको हो। निवेदनउपर छलफल हुँदा रामशरण केसी र लक्ष्मी कोइराला गौशाला गएका थिए।

सो बेला रामशरण केसीले मबाट रु १,३०,००० (एक लाख तीस हजार) रकम पाउनु छ भनेर जिकिर लिएका थिए। मैले रामशरणलाई औषधिसमेत किनाएको रकम रु १,३०,००० (एक लाख तीस हजार) दिनु पर्नेमा सो रकम म दिन्छु भनेपछि प्रहरीले रकमको कुरा बाहिरै मिलाउनु होस् भनेर हामीहरूलाई पठाएका हुन्।

सानु भण्डारीले नेपालीहरूलाई भुटानी बनाई अमेरिका लैजाने सन्दर्भमा मलाई काठमाडौं बोलाउँदा, होटलमा राख्दा, खाना समेतको खर्च बापतको रकम आफ्नो डायरीमा टिपेर राखेको हो। इन्द्रजित राई, म र केशवप्रसाद दुलालको फोटो गृह मन्त्रालयमा खिचिएको फोटो हो। म र केशव दुलाल गृह मन्त्रालयमा गई इन्द्रजित राईसँग भेटेको बेला इन्द्रजित राईको कार्यकक्षमा खिचिएको फोटो हो। सो बेला इन्द्रजित राई र म गई सचिव र गृहमन्त्रीलाई भेटेर भुटानी शरणार्थीसम्बन्धी विषयमा कुरा भएको थियो।

इन्द्रजित राई र केशव दुलालसँग खिचिएको मेरो उक्त फोटो देखाई मसँग सम्बन्ध भएको भन्ने विश्वासमा पारी जाहेरवाला समेतका मानिसहरूबाट निजहरूलाई अमेरिका लैजाने भनी रकम संकलन गर्ने माध्यमको रूपमा सो फोटो दुरूपयोग गरेको कुरा मैले पछि थाहा पाएँ। नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थीहरू बनाई यति विघ्न रकम संकलन गरेको र ठगी भएको होला भन्ने कुराको जानकारी मलाई पहिले थिएन।

टोपबहादुर रायमाझी र इन्द्रजित राई सरकारी निकायकै तर्फबाट यस प्रकरणमा सक्रिय रहेको साथै केशवप्रसाद दुलाल र सानु भण्डारी सरकारी निकायमा उच्च सरकारी कर्मचारीहरूको सरूवा बढुवा गराउन सक्ने पहुँच बनाएका व्यक्तिहरू नै संलग्न रहेको मानिसहरू सक्रिय रहेका कारण सरकारी तवरबाटै उक्त काम भएको कुरामा मलाई विश्वास भयो भने म भुटानी शरणार्थी भई नेपाल सरकारको सुविधामा बसिरहेको मानिसले नेपालको सरकारी तवरबाटै भएको कार्यको बारेमा कहीँकतै उजुरबाजुर गर्नु उचित नलागेको र यस्तो परिस्थितिमा मैले औपचारिक रूपमा कहीँकतै उजुरबाजुर गर्ने ठाउँ नै नपाएको हो।

म नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कार्यको सुरूवातदेखि नै विरोध गरिरहेको मानिस हो। तर यसअघि नेपालमा रहेका भुटानीहरूलाई तेस्रो देशमा लैजाँदा केही नेपालीहरू घुसेर भुटानीको नाममा अमेरिका समेतका मुलुकमा गएकै हुन्। सो कुराको जानकारी नेपाल सरकार समेतलाई हुनु पर्ने हो।

म एक भुटानी शरणार्थीको रूपमा नेपालमा आश्रय लिइरहेको मानिसले नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरूको संलग्नता र उपस्थितिमा भएको नेपालीहरूलाई नक्कली भुटानी बनाई तेस्रो मुलुक लैजाने कार्य रोक्न सक्ने मेरो सामथ्र्य बाहिरको कुरा थियो।

मैले नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कुरा रोक्ने कार्य मेरो पहुँचभन्दा बाहिरको विषय भएकोले रोक्न नसकेको मात्र हो, तर मैले यसबाट कुनै फाइदा लिएको, बदनियत राखी सो कार्यमा संलग्न भएको होइन।

नेपाल सरकारबाट भुटानी शरणार्थीहरूको नाममा नेपालीहरूलाई नक्कली भुटानी बनाउने कार्यमा नेपाल सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन नै सहयोगी रहेको र सो प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने पदाधिकारीहरूलाई जानकारीमा रहेको भन्ने मैले बुझेको छु।

यस्तो कार्य गर्ने सरकारी निकायका पदाधिकारी र अन्य संलग्न नेपालीहरू नै यसमा जिम्मेवार छन्। सानु भण्डारी, अशोक पोखरेल र केशव दुलालले डिजाइन गरेर नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने भनेर रकम संकलन गरेका हुन् र पछि सो कार्यमा प्रेमराज पन्थी र रामशरण केसी पनि जोडिएका हुन् भने सरकारी तवरबाट इन्द्रजित राई, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे र तत् समयका अन्य पदाधिकारी संलग्न छन्।

अन्य को को भई कसरी नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने कार्य गर्नका लागि रकम संकलन गरे र कस कसको कति कति रकम ठगी भयो तथा ठगीको रकम कसले कसले लियो भन्नेबारे मलाई थाहा छैन। म ठगी गर्ने तथा सोको लागि संगठन बनाउने र परिचालन गर्ने समेतको कार्यमा संलग्न छैन।

सुमित्रा पौडेल मेरो चिनजानको एकल महिला हुन्, निजलाई केशवप्रसाद दुलाल र सानु भण्डारीले अमेरिका पठाउने भनी निजबाट रकम लिएर काम नगरेकोले निजले सो बारेमा मसँग चासो राखेकी हुन्। गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठिक होइन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .