ad ad

राजनीति


कांग्रेसका यी सात पूर्वमन्त्री, जो भ्रष्टाचारमा मुछिए

कांग्रेसका यी सात पूर्वमन्त्री, जो भ्रष्टाचारमा मुछिए

केशव सावद
जेठ ११, २०८० बिहिबार १५:३८, काठमाडौँ

नेपाली कांग्रेसका प्रभावशाली नेतामध्येमा पर्ने पूर्वगृहमन्त्री बालकृष्ण खाँणविरुद्ध ठगी, राज्यविरुद्व कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुरमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार खाँणविरुद्ध काठमाडौं जिल्ला अदालतमा यी पाँच अभियोगमा मुद्दा दायर गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य खाँणसँगै अन्य २९ जनाविरुद्ध पनि विभिन्न पाँच मुद्दा अदालतमा दायर भएको छ। खान वैशाख २७ गते बिहान पक्राउ परेका थिए। उनलाई प्रहरीले चाबहिलको मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री खाँणकै निर्देशनमा आफूले काम गरेको बयान दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव पाण्डेलाई प्रहरीले वैशाख २० गते काठमाडौंकै पेप्सीकोलाबाट पक्राउ गरेको थियो। 

खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा कार्यदलको प्रतिवेदन नै हेरफेर गरिएको बताइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसहित १६ जना पक्राउ परिसकेका छन्। पक्राउ पुर्जी जारी भएका प्रतीक थापा र निरज राई फरार छन्।

भ्रष्टाचारलगायतका ठूला काण्डमा संलग्न रहेको आरोपमा मुद्दा दायर हुनेमा खाँण कांग्रेसका चौथो पूर्वगृहमन्त्री हुन्। पञ्चायती व्यवस्था ढलेपछि गठित पहिलो सरकारका गृहमन्त्री योगप्रसाद उपाध्यायदेखि वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्म आइपुग्दा कांग्रेसका मात्रै ३ जना पूर्वगृहमन्त्री प्रहरी हिरासतमा पुगेका छन्। 

त्यसरी हिरासतमा पुग्ने पूर्वगृहमन्त्रीहरुमा खुमबहादुर खड्का, गोविन्दराज जोशी र खाँण छन्। अर्का पूर्वगृहमन्त्री विजयकुमार गच्छदारले भने प्रहरी हिरासतमा जानबाट आफूलाई जोगाएर एकैपटक अदालतमा उपस्थित भएर धरौटी रकम बुझाएका थिए।

खड्का र जोशीले उनीहरुमाथिको भ्रष्टाचारको आरोप अदालतबाट प्रमाणित भएर कैदसमेत भुक्तान गर्नु परेको थियो। पदको दुरुपयोग गरेर गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको आरोप प्रमाणित भएपछि खड्का कैदी बन्न पुगेका थिए। 

उनले दुई पटक गृह मन्त्रालयको ‘कमान्ड’ सम्हाल्ने अवसर पाएका थिए। पहिलो पटक २०५२ असोज ५ देखि २०५३ फागुन २८ सम्म गृहमन्त्री बनेका खड्का २०५४ मंसिर १८ देखि २०५५ वैशाख ७ सम्म पनि गृहमन्त्री थिए।

यस्तै जोशीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको र सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा परेको थियो। उनी २०५५ वैशाख ८ देखि २०५६ असार १५ गतेसम्म गृहमन्त्री बनेका थिए।

कांग्रेसबाट दुई जना पूर्वसञ्चारमन्त्रीहरु पनि अदालतबाट भ्रष्टाचार गरेको ठहरमा बन्दी जीवन बिताइसकेका छन्। पूर्वसञ्चारमन्त्रीद्वय चिरञ्जीवी वाग्ले र जयप्रकाशप्रसाद गुप्ता बन्दी जीवन बिताएर रिहा भए पनि राजनीतिबाट टाढा भएका छन्। 

खुमबहादुर खड्का, पूर्वगृहमन्त्री 
२०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा खुमबहादुर खड्का मन्त्री बनेका थिए। त्यसपछि पनि पटक–पटक गृहमन्त्री र मन्त्री बनेका खड्काले पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरे। 

२०५९ सालमा २ करोड ३६ लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भयो। तर, खड्काले विशेष अदालतबाट २०६३ सालमा १२ लाख मात्र स्रोत नखुलेको भन्दै सफाइ पाए। 

यो फैसलाविरुद्ध अख्तियारले सर्वाेच्चमा पुनरावेदन दियो। २०६८ साउन ३० मा सर्वाेच्चले खड्कालाई दोषी ठहर गर्दैै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ बिगो जरिवानाको फैसला सुनायो। फैसलापछि खड्का जेल बसे। उनको मृत्यु भइसकेको छ। 

गोविन्दराज जोशी, पूर्वगृहमन्त्री 
कांग्रेसका प्रभावशाली नेता गोविन्दराज जोशी २०४८ सालमा पहिलो पटक शिक्षामन्त्री बनेका थिए। उनी २०५५ वैशाख ८ देखि २०५६ असार १५ गतेसम्म गृहमन्त्री बनेका थिए। 

अख्तियारले २०६६ माघ २८ मा जोशीविरुद्ध विशेष अदालतमा ३ करोड ९३ लाख ६३ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचारको मुद्दा हालेको थियो। उनीविरुद्ध १३ वर्ष कैद सजायको माग गरिएको थियो। तर, २०६३ कात्तिक ३० मा विशेष अदालतले जोशीलाई सफाइ दिएको थियो।  

फैसलाविरुद्ध अख्तियारले सर्वाेच्चमा पुनरावेदन पनि गरेको थियो। सर्वाेच्चले भ्रष्टाचार मुद्दामा हदम्याद नलाग्ने भन्दै जोशीविरुद्ध मुद्दा चलाउन आदेश दिएको थियो। त्यसपछि जोशीविरुद्धको मुद्दा विशेष अदालतमा चल्न पुगेको थियो। २०६६ साउन १० मा जोशीविरुद्ध २ करोड १६ लाख स्रोत नखुलेको भन्दै बिगोसहित असुल गर्न र डेढ वर्ष कैद सजाय सुनाइएको थियो। 

फैसलाविरुद्ध जोशी सर्वाेच्च गएका थिए। यो मुद्दामा अहिलेसम्म सर्वाेच्चले फैसला गरेको छैन। मुद्दा तामेलीमा छ। २०७४ सालको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको आरोप जोशीमाथि छ। सोही आरोपमा कांग्रेसले उनलाई कारबाही गरेको थियो। 

गत उपनिर्वाचनको संघारमा उनीमाथि गरिएको कारबाही कांग्रेसले फुकुवा गरेको थियो। तर, कांग्रेसले कारबाही फुकुवा गरे पनि जोशी उपनिर्वाचनमा कांग्रेसको पक्षमा खुलेनन्। उनको समूहले तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सघाएको थियो। 

विजयकुमार गच्छदार, पूर्वगृहमन्त्री 
कांग्रेस नेता विजयकुमार गच्छदार २०४६ सालको परिवर्तनपछि पटक–पटक मन्त्री हुने नेतामा पर्छन्। उनी भ्रष्टाचारका मुद्दा लाग्ने उच्च पदका नेता हुन्। भ्रष्टाचारको मुद्दा लागेका कारण उपप्रधानमन्त्री भइसकेका गच्छदारको अघिल्लो संसदमा सांसद पद निलम्बन भएको थियो। 

बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ। भौतिक योजनामन्त्री भएको बेला ललिता निवासको १३६ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोप उनलाई छ। 

२०७६ माघ २२ मा ९ करोड ६५ लाख बिगो दाबीसहित अख्तियारले गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा विशेष अदालतमा चलिरहेको छ। लामो समय फरार भनिएका गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि विशेष अदालतमा उपस्थित भएर १० लाख धरौटीमा छुटेका थिए। देउवा २०७९ असार २९ प्रधानमन्त्री भएपछि उनी असार ३० गते विशेष अदालतमा उपस्थिति भएका थिए।  

चिरञ्जीवी वाग्ले, पूर्वसञ्चारमन्त्री 
कांग्रेसका अर्का नेता चिरञ्जीवी वाग्ले सञ्चारमन्त्री भइसकेका नेता हुन्। उनी अकुत सम्पत्ति आर्जनमा सजायमा पाउने पहिलो मन्त्री पनि हुन्। अख्तियारले वाग्लेविरुद्ध २०५९ पुस ३ मा ३ करोड २ लाख ५५ हजार रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा चलाएको थियो। 

२०६१ साउन ७ मा विशेष अदालतले वाग्लेले २ करोड ७२ लाख ५८ हजार भ्रष्टाचार गरेको ठहर गरेको थियोे। उनलाई तत्कालीन सयमा विशेष अदालतले अढाई वर्ष कैद सजाय सुनाएको थियो। 

विशेष अदालतको फैसलाविरुद्ध वाग्लेले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। तर, अदालतले २०६७ मा २ करोड ३ लाख रुपैयाँ जरिवाना र १८ महिना जेल सजायको फैसला सुनाएपछि उनी जेल बस्नु परेको थियो। पूर्वमन्त्री वाग्ले अहिले राजनीतिबाट टाढा छन्। 

जयप्रकाशप्रसाद गुप्ता, पूर्वसञ्चारमन्त्री 
कांग्रेस नेता जयप्रकाशप्रसाद गुप्ता पूर्व सूचना तथा सञ्चारमन्त्री हुन्। बहालवाला मन्त्री रहेकै समयमा उनी भ्रष्टाचार काण्डमा मुछिए। २०५९ सालमा गुप्ताविरुद्ध २ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप लागेको थियो। 

अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर, २०६४ सालमा गुप्ताले विशेष अदालतबाट सफाइ पाए। विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वाेच्च अदालतमा पुनरावेदन गरेको थियो। 

२०६८ फागुन १० मा सर्वाेच्चले ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेर गुप्तालाई डेढ वर्ष कैद सजाय सुनाएको थियो। उनी जेल जीवन बिताएर छुटेपछि सक्रिय राजनीतिबाट टाढा हुन पुगेका छन्। 

टेकबहादुर गुरुङ, पूर्वश्रममन्त्री 
टेकबहादुर गुरुङ कांग्रेस नेता हुन्। उनी मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद पनि हुन्। यद्यपि, गुरुङलाई गत पुस १२ गते संघीय ससद् सचिवालयले निलम्बन गरिसकेको छ। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट गुरुङविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भई विचाराधीन अवस्थामा रहेकाले उनलाई निलम्बित गरिएको हो। भृकुटीमण्डपको जग्गा भाडामा लगाउँदा अनियमितता गरेको आरोप गुरुङमाथि छ। 

भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार अनियमितता भएको दाबीसहित गुरुङविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

उनी तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा श्रममन्त्री थिए। गुरुङसहित १४ जनाविरुद्ध अख्तियारले माघमा २०७५ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .