राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता गर्ने गरी सर्वोच्च अदालतको आदेशको विरोध गरेका छन्।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता गर्न सरकारका नाममा आदेश दिएपछि थापाले विरोध गरेका हुन्।
थापाले समलिङ्गी विवाह दर्ताबारे सर्वोच्च अदालतको आदेश त्रुटिपूर्ण रहेको पनि बताएका छन्।
‘समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ’, उनले भनेका छन्, ‘विवाह महिला र पुरुषबीचको पवित्र सम्बन्ध हो।’
यौनिक तथा लैङ्गिक अल्पसंख्यकको विवाह दर्ता गर्न सर्वोच्चको आदेश
उनले यदि समलिङ्गी विवाहले वैधानिकता पाएमा पारिवारिक झमेला एवम् सामाजिक विकृति सिर्जना गर्ने पनि दाबी गरेका छन्।
थापाको यो भनाइलाई लिएर लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुले भने विरोध जनाएका छन्।
एकजना यौनिक अल्पसंख्यक सिमरन शेरचनले थापाको भनाइ कदापि मान्य नहुने बताएकी छन्।
उनले प्राकृतिक र अप्राकृतिकको मापनबारे थापालाई प्रश्न गरेकी छन्। ‘प्राकृतिक र अप्राकृतिक कसरी मापन गर्नु भयो?’, उनले सोधेकी छन्, ‘हिन्दू धर्ममा विश्वास पक्कै पनि गर्नु हुन्छ। त्यही धर्ममा पनि वर्णन गरिएको यो समुदायको पहिचान अनि भावनामाथि ठोस पुग्ने गरी यो अभिव्यक्तिको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय भर्त्सना गर्दछ।’
Shares
प्रतिक्रिया