नेकपा (मसाल) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
महामन्त्री मोहनविक्रम सिंहले एक शोक वक्तव्य प्रकाशित गरी सीता दाहाल कम्युनिस्ट पार्टीको एउटा सक्रिय कार्यकर्ता तथा प्रचण्डको सहयोद्धा रहेको उल्लेख गर्दै उनले अप्ठ्यारो र कठिन परिस्थितिमा समेत पार्टी र प्रचण्डलाई धेरै नै मदत पुर्याएको स्मरण गरेका छन्।
‘का. सीता दाहाल कम्युनिस्ट पार्टीको एउटा सक्रिय कार्यकर्ता तथा का. प्रचण्डको सहयोद्धा पनि हुनुहुन्थ्यो। उहाँले धेरै अप्ठ्यारो र कठिन परिस्थितिमा पार्टी र आफ्नो पार्टीका नेता प्रचण्डलाई समेत धेरै नै मदत पुर्याउनु भएको थियो’ शोक वत्तलव्यमा भनिएको छ, ‘हामीलाई यसको लागि पनि धेरै दुःख छ कि का. प्रचण्डले थोरै समयभित्र नै धेरै पीडा सहनु परेको छ। उहाँको जेठी छोरीको क्यान्सरद्वारा मृत्यु भएको थियो भने उहाँको एक मात्र छोरा प्रकाशको ह्दयघातबाट मृत्यु भएको थियो। उहाँकी पत्नी सीता लामो समयदेखि विरामी मात्र हुनु हुदैनथ्यो, उहाँ एक प्रकारले लामो समयदेखि मृत्युशैयामा नै हुनुहुन्थ्यो। आज उहाँको पनि मृत्यु भयो। यी सबै पारिवारिक दुःख र पीडाका लागि हामीले उहाँप्रति हार्दिक र गहिरो समवेदना प्रकट गर्दछौँ।’
यस्तै, मसालले प्रचण्डको पुरै परिवार नै संघर्षमा सामेल भएको र प्रतिकुल परिस्थितीमा समेत पार्टीलाई साथ दिएको बताएको छ।
वक्तव्यमा भनिएको छ, ‘यहाँ यो पनि उल्लेखनीय छ कि उहाँको सम्पूर्ण परिवार, पत्नी, छोराछोरीहरु सबै उहाँले सञ्चालन गरेको सशस्त्र सङ्घर्षमा उहाँका साथ सहभागी थिए। यस्ता नेताहरू कमै हुन्छन, जसले आफ्नो सम्पूर्ण परिवारलाई आफ्नो सिद्धान्त, उद्देश्य र आस्था समेतका लागि, त्यो पनि अत्यन्त प्रतिकूल परिस्थितिमा साथै होमेका हुन्छन्। का. प्रचण्डको परिवार त्यही प्रकारको थियो। त्यो कारणले पनि हामीले उहाँ र उहाँको परिवारप्रति ठूलो सम्मान प्रकट गर्दछौँ।’
यसअघि बुधबार पशुपति आर्यघाटमा दाहालप्रति महामन्त्री सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीले अन्तिम श्रद्धाञ्जली प्रकट गरेका थिए।
Shares
प्रतिक्रिया