राजनीति


झलनाथ भन्छन् : संघीयताको प्रयोग सफल नभए बोझ बनेर खारेज हुन सक्छ

सरकारले राम्रो काम गर्न नसकेको निष्कर्ष
झलनाथ भन्छन् : संघीयताको प्रयोग सफल नभए बोझ बनेर खारेज हुन सक्छ

फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०८० बुधबार १७:२८, जनकपुरधाम

नेकपा (एकीकृत समाजवादी) का सम्मानित झलनाथ खनालले देशमा संघीयताको प्रयोग सफल हुन नसके खारेज हुनसक्ने बताएका छन्।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेज पनि हुन सक्ने आशंका व्यक्त गरे।

उनले संघीयताको भविष्यलाई लिएर अहिले निर्णयमा पुग्ने स्थिति नरहेको बताउँदै आमजनता र मुलुकका लागि फलदायी बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

संघीयता आमनेपाली जनताका लागि फलदायी नभए मुलुककै लागि बोझ हुने भएकाले चाहेर वा नचाहेर पनि टिक्न नसक्ने उनले बताए।

सरकारकै घटक दल नेपाली कांग्रेस समाजवादी मोर्चालाई लिएर सशंकित रहेको समयमा उनले मोर्चाले सरकारलाई कुनै असर नगर्ने दाबी गरे।

यसका साथै सम्पूर्ण वामपन्थी शक्तिहरु मोर्चामा आवद्ध हुनसक्ने बताउँदै खनालले साझा धारणा नबनेसम्म मोर्चावद्ध हुन सम्भव नरहेको बताए।

‘यो देशमा लामो अवधिसम्म त संघीयता थिएन। हामीले २०६२/६३ को परिवर्तनपछि यो प्रयोग गरेका छौँ। यो नयाँ प्रयोग हो। यसलाई ठिक ढंगले प्रयोग गर्दै गयौँ, राम्रो ढंगले फलदायी भए आम जनतालाई यसले बढी मात्रामा सेवा पुर‍्‍याउन सके टिकेर जान्छ’, उनले भने, ‘नत्र भारी मात्रै भयो भने परिवर्तन हुनसक्छ। हिजो १४ अञ्चल थिए, ती गए, त्यस्तै अहिलेको संविधानले संघीयतामा हमी गएका छौँ, यो संविधान कार्यान्वय प्रक्रियामा छ। त्यसैले पूर्ण कार्यान्वयनमा गइसकेको छैन। संघीयता अहिले पनि प्रयोगमा छ, यसलाई सफल गर्न सक्नुपर्छ।’

संघीयतालाई प्रयोग गरेर सफल गर्न सक्नुपर्ने उनको भनाइ थियो। ‘देशको आवश्यकता होइन भने आफैँ भोलि तपाईं हामीले चाहे पनि नचाहे पनि त्यो समाप्त हुन्छ’, उनले थपे, ‘हामीले यसको विस्तारै समीक्षा गर्नुपर्छ। कतिपय कुरामा नयाँ ढंगले सोच्नुपर्छ भन्ने आइरहेको छ। यतिबेलै संघीयताबारे सोच्ने स्थिति भएको छैन।’

पूर्वप्रधानमन्त्री खनालले सरकारले अहिलेसम्म खासै राम्रो काम गर्न नसकेको बताउँदै सरकारले गर्ने राम्रो वा नराम्रो कामले भविष्य निर्धारण गर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .