ad ad

राजनीति


एमाले मधेशको नेतृत्व : सहमति कि निर्वाचनबाट?

नेतृत्वमा सहमति नहुँदा अधिवेशन लम्बियो
एमाले मधेशको नेतृत्व : सहमति कि निर्वाचनबाट?

नेपालखबर
असोज २६, २०८० शुक्रबार १०:५४, जनकपुरधाम

नेतृत्व चयनमा सहमति नहुँदा नेकपा एमालेको जनकपुरमा जारी मधेश प्रदेश अधिवेशन लम्बिएको छ।  

अधिवेशन २४ र २५ असोजसम्म चल्ने पूर्व निर्धारित कार्य तालिका थियो। तर, प्रदेश नेतृत्वमा सहमति नजुट्दा अधिवेशन लम्बिएको हो।

नेताहरुले प्रदेश नेतृत्व चयनको लागि सहमतिको प्रयास जारी राखिएको जनाएका छन्। तर, सहमतिमा नेतृत्व चयन गर्ने प्रयाससँगै निर्वाचनको तयारी पनि अघि बढेको एमाले प्रदेश सांसद शारदा थापाले नेपालखबरलाई जानकारी दिइन्। 

निर्वाचन समितिले शुक्रबार बिहान ८ बजेदेखि निर्वाचनको लागि उम्मेदवारी दर्ता खुला गरेको छ। बिहान ११ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।  

स्रोतका अनुसार एमाले मधेशको नेतृत्वमा आउन सुरुमा आधा दर्जन जति नेताले इच्छा देखाएका थिए। तर, पछिल्लो समय सर्लाहीका राजनारायण साह र सिरहाका चण्डेश्वर मण्डलले मात्रै दाबी छाडेका छैनन्। साह एमाले सर्लाहीका अध्यक्ष हुन् भने मण्डल सिरहा अध्यक्ष हुन्।

धनुषाका अध्यक्ष राजकिशोर यादव र नेता लक्ष्मी नारायण यादव, सर्लाहीका पूर्व अध्यक्ष रेवती पन्त र पर्सा अध्यक्ष बिचारी यादव अध्यक्षको दाबीबाट पछि हटेका एक नेताले जानकारी दिए। 

‘सहमति भएन र निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने अवस्था आयो भने सिरहाका मण्डल र सर्लाहीका साहको प्यानलबीच प्रतिस्पर्धा हुने सम्भावना धेरै छ। उनीहरुले भित्रभित्रै आ आफ्नो प्यानल तयार गरिसकेका छन्,’ ती नेताले नेपालखबरसँग भने, ‘यहाँ विकसित हुँदै गएको माहोल हेर्दा सहमति भन्दा पनि निर्वाचनकै सम्भावना बढी देखिएको छ।’

एमाले मधेशको नेतृत्वमा आउन पार्टीका पोलिटव्यरो सदस्यद्वय सुमन प्याकुरेल र पुरुषोत्तम पौडेलले पनि इच्छा देखाएका थिए। तर, पार्टी नेतृत्वले पोलिटव्युरो सदस्य प्रदेशको अध्यक्ष बन्न नपाउने निर्णय गरेपछि उनीहरु अध्यक्षको दौडबाट बाहिरिएका छन्।

अहिले उनीहरु आ आफ्ना गुट निर्माणमा सक्रिय रहेका महाधिवेशन स्थलबाट एमाले सर्लाहीका एक नेताले जानकारी दिए। 

पछिल्लो समय एमालेका प्रभावशाली नेता रघुवीर महासेठ राजनारायण साहलाई अध्यक्ष बनाउने दौडमा लागेका छन्। 

‘निर्वाचन भयो भने महासेठले राजनारायण र सुमनले चण्डेश्वरको प्यानललाई समर्थन गर्ने सम्भावना बलियो छ,’ एमालेका एक नेताले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .