ad ad

राजनीति


सदन सकिनेबित्तिकै जिल्ला दौडिए सांसद, कोरम नपुगेर समिति बैठक स्थगित

सदन सकिनेबित्तिकै जिल्ला दौडिए सांसद, कोरम नपुगेर समिति बैठक स्थगित

गीता चिमोरिया
असोज ७, २०८१ सोमबार १९:४९, काठमाडौँ

संघीय संसदको अधिवेशन सकिनेबित्तिकै सांसदहरू जिल्लातिर दौडिँदा संसदीय समितिको बैठक प्रभावित भएको छ।  

कोरम नपुग्दा सोमबार बोलाइएको तीन समितिको बैठकमध्ये दुईवटा बस्न सकेन। संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दुई र संयुक्त एक गरी तीन समितिको बैठक बोलाइएको थियो।

बिहान ११ बजेका लागि प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठक बोलाइएको थियो। 

त्यही बेला शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बोलाइएको थियो। समितिमा आज सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का बारेमा छलफल हुने कार्यसूची रहेको थियो। तर बैठक बस्न आवश्यक संख्या नपुगेपछि शिक्षा समितिको आजको बैठक बस्न सकेन।    

शिक्षा समितिमा २४ जना सांसद सदस्य छन्। बैठक बस्नका लागि कम्तीमा १३ जना सांसद उपस्थित हुनुपर्छ। तर, आजको बैठकमा ९ जना सांसद मात्रै उपस्थित भएका थिए। जसका कारण आजको बैठक स्थगित भयो। 

समिति सचिवालय स्रोतका अनुसार अधिवेशन सकिनेबित्तिकै सांसदहरू जिल्ला दौडमा गएकाले समितिको काम प्रभावित भएको छ। 

समितिका एकजना कर्मचारीले भने, ‘समितिको बैठकलाई माननीयहरूले गम्भीरताका साथ नलिँदा विधेयकहरूमाथि समयमा छलफल हुन सकेको छैन। एक त संसद् भएका बेला समितिको बैठक बस्न सक्दैन, संसद् सकिनेबित्तिकै उहाँहरू हिँडिहाल्नुहुन्छ।’ 

दसैँ बिदा सुरु हुन दुई हप्ता बाँकी छँदै धेरैजसो सांसद जिल्लातिर निस्किसकेका छन्। समितिले ७ गतेसम्मको बैठकको सूचना पहिले नै गरेको थियो तर पनि बैठकमा आवश्यक सांसद उपस्थित भएनन्। 

सदन चलिरहँदा समितिको बैठक प्रभावित हुँदा संसदको क्यालेन्डरमा सामान्यतया हप्तामा तीन दिन संसद् र तीन दिन समितिको बैठक गर्ने भन्ने व्यवस्था गरिएको थियो। तर, सदन नहुने तीन दिनमा पनि कतिपय सांसद जिल्ला हिँड्ने गरेका छन्। 

‘अब क्यालेन्डर बनाउँदा एकदिन संसद् बैठक, अर्को दिन समितिको बैठकको कार्यतालिका बनाउनपर्ने देखियो नत्र समितिको काम नहुने भयो,’ समितिका अर्का एक कर्मचारीले भने, ‘समितिमा निरन्तर छलफल गर्नुपर्ने विधेयकहरू छन्, अझै केही विधेयक मन्त्रालयबाट आउने तयारीमा छ तर समितिको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन। तीन दिन सदन, तीन दिन समितिको बैठक भनिएको छ तर त्यो तीन दिनमा पनि उहाँहरू जिल्ला हिँड्नुहुन्छ, अनि समितिलाई समय खै?’  
 
समितिमा आएका महत्त्वपूर्ण विधेयकको अध्ययनमा समेत सांसदहरूले ध्यान नदिएको भन्दै ती कर्मचारीले असन्तुष्टि जनाए। 

भने, ‘विद्यालय शिक्षा लगायत निकै महत्त्वपूर्ण विधेयकहरू समितिमा छ। तर माननीयहरूले समितिमा आएका विधेयकहरूमा गहिरिएर अध्ययन गर्ने र सुझावहरू राख्ने गरेको पाइँदैन।’   
 
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको कार्यक्षेत्रभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पर्छ।   

सोमबार नै दिउँसो १ बजेका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक पनि स्थगित भयो। समितिले आज श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्राईबारे निर्णय गर्नुपर्ने थियो। भट्राईको नाम अनुमोदन गर्ने वा अस्वीकार गर्ने भनेर निर्णय लिन बोलाइएको बैठक आवश्यक सांसद संख्या नपुगेर स्थगित भएको हो। 

बैठकमा दुईतिहाइ सदस्यको उपस्थिति नपुग्दा स्थगित भएको समिति सदस्य श्याम घिमिरेले जानकारी दिए। 

संसदीय सुनुवाइ समितिमा १५ जना सांसद सदस्य छन्। समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार समितिमा रहेका १५ मध्ये ८ जना सांसद मात्रै उपस्थित हुँदा आज समितिले निर्णय गर्न नसकेको हो। समिति बैठक बस्न १० जना सदस्य अनिवार्य उपस्थित हुनुपर्छ।   

प्रस्तावित १६ राजदूतबारे समितिले असोज ३ गते निर्णय गरे पनि भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र नआएकाले निर्णय हुन सकेको छैन। सिफारिस भएको ४५ दिनभित्र प्रस्तावित राजदूतबारे निर्णय भइसक्नुपर्छ। ९ गते ४५ दिन पुग्ने भएकाले समितिले भट्टराईबारे मंगलबारसम्म निर्णय गरिसक्नुपर्ने छ। समितिको अर्को बैठक मंगलबार बिहान ९ बजेका लागि बोलाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .