ad ad

राजनीति


गैरआवासीय नेपाली संघको अध्यक्षमा ४ जनाको दाबी, को कस्ता?

दलैपिच्छे उम्मेदवार, सत्ता गठबन्धनमा जुटेन सहमति
गैरआवासीय नेपाली संघको अध्यक्षमा ४ जनाको दाबी, को कस्ता?

गैरआवासीय नेपाली संघका अध्यक्षका दाबेदार क्रमशः रविना थापा, आरके शर्मा, महेशकुमार श्रेष्ठ, डा. बद्री केसी


वसन्त अर्याल
असोज २९, २०८० सोमबार २२:१९, काठमाडौँ

गैरआवासीय नेपाली संघको ११ औँ महाधिवेशनमा ४ जना अध्यक्षको लागि प्रतिस्पर्धा गर्दै छन्। 

हालका अध्यक्ष २ जना पुनः दोहोरिएका छन् भने २ उपाध्यक्षले अध्यक्षमा उम्मेदावारी दर्ता गराएका छन्।  

मंगलबारबाट हुने निर्वाचनमा अध्यक्ष पदको लागि रुसका डा. बद्री केसी, अमेरिकाकी रविना थापा, जापानका महेशकुमार श्रेष्ठ र कतारका राजेन्द्रकुमार शर्माले उम्मेदवारी दर्ता गराएका हुन्। 

१० औं महाधिवेशनमा विवादको कारण निर्वाचन हुन नसक्दा ३ अध्यक्षको व्यवस्था गरी ६–६ महिना सञ्चालन गरे। हाल डा. केसी कार्यकारी अध्यक्ष रहेका छन् भने थापा आलंकारिक अध्यक्ष हुन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने गैरआवासीय नेपाली विश्व सम्मेलन तथा ११ औं महाधिवेशनमा अध्यक्षका दाबेदारहरु कुनै न कुनै राजनीतिक दलनिकट भए पनि टिम मिश्रित खालका रहेका छन्।

अध्यक्षमा डा. केसी र श्रेष्ठले बलियो टिमसहित प्रतिस्पर्धा गर्दै छन्। राजेन्द कुमार शर्माको आफ्नै टिम भए पनि सबै पदका दाबेदार उनीसँग छैनन्। हालकी अध्यक्ष थापाले छुट्टै टिमबिनै उम्मेदवारी दर्ता गराएकी छन्। 

११ औं महाधिवेशनमा ४ हजार २ सय प्रतिनिधिले फेसियल भेरिफिकेसनको आधारमा अनलाइनबाट वा काठमाडौंमा उपस्थित भएर मतदान गर्न पाउँछन्। मतदानको लागि काठमाडौं नै आउनुपर्ने अवस्थाको भने अन्त्य भएको छ। 

अध्यक्षका ४ उम्मेदवारः को कस्ता?
डा. बद्री केसी गैरआवासीय नेपाली संघ (एनआरएनए)को अभियानमा स्थापनाकालदेखि नै सक्रिय छन्।

१० औं महाधिवेशनमा ३ जना अध्यक्ष चयन भएकामा केसी हाल कार्यकारी अध्यक्ष रहेका छन्। एनआरएनएमा उनी कोषाध्यक्ष, महासचिव हुँदै अध्यक्ष बनेका हुन्।   

काठमाडौंको फर्पिङमा जन्मेका केसीको रुसमा विभिन्न व्यवसायसँगै नेपालका बैंक तथा वित्तीय संस्था, जलविद्युत, चिया लगायतका व्यवसायमा लगानी छ।

उनी एमालेनिकट उम्मेदवार मानिन्छन्। तर उनको साथमा बेलायत र अमेरिकामा राम्रो प्रभाव पार्ने कांग्रेसनिकट हेमराज शर्मा र गौरीराज जोशी छन्। बेलायतका हेमराज शर्मा उपाध्यक्षमा दोहोरिएका छन् भने अमेरिकाका जोशीले महासचिवमा। 

सुरुमा हेमराज शर्मा अध्यक्षमा उठ्ने तयारी गरे पनि डा. बद्री केसीलाई समर्थन गर्नकै लागि पछि हटेका छन्। केसीलाई  गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतोलगायतको समर्थन रहेको छ। 

‘व्यक्तिमा राजनीतिक आस्था केही न केही त हुन्छ तर एनआरएनए संस्था नेतृत्व गर्दा देखाउनुहुँदैन,’ केसी भन्छन्।

सत्ता गठबन्धनबाट २ वटा उम्मेदवार रहेका छन्। नेपाली कांग्रेस र माओवादीनिकटले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्। 

अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठ कांग्रेसनिकट हुन्। श्रेष्ठ गठबन्धनको साझा उम्मेदवार बन्ने प्रयासमा रहे पनि सफल हुन सकेनन्।

संघको सुरुवाती चरणदेखि नै एनआरएन अभियानमा जोडिएका उनी जापानबाट राष्ट्रिय परिषद्को संस्थापक हुँदै २०१९–०२१ मा कोषाध्यक्ष भए। हाल उपाध्यक्षको भूमिकामा छन्। 

उनले जापान र नेपालमा व्यवसाय गर्दै आएका छन्। सिटी एक्सप्रेस मनी ट्रान्सफरदेखि सूचना प्रविधि, पर्यटन, जलविद्युत तथा वित्तीय क्षेत्रमा लगानी गरेका छन्। 

उनलाई पूर्वअध्यक्ष जीवा लामिछानेको सद्धभाव रहेको छ भने हालका अध्यक्ष कुल आचार्यले समेत समर्थन गरेका छन्।

रुपन्देहीको पाँचतारे होटल टाइगर प्यालेस खरिद गरेका बुद्धिसागर लामिछाने उनको टिमबाट महासचिवमा उम्मेदवारी दर्ता गराएका छन्। 
श्रेष्ठले एनआरएनएमा समन्वयात्मक भूमिका निभाउने बताएका छन्।  

‘एनआरएनएमा अहिले मेलमिलाप, एकता र सहमति गरेरै अघि बढ्ने परिस्थिति रहेको छ,’ श्रेष्ठ भन्छन्, ‘गफ लगाउनेमा विश्वास गर्दैन, परिणाममुखी काम गर्नुपर्छ।’

बाग्लुङका राजेन्द्रकुमार शर्मा (आरके शर्मा) ११ औं अधिवेशनमा अध्यक्ष हुनका लागि विश्व भम्रण गरी फर्किएका छन्। कतारमा व्यवसाय गर्दै आएका शर्मा माओवादीनिकट हुन्। शर्माले आफू प्रधानमन्त्रीनिकट भएकाले एनआरएनएको मुद्दालाई स्थापित गर्न सहज हुने सार्वजनिक कार्यक्रममै बोल्दै आएका छन्।   

शर्माले टिमसहित प्रतिस्पर्धा गर्न उम्मेदवारी दर्ता गराएका छन्।  

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन्। उनले संघको राष्ट्रिय समन्वय परिषद्, कतारको सल्लाहकारदेखि अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य, मध्यपूर्व संयोजक र आईसीसी सचिव भएर काम गरिसकेका छन्।

११ औँ महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष रबिना थापाले सोमवबार उम्मेदवारी दर्ता गराएकी छन्। थापालाई अध्यक्ष पदकै उम्मेदवारको चर्चामा रहेका विनय अधिकारीले समर्थन गरेका छन्। तर, उनीसँग प्यानल भने छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .