नेकपा एमाले यतिबेला ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नाराका साथ पूर्वपश्चिम यात्रामा छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यही मंसिर १४ गते बैतडीको झुलाघाट सुरु एमालेको महाकाली-मेची यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ।
अहिलेसम्म एमालेको यात्रा टोली सुदूरपश्चिमका बैतडीबाट डडेल्धुरा, बझाङ, डोटी, अछाम हुँदै कर्णाली प्रवेश गरेको थियो। कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान, जाजरकोट रुकुम-पश्चिम हुँदै लुम्बिनी प्रदेशको रुकुमपूर्व पुगेको छ।
यात्राका क्रममा एमाले अध्यक्ष ओलीसहितको टोली मंसिर १८ गते सुर्खेतको वीरेन्द्रनगर हुँदै १९ गते पूर्वी सुर्खेतको गुर्भाकोट पुगेको थियो। त्यसै क्रममा गुर्भाकोट नगरपालिका–१०, भेडाबारीमा ९ वर्षीय बालक किशोर पौडेलले एमाले अध्यक्ष ओलीको हातमा एउटा सन्देश थमाए।
उक्त पत्र ओलीको सचिवालयले तत्काल फेसबुक पेजमा राख्यो।
बालकले दिएको पत्र फेसबुकमार्फत् सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले लेखका छन्, ‘हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए। मैले सोचेँ-– हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी-बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नुपर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौँ। सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ।’
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’
बालक किशोर पौडेलले एमाले अध्यक्ष ओलीलाई दिएको त्यो सन्देश पत्र समाजिक सञ्जालभरि फैलियो।
पत्रमा लेखिएका अक्षर चिटिक्क थिए। धेरैले ९ वर्षको बालकले यति राम्रा अक्षर कसरी लेख्न सक्छ भन्दै प्रश्न गरेका छन्।
पत्र बालक किशोर पौडेलले आफ्नै हातले एमाले अध्यक्ष ओलीलाई थमाएको तस्बिर र दृश्यमा देख्न सकिन्छ।
हेर्नुहोस् भिडिओः
तर, अक्षरचाहिँ कसका हुन् त? के बालकले नै लेखेका हुन् त?
यो प्रश्न हामीले उनका बुवा मेघनाथ शर्मालाई सोध्यौँ।
उनले शब्द छोराकै रहेको तर आफूले लेखिदिएकोको बताएका छन्।
नेपालखबरसँग मेघनाथले भने, ‘मेरो छोरा (किशोर) कक्षा ३ मा पढ्छ। त्यो पत्र आफैँ लेखेको हैन। तर, शब्द उसैका हुन्। नेताहरूको टोली आइहाल्यो। हतार-हतारमा बाबुले लेख्न नसकेपछि उसले भनेअनुसार मैले लेखेको थिएँ। छोरा (किशोर) आफैँले एमाले अध्यक्ष ओलीलाई दिएको हो।’
साथै मेघनाथले बाबुको भावनामा रहेन उसले (किशोर)ले देखदिनु भनेपछि आफूले लेखेको बताए। उनले भने, ‘घरमा मेरो बाबुभन्दा ठूला छोरीहरू छन्। उनीहरू अहिले जापान, कोरिया जाने भनेर भन्छन्। छोरीहरूको त्यो कुरा सुनिसकेपछि बाबुले दिदीहरू विदेश जाने भन्नुहुन्छ। मचाहिँ नेपालमै बस्ने हो भन्ने गर्थ्यो।’
उनले थपे, ‘एमालेले थालेको उक्त यात्राअन्तर्गत एमाले अध्यक्ष ओली आउने भएपछि किशोरकी आमालगायतका महिलाहरूले फूलको माला उनेर बसेका थिए। बाबुले किन उनेको भनेर सोध्यो। मैले नेताहरूलाई दिनुपर्छ भनेर बुझाएँ। बाबुले फेरि मैले के दिने त भनेर प्रश्न गर्यो। मैले त्यो सानै छस्। विदेश जान्न भन्छस्। पढ्दैछस्। नेताहरूले भोलि विदेश जाने वातावरण बनाइदिन्छन्। यसै विषयमा केही लेख भनेर भनेँ। त्यसपछि उसले म एउटा चिठी दिन्छु, हजुरले सिकाइदिनू भनेपछि उसको भावनाअनुसार सम्बोधन गरेर मैले लेखेको थिएँ।’
मेघनाथका अनुसार, उनका छोरा किशोरले बेलाबेला देश र परिवारप्रति धेरै नै माया देखाउने र भावुक कुरा गर्ने गरेका छन्।
मेघनाथको भनाइ छ, ‘किशोरले ओलीको हातमा चिठी थमाए पनि देशका सबै नेतालाई स्वदेशमै पढाइसँगै रोजगारीको सिर्जना गरी विदेश जानबाट रोक्नुपर्ने सन्देश दिएको छ।
मेघनाथ शर्मा पेसाले शिक्षकसमेत हुन्। उनी गुर्भाकोटमै रहेको एक विद्यालयमा कार्यरत छन्।
Shares
प्रतिक्रिया