राजनीति


माधव नेपालको पारा : रिस प्रचण्डसँग, गाली ओलीलाई!

माधव नेपालको पारा : रिस प्रचण्डसँग, गाली ओलीलाई!

सीताराम बराल
पुस २७, २०८० शुक्रबार २०:१३, काठमाडौँ

कुराको सुरुवात १० पुस २०७९ अघिका पुष्पकमल दाहाल (प्रचण्ड) बाट गरौँ। 

त्यो बेला (पनि) अहिलेजस्तै नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सहितको गठबन्धन थियो। आम निर्वाचन–२०७९ को परिणामबाट बहुमतनजिक रहेकाले सरकार पनि यही गठबन्धनले बनाउने निश्चितजस्तै थियो। 

तर, निर्वाचनपछिको पहिलो प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा वा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मध्ये को बन्ने भन्ने यकिन थिएन। 

सुरुमा जति अडान लिए पनि देउवा अन्तिममा पछि हट्छन् र कांग्रेस–एकीकृत समाजवादीसहितको गठबन्धनको  प्रधानमन्त्री आफैँ बन्छु भन्ने प्रचण्डको आशा थियो।  

त्यहीकारण अघिल्लो दिन (९ पुस २०७९) सम्म यदि कांग्रेस–माओवादी–एकीकृत समाजवादीसहितको गठबन्धनको निरन्तरताको वकालत सबैभन्दा बढी गर्नेमा प्रचण्ड नै पर्थे।  

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुस २०७९ अपरान्ह ५ बजेसम्मको समयावधि दिएकी थिइन्। तर, त्यस दिन १२ बजेसम्म पनि देउवा प्रधानमन्त्री पद छाड्न टसमस भएनन्।   

लगत्तै प्रचण्ड ओलीनिवास बालकोट पुगे। अघिल्लो दिनसम्म गठबन्धनको पक्षमा जोडदार वकालत गरिरहेका प्रचण्डको प्रतिबद्धता त्यसपछि कता पुग्यो कता!

ओलीले जुराइदिएको १ सय ६५ सांसदको समर्थन लिएर प्रचण्ड राष्ट्रपति कार्यालय पुगे। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि विलम्ब नगरी प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरिन्।  

भन्न के खोजिएको हो भने प्रचण्डको ‘साना दुःखले आर्ज्या’को (र जोगाएको) होइन– यसपटकको प्रधानमन्त्री पद! यो पद प्राप्त गर्न उनले कांग्रेससँगको गठबन्धन तोडेका छन्। 

दुई महिना नबित्दै ओली र एमालेलाई धोका दिएर फेरि कांग्रेससँग लहसिन पनि पुगेका छन्।

‘राजनीतिक बेइमानी’ र ‘राजनीतिक अनैतिकता’ को आरोपको मतलब पनि उनलाई यतिबेला छैन। उनका लागि मतलबको एउटै कुरा छ– प्रधानमन्त्री पदको निरन्तरता। 

प्रधानमन्त्री पदका लागि राजनीतिक–भूराजनीतिक सबै खालका मित्र फेर्न उनी तयार छन्।

यहीकारण सत्ता गठबन्धन धरापमा छ। यस कुराको संकेत एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले यसै हप्ता दुईपटक गरिसकेका छन्। 

तर, उनले प्रचण्डको साटो ओलीको नाम पोलेका छन्। 

शुक्रबार (२७ पुस) कै कुरा गरौँ।

अध्यक्ष नेपालले एकीकृत समाजवादी सम्बद्ध नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) द्वारा आयोजित कार्यक्रममा नेपालले भने, ‘पहिले हामी रहेको पार्टीका नेताले हाम्रो पार्टी र हामी सामेल भएको गठबन्धनलाई सिध्याउन खोजिरहेका छन्।’

सहजरूपमा बुझिने कुरा के हो भने ९ पुस २०७९ अघि प्रचण्ड तत्कालीन सत्ता गठबन्धनको निरन्तरताको पक्षमा थिए। किनकि, आफू त्यही गठबन्धनबाट प्रधानमन्त्री बन्छु भन्ने आशा उनलाई थियो। 

देउवाको हकमा पनि यही कुरा लागू हुन्छ। ओलीले पहिलोपटक संसद् विघटन गर्दा मौन बसेका देउवा आफू प्रधानमन्त्री बन्ने सम्भावना बढेपछि मात्र ओलीले गरेको दोस्रो विघटनको विरोधमा उत्रिएका थिए।

अहिले नेपाल र देउवा दुवै सत्ता गठबन्धनको निरन्तरताको पक्षमा छन्। किनकि, प्रचण्डपछि उनीहरू पालैपालो प्रधानमन्त्री बन्ने ‘भद्र सहमति’ राष्ट्रपति निर्वाचनका क्रममा भइसकेको छ।  

अर्थात्, पाँच वर्ष यही सत्ता गठबन्धनले निरन्तरता पाउनु भनेको ओली प्रधानमन्त्री बन्ने सम्भावना टर्नु हो। ओली गठबन्धन तोड्ने खेलमा लागेका छन् भने त्यो संसदीय राजनीतिको कोणबाट स्वाभाविक नै हो।

‘फिरफिरे’ प्रचण्डलाई नेपाल र देउवाले एमालेको साथ छुटाएर फेरि यही सत्ता गठबन्धनमा फर्काउन हुन्छ भने ओलीले पनि प्रचण्डलाई आफ्नो साथमा लैजानु किन नहुने? 

अहिलेका प्रचण्ड २०६५–६६ वा २०७३ ताकाका प्रचण्ड होइनन्। पहिलो र दोस्रो कार्यकालमा जसरी सहजै प्रधानमन्त्री पद छाड्लान् भन्ने अब कसैले नसोचे हुन्छ। तौलीतौली एमालेबाट सभामुख र कांग्रेसबाट राष्ट्रपति किन बनाइयो भन्ने कुराको विश्लेषण गरियो भने सबै कुरा प्रस्ट हुन्छ।

उनले गरेको ‘भूराजनीतिक मित्र’ हरूको फेरबदलीबाट पनि सत्ता र प्रचण्डलाई सँगै राखेर विश्लेषण गर्न सकिन्छ।

आफूलाई प्राप्त दुई वर्षे कार्यकालमध्ये एक वर्ष व्यतीत हुन भइसकेपछि उनको देउवासँग नोकझोक पर्न थालिसकेको छ। त्यसैकारण उनले ओलीसँग निकटता बढाउँदै लगेका छन्। ओली पनि अहिले प्रचण्डप्रति आक्रामक छैनन्। 

प्रचण्ड–ओलीबीच कुन हदसम्म विश्वास निर्माण भइसकेको रहेछ भन्ने १८ पुसमा यी दुईबीचको भेटवार्तामा भएको कुराकानीले प्रस्ट पार्छ।  

ओलीसँगको भेटवार्तालगत्तै भएको सत्ता गठबन्धनको बैठकमा प्रचण्डले बताएका थिए– आसन्न राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई शून्यमा नझारिदिन ओलीले आग्रह गरेका छन्। 

प्रचण्डले सत्ता गठबन्धनको बैठकमा ओलीको यस आग्रहबारे  ब्रिफिङ गरे, त्यसपछि सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा सहकार्यको मोडालिटी (अर्थात् एमालेले चाहेको सिट संख्या) माग गर्ने निर्णय गर्‍यो। 

सत्ता गठबन्धनमा भएको निर्णय प्रचण्डले नै ओलीकहाँ पुर्‍याए। ओलीले भोलिपल्टै प्रचण्डमार्फत् सत्ता गठबन्धनलाई सन्देश पठाए, ‘राष्ट्रिय सभाको आगामी निर्वाचनमा एमाले ६ सिट चाहन्छ।’    

सोमबार (२५ पुस) को एउटा कार्यक्रममा अध्यक्ष नेपालले ओलीले राखेको प्रस्तावलाई अझ विस्तारमा सार्वजनिक गरे। 

एकीकृत समाजवादी विशेष कमिटीको बैठकमा सम्बोधनका क्रममा अध्यक्ष नेपालले बताएअनुसार, राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसले ९, एमालेले ६ र माओवादी केन्द्रले ५ सिट लिने गरी तालमेल गर्ने प्रस्ताव ओलीले राखेका रहेछन्। 

प्रचण्ड त एमालेलाई ६ सिट दिने पक्षमा थिए। तर, सत्ता गठबन्धनका सहयात्री सहमत भएनन्। कांग्रेस र एकीकृत समाजवादी सहमत नभएपछि प्रचण्ड पनि चुप लाग्न बाध्य भए। 

यी दुईबीच सुमधुर सम्बन्ध विकसित नभएको नहुँदो हो त प्रचण्डमार्फत् ओलीले सत्ता गठबन्धनसँग ६–६ सिट माग गर्ने थिएनन्। प्रचण्डलाई पनि ओलीको प्रस्ताव सत्ता गठबन्धनको बैठकमा लैजाने हिम्मत हुने थिएन। 

कांग्रेस, एमाले र माओवादी केन्द्रबीच राष्ट्रिय सभामा तालमेल हुनु भनेको राजनीतिक कोर्स नयाँ ढंगले अघि बढ्नु हो। अर्काे अर्थमा अहिलेको सत्ता गठबन्धन टुट्नु हो। 

सत्ता गठबन्धन टुट्दा त्यसको सिकार देउवाका अलावा नेपाल पनि पनि बन्छन्। पहिलो र ठूलोे चोट देउवाभन्दा नेपाललाई बढी लाग्छ। 

किनकि, यो गठबन्धन कायम रहँदा अर्काे वर्ष प्रधानमन्त्री बन्ने अवसर नेपालले पाउँछन्। सत्तामा पुग्न अध्यक्ष नेपालले समाएको त्यान्द्रो भनेकै वर्तमान सत्ता गठबन्धन हो। 

प्रचण्ड भने पदको निरन्तरता चाहन्छन्– सके पाँचै वर्ष, नसके कम्तीमा एक वर्ष पद लम्ब्याउने योजनामा उनी छन्। 

सत्ता लम्ब्याउने प्रचण्डको चाहना अहिलेको गठबन्धनबाट भन्दा एमालेसँगको गठबन्धनबाट पूरा हुने सम्भावना बढी देखिन्छ। 

प्रचण्डको यो चाहनामा साथ दिँदा ओलीलाई पनि फाइदा हुन्छ। उनी पनि एक वा दुई वर्ष प्रधानमन्त्री बन्न ढोका खुल्छ।

ओली र प्रचण्डको निकटता अध्यक्ष नेपालले नजिकबाट नियालिरहेका छन्। तर, प्रचण्डलाई चिढ्याउन सक्ने स्थितिमा भने उनी छैनन्। 

आलोचना गर्दा झन् प्रचण्डलाई सत्ता गठबन्धनबाट बाहिरिने बहाना बन्छ भन्ने अध्यक्ष नेपाललाई राम्रै जानकारी छ। 

त्यसैले, देखिने र बुझिने गरी उनले ओलीप्रति नै निशाना साँधिरहेका छन्। 

तर, सम्बोधन मसिनो गरी हेर्ने हो भने अध्यक्ष नेपालको आक्रोश प्रचण्डप्रति पनि अभिव्यक्त भएको छ। ओलीप्रति संकेत गर्न ‘हामी पहिले रहेको पार्टीका नेताले हाम्रो पार्टीलाई सिध्याउन खोजिरहेका छन्’ भनेका नेपालले प्रचण्डप्रति संकेत गर्दै प्रश्न गरेका छन्, ‘हामी सामेल गठबन्धनलाई ध्वस्त बनाउन खोज्ने षडयन्त्रलाई सफल बनाउने कुरा कसरी क्रान्तिकारी हुन सक्छ?’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .