ad ad

राजनीति


सिटौलाको राजनीतिक ‘रेस्क्यु’

सिटौलाको राजनीतिक ‘रेस्क्यु’

उजिर कार्की
माघ ११, २०८० बिहिबार १९:८, काठमाडौँ

लगातार दुई पटक तल्लो सदनको चुनावमा झापा क्षेत्र नम्बर ३ बाट पराजित भएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला अब माथिल्लो सदनमा पुगेका छन्। २०७४ र २०७९ को निर्वाचनमा उनी राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए। तर यसपटक राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसले उनै सिटौलालाई उम्मेदवार बनायो। 

यसपटक पनि उनको प्रतिस्पर्धी भने राप्रपा नै थियो। यसअघिका निर्वाचनमा जस्तै उनीविरुद्ध राप्रपा र एमाले एक भए। तर सत्ता गठबन्धनको साथ पाएका सिटौलालाई माथिल्लो सदनमा रोक्ने राप्रपा र एमालेको प्रयास सफल भएन।

सिटौलाले राप्रपाका उद्धव पौडेललाई ७३० मतान्तरले पछि पारे। प्रदेश सभातर्फ पछि परेका सिटौलालाई स्थानीय तहबाट बढी मत आएको थियो। प्रदेश सभातर्फ सिटौलाले २,३८५ मतभार पाउँदा पौडेलले २,४९१ मतभार पाए। स्थानीय तहतर्फ सिटौलाले २,९०७ र पौडेलले २,०७१ मतभार पाए। 

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र कृष्णप्रसाद सिटौला सशस्त्र युद्धरत माओवादीका शीर्षनेताहरू पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई काठमाडौं भित्र्याएसँगै चर्चामा आएका पात्र हुन्।

त्यतिबेलाको राजनीतिक संक्रमणमा खेलेको भूमिकाका कारण सधैँ उनी चर्चामा रहिरहे। तत्कालीन सात दल र माओवादीबीच सहकार्यको जग बनेको १२ बुँदे सम्झौताका साक्षी सिटौला गणतन्त्रवादी नेताका रुपमा चिनिए। तर, गणतन्त्रवादी भनिने दलहरूले नै पटकपटक राजावादी पार्टीसँग गठबन्धन गर्दा उनले चुनाव हारे।

सिटौलाको संसदीय राजनीति समग्रमा उत्तारचढावपूर्ण रह्यो। पछिल्ला दुई चुनावमा झापा क्षेत्र नं ३ बाट पराजित हुँदा संसदको यात्रा टाढिँदै थियो। झापाबाटै संसदको अनिश्चित यात्रा तय गर्न अझै ४ वर्ष कुर्नुपर्ने भएपछि सिटौलाले बाटो बदले।  

२०६३ पछि सधैँ सत्ताबाहिरै रहेका उनी पार्टीको नेतृत्वमा पुग्न पनि असफल भए। अन्ततः राष्ट्रिय सभाबाट संसद र सत्तामा पुग्ने बाटो सफल भयो।

सिटौलाका उतारचढाव
तेह्रथुमको संक्रान्तिमा जन्मिएका सिटौला २०३३ सालबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भए। झापाबाट राजनीति थालेका सिटौलाको संसदीय राजनीति भने पराजयबाटै सुरु भएको थियो। २०४८ सालको निर्वाचनमा झापा क्षेत्र नं १ बाट संसदको उम्मेदवार बने। 

चुनावी सरकारका प्रधानमन्त्री थिए कृष्णप्रसाद भट्टराई। प्रधानमन्त्री भट्टराईले पनि चुनाव जितेनन्। तर, निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्यायो। 

तर भट्टराईकै जस्तो नतिजा सिटौलाले पनि हार ब्यहोर्नु पर्यो। नेकपा एमालेका द्रोणप्रसाद आचार्यसँग झापामा पराजित भए। 

चुनावपछि प्रधानमन्त्री बने गिरिजाप्रसाद कोइराला। 

उता सिटौलालाई पराजित गरेका द्रोणप्रसाद आचार्यको कार्यकाल पूरा नहुँदै निधन भयो। २ वर्षपछि २०५० सालमा उपनिर्वाचन गराइयो। कांग्रेसबाट पुनः सिटौलाले नै टिकट पाए। यसपालि भने उनले एमाले उम्मेदवार लीला उदासी खनाललाई पराजित गर्दै पहिलो पटक संसदको यात्रा तय गरे। 

उनको पहिलो संसदीय यात्रा लामो भने रहेन। पार्टीभित्रैका दुई नेता गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको द्वन्द्वको सिकार संसद् बन्यो। २०५१ सालमा आफ्नै सरकारले ल्याएको नीति तथा कार्यक्रममा मतदान हुँदा कांग्रेसका ३६ सांसद गयल भएपछि गिरिजाले संसद् विघटन गरिदिए र मध्यावधि चुनावको घोषणा गरे। 

२०५१ कात्तिक २९ गते मध्यावधि निर्वाचन सम्पन्न भयो। कृष्णप्रसाद सिटौला झापा १ बाटै उम्मेदवार थिए। तर यसपटक उनी एमालेका पुष्पराज पोखरेलसँग एक हजार मतान्तरले पराजित भए। यो चुनावबाट ठूलो दल बन्यो एमाले। सरकार पनि उसैले बनायो। त्यसपछि सिटौला ५ वर्ष संसदबाहिरै रहनु पर्यो। 

पार्टीमा भने गिरिजाप्रसाद कोइराला झन्झन् शक्तिशाली बन्दै गए। कोइरालाको निकट रहेका गोविन्दराज जोशीको विश्वासपात्र मानिन्थे सिटौला। जसले झापामा टिकट पाउन उनलाई समस्या भएन। २०५६ सालको निर्वाचनमा पनि उनले चौथो पटक टिकट लगे। यसपटक भने उनले एमालेका नारायण राजवंशीलाई २ हजार बढी मतान्तरले जिते। 

अहिले सिटौलालाई हराउन राजावादी राप्रपालाई साथ दिइरहेका एमाले अध्यक्ष केपी ओलीले त्यसबेला सिटौलासँगै साँठगाँठ गरेको आरोप खेप्नु पर्यो। त्यो चुनावमा ओली पनि झापाका दुई क्षेत्रबाट निर्वाचित भएका थिए। 

२०५७ सालमा सिटौला पहिलो पटक सरकारमा पुगे। मन्त्रिमण्डल हेरफेर गर्दै गिरिजाले सिटौलालाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाए पनि यो सरकार लामो समय टिकेन। तर यो सिटौलाका लागि गिरिजासँग निकटता बढाउने अवसर बन्यो। 

२०६२/२०६३ मा माओवादीसँग वार्ता गर्ने जिम्मा गिरिजाले सिटाैलालाई नै दिएका थिए। प्रधानमन्त्री कोइरालाका दूत बनेर उनले खेलेको भूमिकाकै कारण २०६२/०६३ पछि बनेको सरकारमा सिटौला गृहमन्त्री बने। माओवादीसँग वार्ता गर्ने सरकारी वार्ता टोलीको संयोजक पनि उनैलाई बनाइएको थियो। 

वार्ता टोलीको संयोजक भएपछि कास्कीको सिक्लेस पुगेर उनले माओवादी अध्यक्ष प्रचण्डसहितको टोलीसँग वार्ता गरेका थिए। जुन वार्तापछि माओवादी शान्ति प्रक्रियामा आउन सहमत भयो र सिटौला प्रचण्ड–बाबुरामलाई हेलिकप्टरमा लिएर काठमाडौँ फर्किए। २०६३ असार ३ गते माओवादी नेताहरु बालुवाटारमा सार्वजनिक भएका थिए। 

अर्को वर्ष संविधान सभाको निर्वाचन घोषणा भयो। गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा माओवादी पनि सरकारमा सामेल भयो। जुन सरकारको गृहमन्त्री सिटौला छँदै थिए। २०६४ सालको संविधान सभा निर्वाचनमा दलहरुले गठबन्धन गरेका थिएनन्। 

सिटौला झापाबाटै उम्मेदवार बने। तर बहालवाला गृहमन्त्री सिटौला माओवादीका पूर्णप्रसाद राजवंशीसँग पराजित भए। यो पराजयले सिटौलाको राजनीतिक रफ्तारमा ब्रेक लाग्यो। सिटौलाको भूमिका साँघुरिँदै गयो। 

२०६७ असोजमा भएको कांग्रेसको १२ औँ महाधिवेशनमा सिटौला सुशील कोइरालाको पक्षमा खुलेर लागे। सुशील सभापतिमा निर्वाचित भएपछि सिटौलालाई महामन्त्रीमा मनोनित गरेका थिए। 

२०७० सालको दोस्रो संविधान सभामा उनी झापाबाट निर्वाचित भए। संविधान सभाबाट संविधान जारी गर्नुपर्छ भन्ने उनले लिएको अडानका कारण पनि उनी चर्चामा रहे। सधैँ भारतपरस्त आरोप खेप्दै आएका उनले लिएको अडानले थुप्रै चकित परे।

यता पार्टीमा पनि सिटौला आफैँ नेतृत्वमा तम्सिए। २०७२ फागुनमा भएको १३ औँ महाधिवेशनमा सिटौलाले सबैभन्दा पहिले सभापतिमा उम्मेदवारी घोषणा गरे। यसअघि सिटौला रहेकै संस्थापनबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल उम्मेदवार बन्दा शेरबहादुर देउवा अर्का उम्मेदवार थिए। 

तर तीन उम्मेदवार हुँदा पहिलो चरणमा निर्णय हुन सकेन। दोस्रो चरणको निर्वाचनमा सिटौलाले तत्कालीन संस्थापन समूह छाडेर शेरबहादुर देउवालाई साथ दिए। उनकै साथका कारण देउवा सभापतिमा निर्वाचित भए। 

पार्टीमा जिम्मेवारीबाट टाढिएका सिटौला २०७४ सालको निर्वाचनमा झापाबाट राजेन्द्र लिङ्देनसँग पराजित भए। लिङ्देनलाई माओवादी र एमालेको साथ थियो। 

संसदीय राजनीतिमा मात्रै होइन, सिटौलाले पछिल्लो पटक पार्टीमा पनि आफ्ना सारथी गुमाउँदै थिए। १३ औँ महाधिवेशनमा उनको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापाले पनि १४ औँ महाधिवेशनमा समूह बदले। 

सिटौला समूह छाडेर गगन शेखर कोइरालाको समूहबाट महामन्त्रीमा उठे। सिटौलाले प्रदीप पौडेललाई देउवाको टिमबाट महामन्त्रीमा अघि सारे। तर देउवा भारी मतान्तरले निर्वाचित हुँदा पौडेल भने पराजित भए। 

अघिल्लो पटक सभापतिमा उठेका सिटौला यसपटक मनोनित केन्द्रीय सदस्य मात्रै हुन्। गएको निर्वाचनमा झापाबाट लगातार दोस्रो हार बेहोर्नुअघि उनले आफ्नो अन्तिम चुनाव भएको बताएका थिए। 

चुनावको हारपछि पनि उनले राष्ट्रपति बन्ने आकांक्षा देखाएका थिए। कांग्रेसले राजनीतिक उत्तारचढावकाबीच अन्तिममा राष्ट्रपतिमा बाजी मारेको थियो। जसमा देउवाले सभापतिमा आफूलाई गुन लगाएका रामचन्द्र पौडेललाई अघि बढाए। 

तर आफैँले अन्तिम भनेको चुनावमा पनि पराजित भएपछि सिटौलाले संसद् पुग्न राष्ट्रिय सभाको सहारा लिनु पर्यो। 

राष्ट्रिय सभामा उनले उम्मेदवारी दिने चाहना देखाएपछि पार्टीभित्र र बाहिर पनि उनको चर्को आलोचना भएको थियो। उनलाई हराउन पार्टीभित्रैबाट अन्तर्घात हुने आशंका पनि गरिएका थिए।

बिहीबारको चुनावमा त्यस्तो संकेत देखियो पनि। सिटौलाले आफ्ना सबै मतदाताको मत पाएनन्। तैपनि उनले चुनाव भने जितेका छन्। 

यो विजयले राजनीतिक रुपमा सिटौलाको उद्धार गरेको छ। संविधान सभापछिका दुवै चुनाव र पार्टीमा पनि पराजय ब्यहोरेर राजनीतिमा ओझेल पर्न थालेका सिटौला राष्ट्रिय सभामा अवतरण गर्न सफल भएका छन्।

उनले राष्ट्रिय सभा अध्यक्षमा आकांक्षा देखाएका छन्। फागुन २८ गते रिक्त हुने राष्ट्रिय सभा अध्यक्ष पदमा गठबन्धनले सिटौलालाई अगाडि बढाउने सम्भावना पनि बलियो छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .