राजनीति


माधव नेपाललाई रोक्ने ओलीको संकेत, लाभ प्रचण्डलाई पुग्ला त?

माधव नेपाललाई रोक्ने ओलीको संकेत, लाभ प्रचण्डलाई पुग्ला त?

सीताराम बराल
माघ २२, २०८० सोमबार १९:३६, काठमाडौँ

आम निर्वाचन–२०७९ पछि पनि आफै प्रधानमन्त्रीमा दोहोरिन शेरबहादुर देउवाले ढिपी नछाडेपछि पुष्पकमल दाहाल (प्रचण्ड) ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर प्रधानमन्त्रीको कुर्सी चप्काएका थिए।

प्रचण्ड अहिले कांग्रेसलगायतका दलको समर्थनमा प्रधानमन्त्री छन्। 

यदि गठबन्धनमा भएको भनिएको सहमति साँचो हो भने प्रचण्डले अर्को वर्ष प्रधानमन्त्री पद एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सुम्पनुपर्ने हुन्छ। एक वर्ष प्रधानमन्त्रीको कुर्सीमा रहेपछि नेपालले सरकारको नेतृत्व शेरबहादुर देउवालाई सुम्पने समझदारी छ भनिन्छ। 

तर, अहिलेका प्रचण्ड विसं २०६६ र २०७४ का जस्ता होइनन्, जसले सहजरूपमा प्रधानमन्त्री पद छाडेर ‘राजनीतिक इमान’ को दोस्रो संस्करण देखाउनेछन्।

अब त उनी विहारका मुख्यमन्त्री नीतिश कुमारको ‘नेपाली मोडल’ मा रुपान्तरित भइसकेका छन्, जो सत्तास्वार्थका लागि जुनकुनै बेला गठबन्धन परिवर्तन गर्न हिच्किचाउँदैनन्। 

२०७९ को पुस १० (प्रधानमन्त्री चयन), माघ ५ (सभामुख निर्वाचन) र फागुन २५ (राष्ट्रपति निर्वाचन) मा प्रचण्डको यो रूप देखिइसकेको छ।

आफूबाट पनि गत साल धोकाधडी भएकाले प्रचण्डबाट धोकाधडी हुँदा देउवा त चुप लागेर बस्लान्। माधव नेपालचाहिँ त्यसरी चुप लागेर बस्न सक्ने पात्र होइनन्। 

जसले जेसुकै ठानोस्, सार्वजनिक समारोहमै भनाभनमा ओर्लनुसमेत माधव नेपालका लागि ठूलो कुरा हुँदैन। यत्ति गर्न उनी प्रचण्डसँग पनि हच्किँदैनन्।   

कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले त मुखै फोरेर ‘प्रचण्डले सहजै प्रधानमन्त्री छाड्दैनन्’ भनेर ठोकुवा गरिसकेका छन्।  

भद्र सहमतिअनुसार प्रचण्डले नेपाललाई सत्ता सुम्पन्न अझै ११ महिना बाँकी छ। बुझ्न कठिन छैन, प्रचण्डबाट धोकाको सम्भावना आँकलन गरेर कांग्रेस नेताहरूले माधव नेपालको नाम लिन थालेका हुन्। 

संसदको अंकगणितका कारण प्रधानमन्त्री पद यति ‘गह्रौं माछो’ बनेको छ कि एकैचोटि प्रचण्डको डोकोबाट आफ्नो डोकोसम्म ल्याउन निकै कठिन हुने कांग्रेस नेताहरूले देखेका छन्।  

त्यसैले, त्यस माछालाई प्रचण्डको डोकोबाट माधव नेपालको डोकोसम्म पुर्याउने र त्यसपछि आफ्नो डोकोसम्म लैजान सहज हुने हिसाबकिताब कांग्रेस नेताहरूले गरेका छन्। सपाटरूपमा हेर्दा यो हिसाबकिताब सही पनि हो। 

तर, खेल सहज छैन, जो कांग्रेस नेताहरूले पनि बुझेका छन्। 

रोचक पक्षचाहिँ के हो भने, यो खेल उनीहरूले आँकलन गरेभन्दा पनि कठिन छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको २० माघको अभिव्यक्तिले यसको संकेत गरिसकेको छ। 

एमाले संसदीय दलको बैठकमा त्यस दिन ओलीले ‘कांग्रेसका नेताहरूले स्वतन्त्र सांसदलाई प्रधानमन्त्री बनाउन खोजेको’ भन्दै कांग्रेसप्रति आक्रोश र नेपालप्रति व्यंग्य कसे।

सत्ता–भागबण्डाका लागि स्वतन्त्र हैसियतका सांसदलाई प्रधानमन्त्री बनाउन लागेको भन्दै एकातिर कांग्रेसप्रति आक्रोश पोखेका थिए।

अर्कोतिर, ‘स्वतन्त्र सांसद’ शब्दावलीको प्रयोग नेपालमाथि ओलीको व्यंग्य पनि थियो। अझ यो त नेपाललाई ‘पार्टीविहीन सांसद’ भनेर गरिएको हेपाहा टिप्पणी पनि थियो। किनभने, नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई राष्ट्रिय मान्यताविहीन र जनमतविहीन भन्न खोजेका थिए, ओलीले।

अझ ओलीले योभन्दा पनि स्पष्ट संकेत के गरेका छन् भने ‘स्वतन्त्र सांसद’लाई प्रधानमन्त्री बनाउन खोजिएको भनेर कांग्रेसप्रतिको आक्रोशभित्र नेपाललाई प्रधानमन्त्री बन्न नदिनु अबको उनको प्रयास हुनेछ।

रोचक के भने ओलीको यो अभिव्यक्ति सत्ता लम्ब्याउने प्रचण्डको चाहनाअनुकूल छ।   

प्रधानमन्त्री पद लम्ब्याउने प्रचण्डको चाहना र नेपाललाई प्रधानमन्त्री बन्न नदिने ओलीको योजना अब एकअर्काका परिपूरक बन्न सक्छन्। मिल्दा दुवैका चाहना–योजना सहजै पूरा हुन्छन्।  

जस्तो कि, ओलीको समर्थन पाउँदा प्रचण्डको प्रधानमन्त्री पद ‘२ प्लस १’ वर्ष लम्बिन सक्छ। ओलीले नै उनलाई गत साल प्रधानमन्त्री बनाएका हुन्। फेरि पनि ओली लागे भने एमाले, रास्वपा र राप्रपाको समर्थन जुटाइदिन सक्छन्। यति भएपछि प्रचण्डको सत्ता सुरक्षित पनि हुन्छ।   

यसो गर्दा ओलीलाई पनि लाभै हुन्छ। राजनीतिमा पनि ‘एउटा तीरले दुई शिकार गर्ने’ उखान छ। ओलीले त एक तीरले तीन शिकार गर्न सक्छन्। जस्तो– 

एक, एमाले विभाजनमार्फत् आफूलाई हटाउन निर्णायक भूमिका खेलेका माधव नेपाललाई प्रधानमन्त्री बन्नबाट रोक्न सक्छन्। 

दुई, गत निर्वाचनमा जस्तै आगामी निर्वाचनमा पनि एमालेको विजयको बाधक बन्ने वर्तमान सत्ता गठबन्धनमा फाटो सिर्जना हुन्छ। 

तीन, सत्ता गठबन्धनका कारण असम्भवजस्तै बनिरहेको प्रधानमन्त्री पद प्राप्तिको उनी नजिक पुग्छन्।

हो, प्रचण्डपछि दुई वर्ष प्रधानमन्त्री बनेर उनले कुनै कायापलट गर्छन् भन्ने होइन। तर, चुनावी सरकारको नेतृत्व गर्ने र आफैले गराएको चुनावमा पार्टीलाई बहुमत दिलाउने उनको उत्कट चाहना हुन सक्छ।  

‘नेकपा’ मा छँदा प्रचण्डलाई ओलीले जस्तो तुच्छ व्यवहार गरे, तिनै ओलीको समर्थनमा गत वर्ष प्रधानमन्त्री बनेपछि त्यसको हिसाबकिताब चुक्ता भइसकेको छ। त्यही कारण प्रचण्ड पनि प्रधानमन्त्री बनेयता ओलीप्रति नरम छन्।

कांग्रेसको गुटगत प्रतिस्पर्धाले पनि ओली–प्रचण्ड निकटतामा भूमिका खेलिरहेको छ। 

डा. शेखर कोइराला देउवालाई कसैगरी कमजोर बनाउन चाहन्छन्। देउवालाई कमजोर पार्ने एउटा उपाय सत्ता गठबन्धनमा विभाजन र देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्ने हो। गठबन्धनलाई कमजोर पार्न डा. कोइराला पक्षले सके र मिलेजति काम गरिरहेको छ। 

गठबन्धनलाई कमजोर बनाउने उत्तम उपाय माओवादीलाई बिच्क्याइदिने हो। 

यो काममा कोइराला पक्षले धेरै हदसम्म सफलता प्राप्त गरिसकेको छ। ११ माघमा उसले राष्ट्रिय सभा निर्वाचनमा कोसीमा माओवादी उम्मेदवार चम्पा कार्कीलाई पराजित गराइदिएको छ। सत्ता गठबन्धनमा माओवादीले पाउने निर्णय भएको कोसीको मुख्यमन्त्री पद एमालेको समर्थनमा आफूले लिइदिएको छ।

बाँकी कामचाहिँ जारी ‘समुदायमा कांग्रेस’ अभियानका क्रममा ‘अब कांग्रेस माओवादीसँग गठबन्धन गर्दैन’ भन्ने सार्वजनिक सन्देश दिएर डा. कोइराला पक्षीय नेताहरूले सम्पन्न गर्दै छन्। 

अस्ति भर्खर हारको चोट, अब सार्वजनिक रूपमा ‘अर्काे चुनावमा तिमीहरूसँग गठबन्धन गर्दैनौँ’ भन्दै चोटमाथि नुनचुक! 

घाउ र नुनचुकले माओवादी भाउन्निएकाले प्रचण्डले सत्ता नछाड्लान् भनेर कांग्रेसका नेताहरूले माधव नेपालको अस्त्र प्रयोग गरेका छन्।

तर, त्यही अस्त्रमाथि नै धाबा बोलेर ओलीले नयाँ गठबन्धनको प्रारम्भिक आधार तयार पारिदिएका छन्। 

‘रात रहे अग्राख पलाउँछ’ भन्छन्। यहाँ त ११ महिना बाँकी छ। ओली गोलको प्रयासमा छन्। सम्भव छ– यसपटक पास प्रचण्डले नै दिन सक्छन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .