ad ad

राजनीति


सत्तापक्षका सांसदले प्रतिपक्षलाई ‘गणपूरक संख्या नपुर्‍याउन’ बैठक छाडेको आरोप लगाएपछि...

सत्तापक्षका सांसदले प्रतिपक्षलाई ‘गणपूरक संख्या नपुर्‍याउन’ बैठक छाडेको आरोप लगाएपछि...

रुपक चौलागाईं
फागुन ११, २०८० शुक्रबार १४:४४, काठमाडौँ

विपक्षी दलहरूको अवरोधका कारण शुक्रबार बोलाइएको प्रतिनिधि सभा बैठक सभामुखले स्थगित गर्नुपर्‍यो। नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले बोल्ने क्रममा प्रयोग गरेको शब्दको कारण प्रतिपक्षीहरू आक्रोशित भएका थिए। 

सभामुख घिमिरेले बैठक अघि बढाउने कोसिस गरे। तर, विपक्षी सांसदहरुलाई मनाउन सकेनन्। र, १५ मिनेटका लागि बैठक स्थगित भयो। 

सांसद केसीले बिहीबारको बैठकमा प्रतिपक्षी दलका सांसदले अनौठो नाटक मञ्चन गरेको आरोप लगाएका थिए। बिहीबारको बैठकमा प्रस्तुत भएको राजनीतिक दलसम्बन्धी विधेयक गणपूरक संख्या नहुँदा अघि बढ्न सकेको थिएन। 

२७५ सदस्यीय सांसद रहेको प्रतिनिधि सभामा ६५ सांसद मात्रै देखिएपछि सभामुखले बैठक स्थगित गरेर आजका लागि तोकेका थिए। 

‘हिजो राजनीतिक दलसम्बन्धी विधेयक पेस गर्ने बेलामा प्रतिपक्षीको एउटा अनौठो नाटक मञ्चन देखियो। यहाँ गणपुरक संख्या पुग्छ कि भनेर प्रतिपक्षका १०/१५ जना सांसद बाहिर जानुभयो,’ उनले भने, ‘यो केवल सत्तापक्षको मात्रैै विधेयक पास गर्ने हो कि प्रतिपक्षीको मात्रै?’

उनले यति बोल्नासाथ प्रतिपक्षी दलका सांसदहरू आक्रमक भए। विपक्षी सांसद उठेर विरोध गर्न थालेपछि सभामुख घिमिरेले बस्न आग्रह गरेका थिए।

उनको आरोपले विपक्षी सांसदहरु भड्किए। एमाले, राप्रपा र रास्वपाका सांसदहरू विरोध गरिरहेका थिए। 

‘यहाँहरू बोलेको केही सुनिएको छैन। रेकर्ड पनि भएको छैन। आसन ग्रहण गरौँ मैले यहाँबाट म्यानेज गर्छु,’ सभामुखको आग्रह थियो।

सभामुख घिमिरेले सांसद केसीलाई फेरि बोल्न समय दिए। 

उनले विपक्षीले उठाएको विषयमा थप प्रष्टीकरण दिँदै भने, ‘नेपाली कांग्रेसको महासमिति भएको कुरा प्रतिपक्षीका साथीहरूलाई पनि थाहा थियो। हाम्रो संख्या कम थियो। तैपनि हामी बसिरहेका थियौँ। मेरो आँखाले प्रत्यक्ष देखेको कारणले यहाँ कुरा उठाएको थिएँ। कुनै झुटो कुरा गरेको छैन।’

सांसद केसीले ठोकुवा गर्दै थपे, ‘प्रतिपक्षीबाट जानाजान विधेयक असफल पार्ने प्रयत्न भएको छ।’

उनले यति बोलिसकेपछि प्रतिपक्षी सांसदहरू झनै आक्रामक भए। 

सभामुख घिमिरेले एमाले सांसद पदम गिरीलाई बोल्नका लागि समय दिए। उनले सुशासनको विषयमा आवाज उठाएको संसदलाई रोक्न आफूहरूले नचाहेको स्पष्ट पारे। 

‘प्रतिपक्षीमाथि हिलो छ्याप्ने, भ्रम छर्नेगरी जुन खालको व्यवहार गरिँदैछ त्यसप्रति हाम्रो आपत्ति छ,’ गिरीले अघि भने, ‘प्रतिपक्षको कारणले कहाँनिर संसद्मा विधेयक पेस गर्न बाधा पुग्यो?’

उनले संसदका बहुमत सदस्यको विश्वास छ भने पेस गरेको विधेयक पास गर्न सक्नुपर्ने उनको तर्क थियो। 

लगत्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठलाई सभामुख घिमिरेले बोल्न समय दिए। ‘संसद् चल्ने भनेको सत्तापक्षको बहुमतले हो। उहाँहरूले विधेयक ल्याएपछि त्यो चलाउने दायित्व पनि उहाँहरूकै हो। गठबन्धनमा प्वाल परेको हो?’ उनले प्रश्न गरे।

उनले संसद् सचिवालयले उपलब्ध गराएको क्यालेन्डर पनि नहेरेको भन्दै आपत्ति जनाए। ‘संसद् चलेन भनेर हामीलाई आरोप लगाउन पाइन्छ?’ उनले भने, ‘सत्ता गठबन्धनले सार्वभौम संसदसँग क्षमा माग्नुपर्छ।’

त्यसपछि सभामुख घिमिरेले राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई बोल्न समय दिए। ‘क्यालेन्डर लागू गरिएको छ, तपाईंहरू चाहिँ पार्टीको कार्यक्रम भनेर त्यहीँ रुमलिने, संसदमा नआउने? अनि आरोप चाहिँ हामीलाई लाउने? यस्तो मिल्छ?’ उनले भने। 

अनि चल्यो संसद्
त्यसपछि सभामुख घिमिरेले बैठक सञ्चालन गरे। उनले नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधलाई बोल्न समय दिए। 

उनले सभामुख घिमिरेकै कार्यशैलीमाथि पनि प्रश्न उठाए। 

‘यो संक्षिप्त भनेको कति समय हो? मलाई मन लागुन्जेल बोल्न पाउने हो? सभामुखको तजबिजमा वा तपाईंलाई आनन्द आएका कुरामा मात्रै बोल्न पाइने हो?’ सभामुखलाई लक्षित गर्दै उनले भने।

साथै, उनले सांसद केसीको भनाइमाथि नियमापत्ति भए सोही अनुसार गर्नुपर्ने बताए। 

‘सभामुखले त्यहाँबाट रूलिङ गरेर संक्षिप्तमा बोल्नुस् भनेर हजुरले आदेश गर्नुभएको हो,’ सांसद सापकोटाले भने, ‘प्रमुख प्रतिपक्ष नउठ्दै तपाईंले कुन नियमावलीमा टेकेर यो रूलिङ गर्नुभयो र हामीले कुन मनोबलका साथ सदनमा बहस गर्ने? आजको घटनाक्रम निकै संवेदनशील छ। यसलाई गम्भीरतापूर्वक लिऔँ।’

रोकिएन विरोध
सापकोटाले बोलिसकेपछि स्वतन्त्र सांसद प्रभु शाहलाई सभामुख घिमिरेले बोल्न समय दिए। उनले आफ्नो कुरा राखेपछि कांग्रेस सांसद राजेन्द्र बजगाईंलाई बोल्न समय दिइयो। 

उनले मिटरब्याज पीडित, सहकारी पीडित, ललिता निवास, चाँदबाग विद्यालयको छानबिन समिति लगायतका विषयमा आफ्ना कुरा राखे। 

उनले आफ्नो कुरा राखेपछि फेरि एमाले सांसदले विरोध सुरु गरे। 

सभामुख घिमिरेले आरोप–प्रत्यारोप रोक्न आग्रह गरे। ‘यहाँ विधि अन्तर्गत बहस छलफल गर्न सकिन्छ, प्रतिशोधको हिसाबले सभालाई ठिक ढंगले चल्ने कुरामा अवरोध पुर्‍याएर हाम्रो गरिमालाई जोगाउन सकिँदैन,’ उनले भने।

उनले सभा सञ्चालनमा सबै ठाउँबाट जिम्मेवार बन्न आग्रह गरे। 

तर, प्रतिपक्षी सांसदहरूले आफ्नो विरोध छाडेनन्। प्रतिपक्षी दलको निरन्तर अवरोधपछि बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी सभामुख घिमिरेले गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .