ad ad

राजनीति


रास्वपाको टोलीलाई इलाम २ का मतदाताले भने : पहिले उम्मेदवार टुंगो गरेर आउनू

केन्द्रीय समितिमा सर्भेक्षण रिपोर्ट बुझाइँदै
रास्वपाको टोलीलाई इलाम २ का मतदाताले  भने : पहिले उम्मेदवार टुंगो गरेर आउनू

इलाममा खटिएका रास्वपाका सांसदहरू।


रुपक चौलागाईं
फागुन २०, २०८० आइतबार १३:५२, काठमाडौँ

आगामी वैशाख १५ गतेका लागि उपनिर्वाचन तय भएपछि चर्चा छ, इलाम क्षेत्र नम्बर २। 

२०७९ को निर्वाचनबाट विजयी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनसँगै खाली भएको इलाम २ मा उपनिर्वाचन हुँदैछ।

आयोगले उपनिर्वाचन मिति घोषणासँगै राजनीतिक दलहरू अहिले इलामकेन्द्रित भएका छन्।

उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाममा नेताहरू खटाइसकेको छ। 

उपनिर्वाचन कमाण्डरका रुपमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन क्षेत्र पठाइएको छ। उनीसँगै पार्टीका अर्का सदस्य अशोककुमार चौधरी पनि इलाम पुगेका छन्।

निर्वाचन तीन महिना बाँकी हुँदा रास्वपाले उम्मेदवार तय नगरी मतदातासँग भेट गर्ने भन्दै संघीय सांसदहरुलाई त्यहाँका पालिकाहरूमा पठाएको छ। 

उक्त निर्वाचन क्षेत्रमा पर्ने ६ वटा पालिकामा ६ जना सांसदलाई पठाएर रास्वपाले मतदाताको चाहनाबारे सर्भेक्षण गरेको छ। 

हिजो (शनिबार) इलामका ६ पालिकामा पुगेका सांसदहरूले यसलाई ‘जनसाक्षात्कारका लागि स्थलगत भ्रमण’ भनेका छन्। 

शनिबार इलामका ६ पालिकामा मतदातासँग साक्षात्कार गरेको यो टोली आइतबार काठमाडौँ फर्किँर्दैछ। 

रास्वपाले इलाम नगरपालिकामा सोविता गौतम, देउमाई नगरपालिकामा गणेश पराजुली, माई नगरपालिकामा मनिष झा, चुलाचुली गाउँपालिकामा अशोक चौधरी, माङ्सेबुङ गाउँपालिकामा हरि ढकाल खटाएको छ। उता फाकफोकथुम गाउँपालिकामा अशिम शाहलाई खटाएको छ। 

निर्वाचन क्षेत्रका मतदातासँग साक्षात्कार गरेर फर्किएका सांसद गणेश पराजुलीका अनुसार रास्वपाले पठाउने उम्मेदवारबारे सर्वाधिक चासो छ। 

‘इलामे जनताको एउटै कुरा छ, हाम्रो माटो भावना बुझ्ने र सदनमा आफ्नो आवाज परिपक्व भएर प्रस्तुत गर्नसक्ने राम्रो पात्र उठाउनुपर्‍यो भन्नुभएको छ,’ पराजुलीले नेपालखबरसँग भने। 

चाँडोभन्दा चाँडो पार्टी केन्द्रबाट उम्मेदवारबारे टुंगो लगाएर पठाए प्रचार–प्रसारमा खटिने त्यहाँ अधिकांश कार्यकर्तासहित शुभेच्छुकले धारणा राखेको उनले बताए। 

‘रास्वपाले पठाएको मान्छे भूगोल बुझेको, जनताले चिनेको र इलामबासीको भावना बुझेको हुनुपर्छ, हामीले जनताबाट पनि त्यही पाएका छौँ,’ पराजुलीले थपे।

त्यस्तै, इलाम नगरपालिकालाई कार्यक्षेत्र बनाएर मतदातासँग साक्षात्कार गरेकी अर्की सांसद सोविता गौतम पनि उम्मेदवारबारे धेरै चासो राखेको बताउँछिन्। 

इलामबाट फर्किँदै गर्दा बाटोबाटै भएको फोन सम्वादमा उनले भनिन्, ‘प्रारम्भिक मत सर्भेक्षण गरिएको छ। इलामका मतदाताको भावना बुझ्ने प्रयास गरेका छौँ, धेरैले रास्वपाको पात्र को हो भन्ने चासो राख्नु भएको छ।’

उनले थपिन्, ‘रास्वपाबाट कस्तो उम्मेदवार आउँछ भन्नेमा धेरै फोकस हुनु भएको छ। सबैले रास्वपा पर्खिरहेको अवस्थामा पायौँ। उत्साहित भएर फर्किँदै छौं।’

इलाममा जातीय बहस धेरै भए पनि अहिले त्यस्तो नपाइएको उनले सुनाइन्।

‘यहाँ जातीयभन्दा पनि सचेत भोटरहरू बढेको पाइयो, धेरैमा पुराना दलभन्दा नयाँ अनुहार को हुन्छ भन्ने चासो बढी छ,’ उनले भनिन्, ‘भोटरहरू सचेत छन्, पहिचानवादीको मुद्दा भन्दा राम्रो मान्छे खोजेको पायौँ।’

सर्भेक्षणबारे जानकारी गराउने
इलामका ६ वटा पालिकामा निर्वाचनबारे बुझेर आएका सांसदहरूले तत्काल केन्द्रीय समितिलाई जानकारी गराउने छन्। 

‘जनताबाट पनि चाँडोभन्दा चाँडो उम्मेदवार पठाइदिए हुन्थ्यो भन्ने छ,’ सांसद पराजुलीले भने, ‘हामीले त्यहाँको रिपोर्ट छिटोभन्दा छिटो केन्द्रीय समितिमा ब्रिफिङ गरेर चाँडै उम्मेदवारबारे निष्कर्षमा पुग्छौँ।’

तर, उनले कुनै पनि पात्रबारे अहिलेसम्म पार्टीमा चर्चा नभएको पनि बताएका छन्। 

‘हामी ६ जना विभिन्न पालिकामा पुगेर फर्किँदैछौँ, काठमाडौँ पुगेर पहिलो बैठकमै यहाँबारे केन्द्रीय समितिमा ब्रिफिङ गर्छौँ,’ सांसद गौतमले भनिन्, ‘उम्मेदवार पनि तय गर्न केही नाम सुझाव दिन्छौँ।’

यो क्षेत्रबाट एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पाँच पटकसम्म लगातार जित निकाल्दै आएका थिए। एमालेका लागि यो क्षेत्रको उपनिर्वाचन प्रतिष्ठाको विषय भएको छ।

नेम्वाङको निधनपछि यो क्षेत्रबाट उनका पुत्र सुहाङ निर्वाचन लड्ने चर्चा छ। उनले पनि नेतृत्वले अवसर दिए खुट्टा नकमाउने बताएका छन्। 

एमालेले कसलाई उठाउने भन्ने एकिन नगर्दै सुहाङ निर्वाचन क्षेत्रमा पुगेर मतदातासँग भेटघाट गरिरहेका छन्। उता, सत्तारुढ गठबन्धनबाट कांग्रेसका डम्बरबहादुर खड्काको चर्चा छ। 

उनी यसअघिको निर्वाचनमा सुवास नेम्वाङसँग झिनो मतान्तरले हारेका थिए। त्यही हारको बदला लिने दाउमा रहेका खड्का सत्ता गठबन्धन नभत्किने र यो पटक परिणाम आफ्नै पोल्टामा पर्ने दाबी गर्छन्।

कोसी प्रदेशमा चलेको पहिचानविरोधी आन्दोलनकाबीच यहाँ पहिचानवादीहरूले बेग्लै उम्मेदवार खडा गर्ने तयारीसमेत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .