राजनीति


रञ्जिताको दाबी : अध्यक्षको मान्यता नदिने आयोगको निर्णय रेशमले स्वीकारिसके

रञ्जिताको दाबी : अध्यक्षको मान्यता नदिने आयोगको निर्णय रेशमले स्वीकारिसके

फाइल तस्बिर


नेपालखबर
फागुन ३०, २०८० बुधबार १९:४६, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टी संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले अध्यक्षका रुपमा मान्यता नदिने निर्वाचन आयोगको निर्णयलाई रेशम चौधरीले स्वीकारिसकेको बताएकी छन्।

निर्वाचन आयोगले २४ फागुनमा नाउपाको अध्यक्षका रुपमा रेशमलाई स्वीकार गर्न नसकिने निर्णय लिएको थियो। आयोगको उक्त निर्णयपछि नाउपाको अध्यक्षको आधिकारिकता रञ्जिताले नै पाएकी छन्। 

गत पुस २६ देखि कैलालीको टीकापुरस्थित गृहनगरमा भएको महाधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष भएका थिए। त्यसबेला अध्यक्षका दाबेदार रञ्जितालाई उनैले पछि हटाएर जेलबाट छुटेपछि आफूले पार्टीको नेतृत्व रेशमले लिएका थिए। 

महाधिवेशनबाट मनोनीत भएका पदाधिकारीहरुको नामावली अध्यवाधिकका लागि पठाइएकोमा आयोगले रेशमलाई अध्यक्ष स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको थियो। त्यसपछि आयोगले अध्यक्षमा पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई नै निरन्तरता दिएको थियो।

आयोगको यो निर्णयपछि नाउमा रेशम र रञ्जिताबीच शक्ति संघर्ष देखिएको थियो। यस्तोमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने क्रममा उनीहरूको मत बाझिएको थियो।

दलकी नेतासमेत रहेकी रञ्जिता पक्षमा थिइन् भने रेशमले बुधबार बिहान पनि फेसबुकमा लामो भनाइ राख्दै ठूला पार्टीको पछि लाग्दा आफूहरू सिद्धिने चिन्ता जनाएका थिए।

भिडिओ

उनैले टीकापुरमा बहुमत केन्द्रीय सदस्यहरूको बैठक राखेर प्रचण्डलाई समर्थन नगर्ने, केन्द्र सरकारमा पनि नजाने निर्णय गराएका थिए।

तर उनको उक्त निर्णयविपरीत नाउपाका चारै सांसदले बुधबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए। रञ्जिताले लगाएको ह्विपको विपक्षमा कुनै पनि सांसद उभिएनन्।

प्रचण्डलाई विश्वासको मत हालेपछि बुधबार दिउँसो संसद्‍बाट बाहिरिने क्रममा रञ्जिताले निर्वाचन आयोगको निर्णयलाई रेशमले स्वीकारिसकेको दाबी गरिन्।

रेशमले आयोगको निर्णयलाई स्वीकारिसकेकाले बुधबार आफ्नो  निर्देशनमा नाउपाका सबै सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दाबी उनले गरिन्। 

उनले नाउपाको नेतृत्व हाँक्न आफूलाई कसैले पनि समस्या नबनाएको पनि तर्क गरिन्। ‘कसैले पनि मलाई अघि बढ्न गाह्रो बनाएको छैन। पार्टी छुट्टै कुरा हो, परिवार छुट्टै कुरा हो’, उनले भनिन्, ‘फरक फरक विचारका मानिस मिलेर नै पार्टी बन्ने हो।’

रेशमलाई नागरिक उन्मुक्तिको जन्मदाताको संज्ञा दिएकी उनले महाधिवेशबाट पुन: अध्यक्ष बने पनि आयोगले मान्यता नदिएको बताइन्। 

‘उहाँ पुसमा भएको महाधिवेशबाट अध्यक्ष बनेको हो’, रञ्जिताले भनिन्, ‘उहाँलाई पार्टीमा सबैले स्वीकारिसक्नु भएको छ। तर निर्वाचन आयोगले उहाँलाई अध्यक्षका रुपमा अस्वीकार गरिसकेको छ।’ 

यस्तोमा रेशमले आयोगको त्यो निर्णयलाई स्वीकारिसकेकाले आफूले पार्टीको कमान्ड सम्हालिसकेको रञ्जिताले बताइन्। 

‘आयोगको उक्त निर्णयलाई उहाँले स्वीकारिसक्नु भएको छ’, उनले भनिन्, ‘तर यसले हामीबीचको सम्बन्धमा कुनै फरक पार्दैन। पार्टीमा हामीबीच मत फरक परेको कुरा हो, अन्त पनि यस्तो हुन्छ। उहाँसँग बिहे भएको नै २५ वर्ष भयो। हाम्रो डिभोर्स हुने भए त्यही बेला हुन्थ्यो।’

रञ्जिताले पार्टीगत रुपमा विचार नमिल्दैमा तनाव लिनु आवश्यक नरहेको बताइन्। ‘पार्टीगत रुपमा मनमुटाव भएको हो विचार नमिलेको हो’, उनले भनिन्, ‘विवाद हुँदा हुँदै पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरा अन्त्यमा मिलेको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .