राजनीति


चार दलबीच यसरी गरियो सात प्रदेशका मुख्यमन्त्री पद बाँडफाँट

चार दलबीच यसरी गरियो सात प्रदेशका मुख्यमन्त्री पद बाँडफाँट

सागर न्यौपाने
चैत १९, २०८० सोमबार २१:२, काठमाडौँ

सत्ता गठबन्धनका चार दलबीच सात प्रदेश सरकारमध्ये कुनमा कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति भएको छ। 

सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा समझदारी भएको हो। 

नेताहरूका बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादीले गर्ने, गण्डकी, कर्णाली र कोसीको नेतृत्व एमालेलाई दिने सहमति भएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशको नेतृत्व एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले आलोपालो गर्ने सहमति भएको छ। मधेस प्रदेशको मुख्यमन्त्रीचाहिँ जसपालाई दिने समझदारी बनेको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने कुनै प्रदेश सभामा प्रतिनिधित्व नगर्ने भएकाले यसमा सहभागी नभएकाे हो। 

‘आज गठबन्धनका नेताबीच सातै प्रदेश नेतृत्वबारे समझदारी बनेको छ’, स्रोतले नेपालखबरसँग भन्यो, ‘एकीकृत समाजवादीले सुदूरपश्चिम र बागमतीमा आलोपालो सरकार चलाउनेछन्, कर्णालीमा माओवादी र एमालेले पालैपालो नेतृत्व गर्ने र लुम्बिनीमा पनि पहिलो चरणमा माओवादीले सरकार चलाउने भएको छ।’ सोही सहमतिअनुसार सरकारको नेतृत्व मिलाउन प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले कर्णाली, लुम्बिनी प्रदेशका नेताहरूलाई निर्देशन दिइसकेका छन्। 

चार दलबीच भएको सहमतिबमोजिम प्रदेश सरकारमध्ये बागमती प्रदेशमा माओवादीकै शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् भने आजै मात्र उनले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। उक्त प्रदेशमा बाँकी कार्यकाल माओवादी केन्द्र र एकीकृत समाजवादीले आधा/आधा समय मुख्यमन्त्री चलाउने सहमति भएको छ।   

यस्तै माओवादी केन्द्रले नै नेतृत्व पाउने सहमति भएको लुम्बिनी प्रदेशमा भने हाल केन्द्रमा प्रमुख प्रतिपक्षी रहेको नेपाली कांग्रेस नेतृत्वको सरकार छ। चार दलबीच सहमतिअनुसार अब त्यहाँ माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गरिनेछ।  

यसैगरी एमालेलाई मुख्यमन्त्री पद दिने सहमति भएको कर्णाली प्रदेशमा प्रधनमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई मुख्यमन्त्री पद एमालेलाई दिन निर्देशन दिइसकेका छन्। हाल त्यहाँ माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .