राजनीति


यी हुन् भेषराज आचार्य, जसलाई शेखरले इलाममा उठाइछाड्ने अडान लिए

यी हुन् भेषराज आचार्य, जसलाई शेखरले इलाममा उठाइछाड्ने अडान लिए

रुपक चौलागाईं
चैत २१, २०८० बुधबार १३:४९, काठमाडौँ

सत्तारुढ नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इलाम–२ मा चुनावी प्रचारमा लागिसक्दा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवार तय गर्न सकेको छैन। 

कांग्रेसले इलाम–२ का लागि प्रदेशबाट सिफारिस भएर आएका नाममध्येबाट सहमति जुटाउनेगरी मंगलबार पार्टी बैठक बोलाएको थियो। 

तर, पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच कुरा नमिल्दा मंगलबार उम्मेदवार तय हुन सकेन। देउवाले इलामका सभापति समेत रहेका डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउन खोजेका छन् भने कोइरालाले भेषराज आचार्यको नाममा जोडबल गरिरहेका छन्। 

खड्का र आचार्य दुवैको नाम प्रदेशबाट सिफारिस भएर आइसकेको छ। पार्टी पदाधिकारीसहितको मंगलबारको छलफलमा देउवाले खड्कालाई नै उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए। 

तर, यसमा कोइरालासहित केही नेताहरू असन्तुष्ट बने। कोइरालाले आचार्यलाई नै उम्मेदवार बनाउनुपर्ने अडान राखिरहेपछि बुधबार सहमति गर्नेगरी मंगलबारको बैठक सकिएको थियो। 

कांग्रेसले बुधबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 

खड्का ०७९ मंसिरमा भएको निर्वाचनमा सुवास नेम्वाङसँग १ सय १४ मतअन्तरले पराजित भएका थिए। खड्काले अहिलेसम्म पनि आफ्नो हार स्वीकारेका छैनन्। 

पुनः मतगणना गर्दा आफैँ विजयी हुने दाबी गर्दै आएका खड्का लामो समयदेखि टिकट लिन काठमाडौँमा नेताहरूको दैलो धाइरहेका छन्। 

तर, अन्तिम अवस्थामा संस्थापन इतर समूहका नेता डा. कोइरालाले अर्कै व्यक्तिको नाममा अड्को थापेपछि खड्काले टिकट पाउनेमा अन्यौल बढेको हो। 

कोइरालाले कुनै पनि हालतमा आचार्यलाई यो पटक इलामको निर्वाचनमा टिकट दिनुपर्ने अडान राखेका छन्। 

नेम्वाङसँगै हारेका थिए आचार्य पनि
खासमा देउवा र कोइरालाको रोजाइमा परेका खड्का र आचार्य दुवै एमालेका दिवंगत नेता नेम्वाङसँग एकपटक पराजित भइसकेका नेता हुन्। 

इलाम–२ मा नेम्वाङले २०५६ सालयता निरन्तर जित्दै आएका थिए। नेम्वाङका मुख्य प्रतिस्पर्धी पनि कांग्रेसकै उम्मेदवार हुन्।

२०५६ सालको आम निर्वाचनमा कांग्रेसका कुलबहादुर गुरुङ नेम्वाङबाटै पराजित भए। पछि २०६४ सालको संविधान सभाको निर्वाचनमा कांग्रेसकै केशव थापा उनै नेम्वाङसँग हारे।

त्यसपछि ०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा अहिले शेखरले अघि सारेका आचार्य नेम्वाङसँगै पराजित भएका थिए। तिनै आचार्यलाई टिकट दिन अहिले शेखरसहितका नेताहरू जोडबल गरिरहेका छन्।

त्यतिबेला आचार्यले १२ हजार ८२८ मत पाउँदा नेम्वाङले १४ हजार ९३० मत पाएका थिए।

०७४ को निर्वाचनमा फेरि कांग्रेसले ०६४ कै निर्वाचनमा हार ब्यहोरेका केशव थापालाई टिकट दियो। उनी दोस्रोपटकको प्रयासमा पनि नेम्वाङसँग चुनाव हार्न पुगेका थिए।

०७९ को निर्वाचनमा कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का नेम्वाङसँग झिनो मतान्तरले पराजित बने। 

खड्का उपनिर्वाचनबाट बदला लिने मुडमा देखिन्छन्। उनलाई सभापति देउवाले केही समय अघिदेखि नै टिकट दिने आश्वासन दिएका थिए।

उनी इलामका पार्टी सभापति पनि हुन्। 

शेखरले अघि सारेका भेषराज पनि इलामका पुराना नेता हुन्। 

पार्टीको आन्तरिक प्रतिस्पर्धामा सधैँ शेखरकै पक्षबाट उभिएका उनी अहिले निर्वाचन हुन लागेको क्षेत्रमा प्रभावशाली मानिन्छन्। 

०७८ मा इलामका दुई निर्वाचन क्षेत्रमा संस्थापन इतरकै उम्मेदवार विजयी भएका थिए। क्षेत्र नम्बर १ को सभापतिमा शमशेर राई र क्षेत्र नम्बर २ को सभापतिमा डिकेन्द्र इधिङ्गो निर्वाचित भएका थिए। 

संगठनभित्र आचार्यको बलियो पकड रहेको नेताहरू बताउँछन्। 

संगठन निर्माणबाटै स्थापित बनेका आचार्य विवादित नभएको, लो प्रोफाइलमा बसेरै लामो राजनीति गरेको लगायतका कारणले यो पटक टिकट दिनुपर्ने संस्थापन इतर नेताहरूको बुझाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .