राजनीति


प्रचण्डका ‘विश्वासपात्र’को हातमा लुम्बिनी सरकारको बागडोर

प्रचण्डका ‘विश्वासपात्र’को हातमा लुम्बिनी सरकारको बागडोर

सागर न्यौपाने
चैत २३, २०८० शुक्रबार १७:२६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन्। सरल स्वभाव, सकभर सबैलाई मिलाउन सक्ने क्षमताका कारण उनी हेडक्वार्टरको विश्वासपात्र बनेको माओवादी नेताहरू बताउँछन्।

लामो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव बनेर काम गरेका उनी मुख्यमन्त्री बन्नकै लागि प्रदेश झरेका थिए। पहिलो पटक चुनाव जितेलगत्तै उनी प्रदेश सरकारको नेतृत्व हात पार्न सफल भएका छन्।

मुख्यमन्त्री नियुक्त भएलगत्तै महराले आफूले एक्लै नभई सामूहिक भावनाका आधारमा काम गर्ने  नेपालखबरलाई बताए।

‘यो अवसरलाई भरपूर रुपमा उपयोग गर्नेछु। यो अवसर दिने पार्टी अध्यक्ष, पार्टीका पदाधिकारीहरू, पार्टी प्रदेशका नेताहरू प्रदेश सभाका सबै सदस्यहरूलाई धन्यवाद,’ उनले भने, ‘मसँग प्रदेश हाँक्ने योजनाहरू छन्। मेरो भनेर होइन कि हाम्रो भनेर काम गर्ने हो। म एउटा व्यक्ति होइन, पार्टी छ, गठबन्धन छ। हामी छलफल गर्छाैं र के गर्ने भन्ने हिसाबले सामूहिक योजना बनाउँछौँ।’

महरा कम्युनिस्ट राजनीतिमा लागेको चार दशकभन्दा ज्यादा समय भइसकेको छ। पार्टीप्रतिको निरन्तर बफादारीका कारण उनले पहिलो पटक प्रदेश हाँक्ने अवसर पाएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए। 

‘निरन्तर पार्टीको मूल लाइनलाई सहयोग गर्दै आउनुभएको छ,’ बरालले नेपालखबरसँग भने, ‘पार्टीको इमान्दार, लगनशील, संघर्षशील व्यक्तित्वको रुपमा परिचय बनाउनुभएको छ।’

शान्ति प्रक्रियामा आएपछि उनी झण्डै एक दशक अध्यक्ष प्रचण्डको सहयोगीका रुपमा नयाँ बजार, लाजिम्पाट र खुमलटार बसे। 

‘हेडक्वार्टरमा ६ वर्ष रहनुभयो। अघिपछि जाने आउने गर्नुभयो। उहाँ पुरानो कम्युनिस्ट नेता हो,’  बरालले थपे। 

पहिलो संविधान सभा सदस्य हुँदै सिंहदरबार पुगे पनि उनले राज्यको महत्वपूर्ण जिम्मेवारी पाएका थिएनन्। 

फागुन २१ गते बनेको एमाले–माओवादी गठबन्धनले महरालाई मुख्यमन्त्री बन्ने ढोका खोलिदियो।

महरालाई मुख्यमन्त्री बनाउन प्रचण्डले कर्णाली प्रदेशको मुख्यमन्त्री त्याग गरेका छन्। कर्णालीमा एमालेको मुख्यमन्त्री बनाउन निर्देशन दिएर लुम्बिनी माओवादीले लिएको छ। बरालका अनुसार महरालाई मुख्यमन्त्री बनाउनकै लागि अध्यक्ष प्रचण्डले कर्णाली छोडेका हुन्। 

माओवादीले गरेको दशवर्षे जनयुद्धका क्रममा घाइते भएका उनको भूमिगत अवस्थामै भारतमा उपचार भएको थियो। 
शान्ति प्रक्रियामा आएपछि माओवादीमा टुटफुट र विभाजन आयो।

प्रभावशाली नेताहरू मोहन वैद्य, रामबहादुर थापा, सीपी गजुरेल लगायतका दर्जन बढी नेताले छोड्दा महराले प्रचण्डलाई दह्रो साथ दिए।

महरालाई मुख्यमन्त्री बनाउन धेरै लबिङ गर्नुपरेको बराल बताउँछन्।

‘रोल्पाको विकट गाउँमा निम्न मध्यमवर्गीय परिवारमा जन्मिएको, जनयुद्धको घाइते अपाङ्ग हुनुहुन्छ,’ बरालले भने, ‘उहाँलाई राज्यको माथिल्लो जिम्मेवारीमा पुर्‍याउन राम्रै लबिइङ गर्नुपर्‍यो। कर्णाली र लुम्बिनी हाम्रो आधार क्षेत्र हो। हामीले पहिले पनि धेरै जोडबल गर्‍यौँ। नेतृत्व पाउनुपर्छ भनेर भन्यौँ। हाम्रो तर्क बलियो भयो, नेतृत्वले कर्णाली छोडेर लुम्बिनी लियो।’

जिल्ला रोल्पा, रुकुम पूर्वसहितका जिल्ला रहेको लुम्बिनीमा माओवादी प्रभाव अझै राम्रो छ। त्यहीँको मुख्यमन्त्री बन्ने उदेश्यले महराले प्रदेश सभामा चुनाव लडेका थिए।

२०७९ मंसिर ४ मा सम्पन्न चुनावमा महरा रोल्पा निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रदेशसभा सदस्यमा विजय भएका हुन्। नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीलाई फराकिलो मत अन्तरले पराजित गरेका महरा एमालेकै समर्थनमा मुख्यमन्त्री बन्न सफल भए। फागुन २१ गते बनेको एमाले–माओवादी गठबन्धनले महरालाई मुख्यमन्त्री बन्ने ढोका खोलिदियो। चैत २३ गते ४४ सदस्य सांसदको समर्थन लिएर महराले मुख्यमन्त्रीमा दाबी पेस गरे र लगत्तै प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरे। 

‘प्रदेशले जिम्मेवार परिपक्क, मुख्यमन्त्री पाएको छ,’ बरालले तर्क गरे, ‘लामो राजनीतिक र संघर्षको पृष्ठभूमि रहेको, सबै व्यहोरेको भोगेको, विकट बस्तीमा जन्मिएर जनताका दुःख बुझेको, आफै प्रत्यक्ष भोगेको व्यक्तिलाई प्रदेशको मुख्य नेतृत्वमा पाएका छौैँ। गठबन्धनका सहयोगी साझेदार सबैलाई मिलाएर लैजाने उहाँको क्षमता छ। उहाँको कार्यकाल सफल हुन्छ।

महराको जीवन
२०२० सालमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा ५ (साविक गजुल गाविस–२) मा जन्मिएका महराले २०३५ सालदेखि नेकपा (मशाल) को पार्टी सदस्य लिएर राजनीति थालेका हुन्।

उनले राजनीतिशास्त्र तथा अर्थशास्त्रमा स्नातक गरेका छन्। उनले राजनीति थाल्नुअघि रोल्पामै केही समय पढाए।

२०४२ सालमा मशाल निकट अनेरास्ववियु दाङको सचिव बनेका उनी २०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य, २०४७ सालमा नेकपा (मशाल) को रोल्पा जिल्ला समिति सदस्य हुँदै २०५० सालदेखि नेकपा माओवादी आवद्ध भएर पूर्णकालीन बने। 

माओवादीले जनयुद्ध थाल्नुअघि २०५१ सालमा माओवादीको रोल्पा जिल्ला सेक्रेटरी बनेका उनी २०५४ सालमा क्षेत्रीय ब्युरो सदस्य र २०५६ सालदेखि २०६० सम्म अन्तर्राष्ट्रिय विभागको जिम्मेवारीमा रहे। २०६० सालमा माओवादी केन्द्रीय सदस्य बनेका उनी २०६२ देखि २०६५ सम्म अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव बने।

२०६४ मा समानुपातिकतर्फबाट संविधान सभा सदस्य भएर सिंहदरबार पुगेका उनले प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७३ मा फेरि प्रमुख स्वकीय सचिव भएर काम गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .