राजनीति


यी दुई युवा, जसलाई बाबुको निधनले राजनीतिमा डोर्‍यायो

यी दुई युवा, जसलाई बाबुको निधनले राजनीतिमा डोर्‍यायो

सुवासपुत्र सुहाङले जस्तै पृथ्वीबहादुरपुत्र अभिषेकले पनि राजनीतिमा लाग्ने तयारी गरिसकेका थिए


रुपक चौलागाईं
चैत २४, २०८० शनिबार २०:३१, काठमाडौँ

हुन त बुवा सुवास नेम्वाङको निधनअघि नै सुहाङले राजनीतिमा आउने संकेत गरिसकेका थिए। ०७८ साल फागुनको अन्त्यतिरै सुहाङले नेपालखबरसँगकै कुराकानीमा राजनीतिमा आउन मन भए पनि निकै चुनौती रहेको बताएका थिए। 

राजनीतिमा छिर्दा परिपक्व बन्नैपर्ने त्यतिबेला उनको बुझाइ थियो। 

त्यही भएर उनले ‘स्पोर्टिङ इलाम एफसी द मेची’ नामक फुटबल क्बल किने। व्यवसायमा जमेर राजनीतिमा जोडिँदा आर्थिक रुपमा पनि सहज हुने उनको हिसाबकिताब थियो।

तर, उनले सोचेजस्तो भएन।

०८० भदौ २६ गते अकस्मात उनका बुवा सुवासको निधन भयो। बुवाले जितेर संसदमा प्रतिनिधित्व गरेको सिट रिक्त भयो। 

आफूलाई ‘साथी’ मान्ने सुहाङलाई सुवासले पटकपटक भनेका थिए, ‘तिमीलाई मेरै साथीहरूले राजनीतिमा ल्याउँछन्।’

सुवासले भनेजस्तै भयो।

बुवाकै दौँतरीहरूको सल्लाह र आग्रहमा सुहाङ अन्ततः राजनीतिमा जोडिए।

केही महिनादेखि उनी राजनीतिक क्रियाकलापमा अत्यन्तै व्यस्त छन्। बुवा सुुवासले पूरै जिन्दगी बिताएको दल नेकपा एमालेले सुहाङलाई पनि राजनीतिक यात्रामा डोर्‍याएको छ।

संविधान सभा अध्यक्ष समेत रहेका उनका बुवा राजनीतिमा फरक छवि बनाएका नेतामध्येका एक हुन्। अहिले उपनिर्वाचन हुन लागेको इलाम–२ मा त उनले २५ वर्षसम्म कसैले भत्काउन नसक्नेगरी पार्टीको ‘झण्डा’ गाडेका थिए। 

अहिले बुवाको त्यही विरासत जोगाउनेगरी सुहाङ चुनावी मैदानमा छन्। शनिबार उनले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराए। 

मनोनयन दर्तापछि सुहाङले कुनै गालीगलौज र टिकाटिप्पणीबिना चुनावी प्रचारमा होमिने बताएका छन्। 

बुवाजस्तै शान्त, शालीन शैलीका सुहाङ उम्मेदवारी दर्ता गर्न जाँदा पनि बुवाझैँ दौरा, सुरुवाल र कालो टोपीमा सजिएर पुगेका थिए।

इलाम–२ को जस्तै दुःखद संयोग छ बझाङ–१, प्रदेश सभा (क)मा पनि। 

शनिबार बझाङमा पनि उही कार्यतालिका थियो। त्यहाँको प्रदेश सभामा पनि वैशाख १५ मै निर्वाचन हुँदैछ। 

त्यहाँका सांसद पृथ्वीबहादुर सिंहको जिप दुर्घटनामा परी ०८० असार ५ गते सिंहको निधन भयो।

उनी प्रदेश सभा सदस्य मात्रै होइन, सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पनि थिए। पत्नी र भाउजुसहित सिंहले जिप दुर्घटनामा देहत्याग गरे।

सुवासपुत्र सुहाङले जस्तै पृथ्वीबहादुरपुत्र अभिषेकले पनि राजनीतिमा लाग्ने तयारी गरिसकेका थिए। तर, सफलता पाएका थिएनन्। 

गतवर्ष भएको स्थानीय तहको निर्वाचनमा अभिषेक जयपृथ्वी नगरपालिका–५ को अध्यक्षमा भिडेका थिए। तर उनी स्वतन्त्र उम्मेदवारसँग पराजित भए। 

बुवाको राजनीतिक विरासत धान्ने योजनासहित अभिषेक अघि बढेका छन्। 

एमालेले सुहाङलाई जस्तै कांग्रेसले पनि अभिषेकलाई नै टिकट दियो। शनिबार उनले औपचारिक रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए। 

अभिषेक पार्टीको जिल्ला कार्यसमिति सदस्य हुन्। 

विसं २०५५ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन प्रतिनिधि थिए। 

२०७२ सालमा नेपाल तरुण दल बझाङ क्षेत्र नं १ क) क्षेत्रीय सभापति बने। त्त्यसपछि १४ औँ महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्यमा ‘म्यान अफ दी इलेक्सन’ भएर विजयी बनेका थिए। 

सुहाङ र अभिषेक दुवै तन्नेरी हुन्। दुवैलाई बुवाको निधनपछि राजनीतिले डोर्‍याएको छ। दुवैलाई बुवाले बनाएको लामो राजनीतिक विरासत जोगाउनुपर्ने चुनौती छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .