ad ad

राजनीति


गणतन्त्रका उपलब्धि आम नागरिकमा पुर्‍याउन सरकार प्रयास गरिरहेको छ: प्रधानमन्त्री

गणतन्त्रका उपलब्धि आम नागरिकमा पुर्‍याउन सरकार प्रयास गरिरहेको छ: प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८१ मंगलबार ७:२२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका लाभहरू आम नागरिकमा पुर्‍याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको बताएका छन्। 

गणतन्त्र दिवसका अवसरमा मंगलबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा गणतन्त्र स्थापना भएको स्मरण गरेका छन्। 

संविधान सभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको थियो। 

‘गणतन्त्र दिवसको अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाइसहित शुभकामना व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डको सन्देशमा भनिएको छ।

‘सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि विभिन्‍न समयमा भएका राजनीतिक आन्दोलनहरू, जनयुद्ध, २०६२र६३ को ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनसहितका आन्दोलन तथा सङ्‍घर्षका महान् शहीदहरूको स्मरण गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्‍जली अर्पण गर्दछु,’ प्रचण्डको सन्देशमा भनिएको छ, ‘गणतन्त्र प्राप्‍तिको आन्दोलनका घाइते तथा अपाङ्गहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता दिदीबहिनी दाजुभाइहरूप्रति उच्च सम्मान प्रकट गर्दछु।’
 

गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनको क्रममा रहेको उनले बताएका छन्।

‘यस व्यवस्थाले नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्‍ट्र निर्माणका लागि दिशा निर्देश गरेको छ,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ।

नेपालको संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको स्मरण प्रधानमन्त्रीले गरेका छन्। 

‘त्यसैअनुरूप सरकारले नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जन गरी आफ्नो कार्यसम्पादन गरिरहेको छ,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत हो। हामीमा गणतान्त्रिक जीवनशैली विकास भएको छ र नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको छ। वास्तविक रूपमा गणतन्त्र अरुका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि हो। अझ, त्यसभन्दा माथि सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र स्थानीय स्वायत्तता र आधारभूत विषयहरूमा स्वनिर्णयको अधिकार समेत हो।’ 

उनले गणतन्त्रका लाभहरूलाई आम नागरिकमा पुर्‍याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको दाबी पनि गरेका छन्। 

‘गणतन्त्र दिवसले हामीलाई शहीदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न प्रेरित गरोस्’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .