नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सरकारले बनाउँदै गरेको नयाँ संसद भवनमा मदिरा पिउने बार बनाउनुपर्ने प्रस्ताव राखेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलको क्रममा सांसद बजगाईंले विदेशी पाहुनाहरूको सत्कारका लागि बार बनाउनुपर्ने बताएका हुन्।
आफू सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस पुग्दा देखेको उक्त चलनबाट प्रभावित भएको पनि उनले बताए।
‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस गएको थिएँ। कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ। सिनेटमा आतिथ्यता गर्न जाने पाहुना पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ,’ सांसद बजगाईंले भने, ‘डेमोक्रेट्सहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन्। रिपब्लिकनहरूले आफ्नोे बारमा सोसलाइजेसन गर्दा रहेछन्। त्यहाँ ड्रिंक्स पनि खान पाइन्छ। अधिकांश माननीयज्यूहरू मदिरा पिउनु हुन्न। मैले, लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा जाँदा पनि बार रहेछ। त्यसको लिमिटेसन हुन्छ।’
पर्यटकीय हिसाबमा पनि यो विषय अत्यन्तै महत्त्वपूर्ण रहेको उनको जिकिर छ।
‘अनि त्यसपछि मैले अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि? मैले यहाँलाई यसमा ध्यानाकृष्ट गराउन चाहे। यो पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण छ,’ उनले भने।
Shares
प्रतिक्रिया