ad ad

राजनीति


नयाँ दलले पुराना राजनीतिक दलहरूलाई सम्मान गरेनन् : प्रधानमन्त्री

नयाँ दलले पुराना राजनीतिक दलहरूलाई सम्मान गरेनन् : प्रधानमन्त्री

नेपालखबर
असार ७, २०८१ शुक्रबार ११:५३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताएका छन्।

शुक्रबार काठमाडौँमा नेपाल बुद्धिजीवि संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक दल र पार्टीहरु दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरिरहेको आरोप लगाए। 

‘नयाँ आएर बोल्नेहरूको जिम्मेवारी हुन्छ की पुराना पार्टीहरूले लामो संघर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलढेको भए लाकतान्त्रिक गणतन्त्र र ती नयाँ मान्छेहरू आउने वातावरण बन्न सम्भव थियो त? विल्कुल थिएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरूले त पुरानाहरूलाई सम्मान गर्नुपर्ने, तपाईंहरूको त्याग र बलिदानको परिणाम हामी जस्ताले पनि अहिले अवसर पायाँै भनेर प्रशंसा गर्नुपर्ने ठाउँमा आफूलाई जन्म दिने बाउआमालाई गाली गरेको जस्तै लाजमर्दो लाग्छ नि। आमा बाउलाई त बुढाबुढीलाई त सम्मान पो गर्नुपर्छ।’

पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरूले राख्न जरुरी रहेको पनि बताए। नयाँ राजनीतिक दलहरुले बोल्दा हेक्का राखेर बाल्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पुराना दलहरूको प्रशंसा गर्नुपर्ने ठाउँमा अपमान गरिरहेको जिकिर गरे।

‘नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको उनीहरूले नै हो। र अहिले केही नयाँ नयाँ मानिसहरू हामी नयाँ, हामीले गर्छौं भन्ने ठाउँ दिएको पनि तिनै ठूला पार्टीहरुको त्याग, तपस्या र बलिदान हो। इमान्दारिता यही हुन्छ की, नयाँ आउनेलाई मैले आलोचना गर्न खोजेको होइन,’ उनले भने।

साथै, उनले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्नेगरी काम गरिरहेको जिकिर समेथ गरे। जीवनको उत्तराद्र्धतिर पनि आफू जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको उनले सुनाए। 

‘मैले पार्टी आन्दोलन देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दलहरु, बाहिर र सदन भित्र भएकाहरुलाई पनि संयोजन गर्नेकुरा गरिरहेको छु। कहिले कहीँ त मलाई यस्तो लाग्छ, मैले नेपाली कांग्रेस, नेकपा एमालेलाई पनि अरु पार्टीलाई पनि संयोजन गर्ने, उहाँहरूभित्रको समस्या पनि मैले नै समाधान गरिदिनुपर्ने जस्तो गरी मैले काम गर्नु परिरहेको छ। मैले गरिरहेको पनि छु,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .