ad ad

राजनीति


आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, कति सांसद छन् पक्षमा?

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, कति सांसद छन् पक्षमा?

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८१ शुक्रबार ७:५७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शुक्रबार) विश्वासको मत लिँदै छन्।

यसका लागि अहिले बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ। 

नेकपा एमाले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि अल्पतमा परेका प्रधानमन्त्री प्रचण्डले पुनः संसद्‌बाट विश्वासको मत लिन लागेका हुन्।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

२७५ सदस्यीय प्रतिनिधि सभामा विश्वास मत पाउन बहुमत १३८ सांसदले पक्षमा  मतदान गर्नुपर्छ।

तर प्रधानमन्त्री प्रचण्डका पक्षमा आफ्नो पार्टी माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत साजवादीका १० गरी ६३ मत मात्रै छ।

नयाँ गठबन्धन बनाएका नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरिसकेका छन्। 

राप्रपा, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाललगायतले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड विश्वासको मतमा फेल हुनेबित्तिकै कांग्रेस–एमालेले संविधानको धारा ७६ (२) अनुसार सरकार बन्ने दाबी गरिरहेका छन्। सोअनुसार कांग्रेस-एमाले गठबन्धनले आजै नयाँ सरकारको दाबी पेस गर्ने तयारी गरेका छन्। 

तर धारा ७६ को उपधारा २ अनुसारै प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत नपाए राष्ट्रपतिले फेरि सोही धाराको उपधाराअनुसार सरकार गठन आह्वान गर्न मिल्छ कि मिल्दैन भन्नेमा विवाद छ।

यसैले प्रधानमन्त्रीले भने आफूले विश्वासको मत नपाए सरकार गठनको प्रक्रिया धारा ७६ (३) मा जाने तर्क गरिरहेका छन्।

जसले गर्दा यो विषय अदालत पुग्ने संकेत देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .