नवनियुक्त महान्यायाधीवक्ता रमेश बडालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडाललाई शपथ गराएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए।
सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको कार्यकालको अन्त्यतिर पनि बडाललाई महान्यायाधिवक्ता बनाएका थिए।
बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त भएका थिए।
तर सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि बडालले पनि राजीनामा दिएका थिए। २०७८ असार २९ गते राजीनामा दिएका बडालले पहिलो कार्यकालमा करिब चार महिना मात्रै काम गर्न पाएका थिए।
उनको पहिलो कार्यकाल संसदमा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको बचाउ गर्दै बितेको थियो।
ओलीले पहिलोपटक संसद विघटन गर्दा एमाले नेतासमेत रहेका वरिष्ठ अधिवक्ता अग्नि खरेल महान्यायाधिवक्ता थिए। उनले बीचैमा राजीनामा दिएपछि बडाल नियुक्त भएका थिए।
बडाल हालको सत्ता गठबन्धन निर्माणका क्रममा पनि सक्रिय थिए। असार १७ गते राति काठमाडौँको चपलीमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्नेबारे सहमति गर्दा पनि बडाल उपस्थित थिए।
यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै राजीनामा दिएका थिए।
Shares
प्रतिक्रिया