ad ad

राजनीति


आफ्नो भनाइ प्रचण्डको सचिवालयले खण्डन गरेपछि रवीन्द्र मिश्रले दिए थप स्पष्टीकरण

आफ्नो भनाइ प्रचण्डको सचिवालयले खण्डन गरेपछि रवीन्द्र मिश्रले दिए थप स्पष्टीकरण

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०८१ बुधबार १०:५, काठमाडौँ

आफ्नो टिप्पणीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले थप स्ष्टीकरण दिएका छन्। 

प्रचण्ड र मिश्रबीच मंगलबार प्रचण्ड निवास खुमलटारमा भेट भएको थियो। त्यो भेटमा प्रचण्डले राजतन्त्रप्रति सहानुभूतिसहित कुरा गरेको भन्दै प्रचण्डको भनाई भनेर मिश्रले सात बुँदा सार्वजनिक गरेका थिए। 

त्यसलाई प्रचण्डको सचिवालयले मिश्रले आफ्नो राजनीतिक स्वार्थअनुकूल  प्रचण्डसँगको भेटलाई प्रस्तुत गरेको भन्दै बुधबार बिहान खण्डन गरेको थियो। 

उक्त खण्डनपछि मिश्रले पनि सामाजिक सञ्जाल मार्फत् नै प्रचण्डसँगको भेटका विषयमा थप स्पष्टीकरण दिएका हुन्। उनले प्रचण्डले आफूसँग भनेका कुरालाई आफूले बढाइचढाई नगरेको आसयसहितको स्पष्टीकरण दिएका छन्। 

‘हिजो प्रचण्डजी र मबीच भएको भेटघाटपछि मैले गरेको टिप्पणीको उहाँको सचिवालयले खण्डन गरेको रहेछ,’ मिश्रले लेखेका छन्, ‘त्यसलाई जस्ताको त्यस्तै प्रकाशित गर्नु मेरो पनि दायित्व सम्झिएको छु। उहाँको सचिवालयले भद्रतापूर्वक विमति राखेकोमा आभारी छु।’

उनले आफ्नो सानो थप टिप्पणी भन्दै लेखेका छन्, ‘ठूला नेताहरूसँग भेट्दा ‘यो कुराचाहिँ बाहिर नगरौँ, हामी बीचमा रहोस्,’ भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र, हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।’

मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै भएको दोहोर्याएका छन्। उनले विगत केही दिनदेखि यो अभिव्यक्ति दिँदै आएका छन्। मिश्रले यही अभिव्यक्ति दिन थालेपछि नै प्रचण्डले उनलाई भेट दिएका थिए। 

‘संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। काँग्रेसरएमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै ‘प्रचण्ड पथगामी’ हुन्। ‘नेपालको संविधान २०७२’ वास्तवमा ‘प्रचण्डको संविधान २०७२’ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु,’ मिश्रले भनेका छन्। 

मिश्रले अगाडि थप लेखेका छने, ‘त्यसैले ठूला पार्टीहरूलाई आ-आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .