ad ad

राजनीति


बाढी पहिरो : सरकारले बोलायो दिउँसो १ बजे सर्वदलीय बैठक

बाढी पहिरो : सरकारले बोलायो दिउँसो १ बजे सर्वदलीय बैठक

नेपालखबर
असोज १३, २०८१ आइतबार ०:३७, काठमाडौँ

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आइतबार दिउँसो सर्वदलीय बैठक आह्वान गरेका छन्। 

मनसुनी वर्षातपछि बाढी र पहिरोबाट देशभर जनधनको क्षति भएपछि कार्यवाहकको जिम्मेवारी सम्हालिरहेका उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका हुन्। 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली हाल अमेरिकामा छन्। आफू अमेरिका जाने भएपछि उनले उपप्रधान एवं सहरी विकासमन्त्री सिंहलाई कार्यवाहकको जिम्मेवारी सुम्पेका थिए।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बोलाइएको छ। 

सिंहले शनिबार राति भनेका छन्, ‘अविरल वर्षापछि आएको बाढी पहिरोका कारण आएको विपतपछिको राहत, उद्धार र धनजनको क्षतिका बारेमा छलफल गर्न सरकारले भोलि दिउँसो १ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएको जानकारी गराउँछु।’

शुक्रबारदेखि निरन्तर परेको वर्षातपछि शनिबार काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा बाढी र पहिरोले व्यापक क्षति पुर्‍याएको थियो। 

कम्तीमा ८७ जनाको मृत्यु
बाढी, पहिरो र डुबानबाट शनिबार बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ। 

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको जानकारी दिए। अरु ३६ जना घाइते भएका छन्।

उनका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ। यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको हो। 

बेपत्ता हुनेमा कोशीमा नौ, मधेश प्रदेशमा एक, काठमाडौँ उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन्।

उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ।

त्यसपछि मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर कुल ८७ जनाको मृत्यु भएको  प्रहरीले जनाएको छ।

यस्तै उपत्यकापछि सबैभन्दा बढी काभ्रेमै २६ जना बेपत्ता छन्।

यस्तै पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन्।त्यसैगरी प्रहरीका अनुसार कोशीबाट ८५३, मधेश प्रदेशबाट ५६, उपत्यकाबाट १ हजार ४५७, बागमतीबाट ४९४ जनाको उद्धार गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .