नेपाली कांंग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर संविधानमाथि प्रहार गरिरहेकोे आरोप लगाएका छन्।
उनले संविधान परिष्कृत गर्दै सबै वर्ग र जनमतलाई एकै ठाउँमा ल्याउने अवसरबाट भागेर ओलीले संविधानमाथि प्रहार गरेको आरोप लगाएका हुन्।
नेता खाँणले संसद् विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए।
लुम्बिनी प्रेस क्लबले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खाँणले भने, ‘सरकारको पहिलो कर्तव्य संविधानको पालना र रक्षा गर्नु हो तर प्रधानमन्त्रीले सुरुदेखि नै संविधानको प्रतिकूल हुने काम गर्दै आउनुभएको छ। मानवअधिकार आयोगमा, स्वतन्त्र पत्रकारिता, गुठी र राष्ट्रिय सुरक्षा परिषद्मा निरन्तर प्रहार गर्दै आएको छर्लंग छ। सोहीअनुसार संविधानमाथि प्रहार भएको हो।’
अर्को सरकार र प्रधानमन्त्री बन्न सक्ने अवस्था रहेसम्म हाम्रो संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको उनले प्रस्ट पारे।
संवैधानिक नियुक्त संसदीय समितिले फर्काउँछ भनेर नै हतारमा प्रधानमन्त्रीले संसद भंग गरेको जनाए। ‘संवैधानिक नियुक्ति पाएका केहीलाई हामीले पनि चिन्छौं। तर, अध्यादेश गरिएको नियुक्तिमा हाम्रो सहमति छैन’, उनले भने।
उनले संसद् विघटनविरुद्ध कांग्रेसले एक्लै आन्दोलन गरिरहेको र त्यसलाई निरन्तरता दिँदै संविधानको रक्षा गर्ने बताए। ‘मुलुकमा अप्ठ्यारो पर्दा कांग्रेसले सधैँ अग्रसरता लिने गरेको छ। संविधान, लोकतन्त्र र संघीयताको रक्षाका लागि हामी हाम्रै नेतृत्वमा आन्दोलन गर्छौँ।’ नेकपा प्रचण्ड–माधव पक्षले कांग्रेस र जसपासँग मिलेर संयुक्त आन्दोलन गर्ने भनिरहेका बेला खाँणले भने कांग्रेस सहभागी नहुने संकेत गरे।
उनले संसद विघटनसम्बन्धी मुद्दा न्यायपालिकामा विचारधीन रहेकाले कांग्रेसले यसमा दबाब नदिने बताउँदै स्वतन्त्र न्यापालिकाले आफ्नो निर्णय गर्ने त्यो आफूहरुलाई स्वीकार्य हुने बताए। उनले भने, ‘हामीलाई विश्वास छ, न्यायपालिकाले संविधानको रक्षा गर्छ।’
प्रतिक्रिया