भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अभद्र व्यवहार गरेको भन्दै नेपाली पक्षले रुपन्देहीको बेलहिया नाकामा अवरोध गरेका छन्।
शनिबार दिउँसो बेलहियाका स्थानीय र सामान खरिद गर्न अन्यत्रबाट आएका नेपालीले बेलहिया–सुनौली दशगजा क्षेत्रमा नाराजुलुुस गरेपछि दुई घण्टा नाका ठप्प भएको हो।
उनीहरुले किनमेलका लागि भारतीय बजार सुनौलीमा पुगेका नेपालीहरुलाई एसएसबीले अपशब्द बोल्ने, कुकुर लगाएर लखेट्ने, सामान खोसिदिने गरेको बताए।
सधैँभरी भारतीय सुरक्षाकर्मीबाट अभद्र व्यवहार हुँदै आएको बताउँदै नाका ठप्प पारेर विरोधमा उत्रिएको नेपाली पक्षले जनाएकाे छ। विवादपछि शनिबार दिउँसो १२ बजेदेखि २ बजेसम्म सीमानाका पूर्णरुपमा बन्द भएको थियो।
‘म सामान किन्न भनेर भारततर्फ जाँदै थिए, भारतको गेट छिर्नै लाग्दा एसएसबीले कुकुर लगाएर लखेटे, अपशब्द बोले’, रुपन्देहीको तिलोत्तमाकी मुना भण्डारीले भनिन्, ‘ममाथि अभद्र व्यवहार भएपछि स्वतस्फूर्त रुपमा नेपाली दाजुभाइ दिदीबहिनीहरु आन्दोलनमा उत्रिएका हुन्।’
सीमामा झडपकै अवस्था आउन लागेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यापक परिचालन गरिएको थियो।
यस्तै, भारतीय पक्षले पनि सीमामा सुरक्षा बल बढाएको थियो। नेपालीले भारतीय भूमिमा जाँदा परिचय पत्र देखाउनु पर्ने, परिचय पत्र देखाउँदा पनि भारीय सुरक्षा बलले दुःख दिने गरेको जनाएका छन्। भारतीयहरु भने नेपाल आउँदा परिचय पत्रविनै विना रोकतोक आउने गरेको छन्।
‘म बिदाको दिन पारेर घुम्न आएको थिए। सीमामा एउटा नेपाली चेलीलाई अपमान भएपछि हामीले पनि आन्दोलन गर्नुपर्यो’, गुल्मीका शंकर न्यौपानेले भने, ‘पैसा तिरेर सामान किनेर ल्याउँदा पनि अपमान सहनुपर्ने? हामीलाई एसएसबीले अपमान गरेको हो।’
उनले आफूहरु अपमान सहन तयार नभएको बताउँदै अब आइन्दा यस्तो हर्कत नहोस् भनि चेतावनीसमेत दिए। ‘गोर्खालीले अपमान सहँदैनन्। अब आइन्दा यस्तो हर्कत नहोस्’, उनले भने।
प्रदर्शनमा उत्रिएका नेपाली पक्षले एसएसबीले माफी माग्नु पर्ने बताएका थिए। एसएसबीले भने शनिबार निकै भीडभाड भएकाले सुरक्षा जाँच बढाइएको बताएको छ।
दुई घण्टा नाका ठप्प भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनमा उत्रिएकाहरुलाई सम्झाएर नाका सहज गराएका थिए।
Shares
प्रतिक्रिया