नेपाली कांग्रेसका महामन्त्री तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन्।
मंगलवार काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएसँगै मतदाताहरुलाई सम्बोधन गर्दै उनले संसदीय दलको नेताका लागि निर्वाचनको तयारीमा जुट्ने बताएका हुन्।
उनले मतदाताले देश हाँक्ने नयाँ नेतृत्व खोजेको भन्दै मतदाताले व्यक्त गरेको मनको कुरालाई मनन गर्न निर्वाचित हुनुहुने प्रतिनिधि सभाका सदस्यहरुलाई आग्रह गरे।
‘म आजैबाट, अब नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको तयारीमा आजैबाट म जुट्छु। यसमा तमाम साथीहरुको सबैको स्नेह, माया, यसैगरी मसँग रहन्छ। र, निर्वाचित भएर आउनुभएका कांग्रेसका सांसद
साथीहरुले पनि आफ्नो मतदाताले के भनेर पठाउनुभएको छ, त्यो मतदाताको मन के छ? मतदाताले मत मात्र दिनुभएको छैन', उनले भने, 'मतदाताले सँगसँगै उनले आफ्नो मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो मनको कुरालाई पनि सम्मान गरेर खासगरी नेपाली कांग्रेसको तर्फबाट देशलाई हाँक्न नयाँ नेतृत्वको खोजी भएको कुरालाई मनन गर्दै सबै साथीहरु नयाँ जोश र चिन्तनका साथमा संसदभित्र आउनुहुन्छ भन्ने विश्वास व्यक्त गर्छु।’
उनले जनताले स्थिर सरकारका साथसाथै देश हाँक्ने नयाँ चालक पनि खोजेको बताए। देश हाँक्ने नयाँ चालक कांग्रेसले मात्रै दिनसक्ने उनले बताए।
त्यसका लागि पार्टीभित्र छलफल शुरु भइसकेको उनको भनाइ छ। प्रतिनिधि सभा सदस्य थापाले पार्टीले देशलाई नयाँ नेतृत्व दिन आवश्यक रहेको उल्लेख गरे।
नयाँ नेतृत्वले पार्टीलाई मजबुत र गठबन्धनलाई दिगो बनाउँदै जनतालाई विश्वस्त बनाउने उनको भनाइ छ।
Shares
प्रतिक्रिया