प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरूले जितेका सिट र पाएका समानुपातिक मतका आधारमा राष्ट्रिय दल बन्ने कि नबन्ने निर्क्योल हुन्छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १६५ क्षेत्रमध्ये कम्तीमा एक सिट जितेर समानुपातिक मत तोकिएको ‘थ्रेसहोल्ड’ सीमा कटाएपछि मात्र कुनै पनि दलले राष्ट्रिय दलको मान्यता पाउँछन्। वर्तमान व्यवस्थाअनुसार थ्रेसहोल्डको सीमा पार गर्न खसेको कूल सदर मतको ३ प्रतिशत मत ल्याएको हुनुपर्छ।
यस आधारमा यसपटक कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेकामा ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार मत खसेको निर्वाचन आयोगले जनाएको छ। यसमा ३ लाखजति मत बदर भएको अहिलेसम्मको अनुमान छ। यस हिसाबले सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन जान्छ। यसको ३ प्रतिशत थ्रेस होल्ड ३ लाख २० हजार हुन्छ। अहिलेलाई प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले ३ लाख २० हजार मत कटाएमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ।
यसैबीच एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउला किन नपाउला?
निर्वाचन आयोगको दिउँसो २:१२ बजेसम्मको तथ्यांकअनुसार अहिलेसम्म सदर मतको संख्या ७१ लाख १४ हजार ७ सय ४२ पुगेको छ। अघिको हिसाबअनुसार कूल सदर मतको संख्या ९७ लाख १३ हजार ८२७ बाट ७१ लाख १४ हजार ७ सय ४२ घटाउँदा अब २५ लाख ९९ हजार ८५ मत गन्न बाँकी छ।
यही समयमा एकीकृत समाजवादीले १ लाख ८२ हजार ३ सय ९ मत ल्याइसकेको छ। अब थ्रेसहोल्डको सीमा ३ लाख २० हजार हुँदा प्रत्यक्षतर्फ १० सिट जितिसकेको एकीकृत समाजवादीले कम्तीमा १ लाख ३८ हजार समानुपातिक मत ल्याउनुपर्ने हुन्छ। झन्डै २६ लाख मत गन्न बाँकी रहेकाले यति पुग्ने सम्भावना छ।
तर यसको एकिन हिसाबका लागि मत गणना सकिएपछि निर्वाचन आयोगले सार्वजनिक गर्ने तथ्यांक पर्खनुपर्ने हुन्छ।
Shares
प्रतिक्रिया