ad ad

राजनीति


मुख्यमन्त्रीको ‘भाइरल’ भाषण : लास्ट बेन्चको मुख्यमन्त्री भएँ, फर्स्ट बेन्चको खरिदार बन्यो (भिडिओ)

मुख्यमन्त्रीको ‘भाइरल’ भाषण : लास्ट बेन्चको मुख्यमन्त्री भएँ, फर्स्ट बेन्चको खरिदार बन्यो (भिडिओ)

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०८० बुधबार १६:५३, काठमाडौँ

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सोमबार दिएको एउटा सार्वजनिक मन्तव्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

खासमा नेपाली कांग्रेसको संस्थापन पक्षलाई चकित बनाउँदै नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीले उक्त मन्तव्यमा बोलेका कुरा अहिलेको राजनीतिक व्यवस्थासँग मिल्दोजुल्दो छ।

नेपाली समाजमा अध्ययनमा अब्बल विद्यार्थी सरकारी जागिरतर्फ लाग्दा कमजोरहरूले भने राजनीतिमा लागेर अब्बललाई शासन गर्ने दृष्टान्त अनौठो लाग्दैन। 

अन्यत्र असफल भएकाहरू राजनीतिमा लागेर पढाइमा आफूभन्दा तगडालाई शासन गर्छन् भन्ने उक्तिलाई कार्कीले आफ्नो मन्तव्यबाट पुष्टि गर्ने कोसिस गरेका छन्। 

सन्दर्भ थियो, मोरङको सुन्दरहरैँचा नगरपालिका-६ दुलारीस्थित साजिलाल माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव समारोहको। जहाँ उनले अहिले भाइरल भइरहेको भाषण गरेका थिए।

त्यस कार्यक्रममा उनले अन्य विषयमा पनि लामो मन्तव्य दिए। तर भाइरल भयो, फर्स्ट बेन्चर र लास्ट बेन्चर विद्यार्थीको सन्दर्भ।

मुख्यमन्त्री कार्कीले फर्स्ट बेन्चमा बस्ने साथी निजामती कर्मचारीको खरिदार हुँदा लास्ट बेन्चमा बस्ने आफू मुख्यमन्त्री भएको बताएका थिए। 

‘फर्स्ट बेन्चमा बस्ने ऊ खरदार भयो,  म लास्ट बेन्चमा बस्ने मुख्यमन्त्री भएँ’, उनले भनेका थिए, ‘कक्षा कोठामा लिने ज्ञान विविध हुन्छन्, ज्ञानको मापन केवल प्रमाणपत्रमा मात्रै हुँदैन। प्रमाणपत्रको अंकले ज्ञानको मापन हुँदैन।’

‘म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ। फर्स्ट बेन्चमा बस्नेले केबल लेख्न-पढ्न मात्रै जान्यो, ऊ अहिले खरिदार छ, म अहिले मुख्यमन्त्री छु,’ उनले भनेका थिए, ‘उसले कसरी हुन्छ भुँडी भर्न मात्रै जान्यो।’ 

उनको यो भाषणले कतिपय शिक्षक र कर्मचारीहरूको चित्त दुखेको छ। सामाजिक सञ्जालमा उनीहरूले कार्कीले आफूलाई होच्याउने काम गरेको भन्दै आलोचना पनि गरेका छन्।

कक्षा कोठाको ज्ञान विभिन्न किसिमको हुने पनि उनले त्यहाँ बताएका थिए। तर अहिले फर्स्ट बेन्चर र लास्ट बेन्चरको सन्दर्भले कतिपय पढन्ते विद्यार्थी र पूर्वविद्यार्थीको पनि चित्त दुखाएको छ।

उनले सम्बोधनका क्रममा प्रमाणपत्रमा दिइएको अंकले मात्रै ज्ञानको मापन नहुने तर्क गरेका थिए। 

‘सर्टिफिकेटलाई मात्रै ध्यान दिएर यति नम्बर, उति अंक ल्याएर पास गर्‍यो भन्ने कुराले मात्रै ज्ञान आर्जन गर्न सक्दैन’, उनले भाषणमा भनेका थिए,‘सर्टिफिकेट ज्ञान आर्जनको मापन हुन्थ्यो भने चाणक्यको अर्थशास्त्रको नियम फेल हुन्थ्यो।’ 

मुख्यमन्त्री कार्कीले अर्थशास्त्रका विद्यार्थीहरूले चाणक्यको अर्थशास्त्र नपढी डिग्री हासिल गर्न नसक्ने पनि बताएका थिए। उनले फर्स्ट बेन्चर र लास्ट बेन्चरको सन्दर्भ जोडेर भाषण गरिरहँदा विद्यार्थीहरूले तालाी बजाउँदै हुटिङसमेत गरे।

अरु के के भनेका थिए? 
कार्कीले विभेद अन्त्यका लागि दाताले आफ्नो सम्पत्ति दान गरेर बनाएको विद्यालयमा अङ्ग्रेजी र नेपाली माध्यममा छुट्टाछुट्टै शिक्षा दिएर विभेद गर्न नहुने पनि बताएका थिए।

मुख्यमन्त्री कार्कीले विद्यालयबीच विभेदको बिउ रोपिरहेको भन्दै प्रश्नसमेत गरेका थिए। ‘एउटै विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा पढाएर अबोध बालबालिकाको मनमा धनी र गरिबबीचको खाडल किन खनिरहेका छौँ?’, उनले त्यहाँ प्रश्न गरे। 

गरिबको करबाट चलेको विभेदकारी विद्यालयमा प्रदेश सरकारले कुनै लगानी नगर्ने पनि उनले बताए। ‘साजिलालले विभेदविरुद्ध विद्यालय स्थापना गर्नुभएको थियो तर अहिले त्यही विद्यालयमा विभेदकारी शिक्षा किन?’, उनले भने। 

अंग्रेजी राम्रो जान्ने हुँदैमा उत्कृष्ट नहुने उनले बताए। नेपाली र अंग्रेजीको कुराभन्दा व्यवहारिक ज्ञान ठूलो भएको कार्कीले बताएका थिए। उनले अंग्रेजी जान्नेले पनि महिला हिंसालगायत अपराध गर्दै हिँडेका बताउँदै व्यवहारिक ज्ञान ठूलो भएको उल्लेख गरेका थिए। 

‘ज्ञानको मापन व्यवहारबाट हुन्छ, सर्टिफिकेटबाट हुँदैन। अहिलेसम्म संसारमा मानव जीवन सहज बनाउने भए गरेका सिर्जना विद्यालय शिक्षा र किताबी ज्ञानले नभई प्रकृतिबाट शिक्षा लिएर मात्रै गरेका हुन्’, उनले भने।

अहिले विद्यालयका चौर र खेल मैदान मासेर सटर बनाइरहेको देख्दा आफूलाई उदेक लागेको पनि उनले बताए।

किताबीभन्दा प्राकृतिक र प्रयोगात्मक शिक्षाले मात्रै ज्ञान प्राप्त हुने गरेको कुरा शिक्षकहरूले बुझ्नु आवश्यक रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .