बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत शान्तिपूर्ण रूपमा मतदान जारी छ। बिहान ७ बजेदेखि बारा २ का सबै मतदान केन्द्रमा मतदान भइरहेको छ।
बारा २ मा मतदान सुरु भएको दुई घण्टामा १० प्रतिशत मत खसेको यहाँका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिएका छन्।
मतदानलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। १ हजार ६ सय ८८ नेपाल प्रहरी, ६ सय सशस्त्र प्रहरी र ३ सय नेपाली सेना सुरक्षाका लागि खटाइएको हो।
बारा २ का ८२ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन्। तीमध्ये ६५ मतदानस्थल अति संवेदनशील, १७ समान्य रहेको जिल्ला प्रशासन कार्यालय (बारा) ले जनाएको छ।
महागढी र पचरौता नगरपालिका, करैयामाई, सुवर्ण र देवताल गाँउपालिकाका ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा १ लाख ५ हजार २ सय ४८ मतदाता छन्।
बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेललगायत ३४ उम्मेदवार प्रतिस्पर्धामा छन्।
Shares
प्रतिक्रिया