ad ad

प्रविधि


के जुकरबर्गको मेटाभर्सले हावा खाएकै हो?

के जुकरबर्गको मेटाभर्सले हावा खाएकै हो?

नेपालखबर
असोज ९, २०८० मंगलबार १८:५६,

च्याट जीपीटी आउनुअघि प्रविधिको संसारमा यसभन्दा एकदमै अलग विषय चर्चामा थियो– मेटाभर्स।

यो लामै समय प्रविधिसम्बन्धी खबरमा छाइरह्यो। मेटाभर्स अति नै आकर्षक र रमाइलो भर्चुअल रियालिटी हुने बताइएको थियो, जसमा हामी आफ्नो जीवनको केही हिस्सा बिताउन चाहन्छौँ।

यसको प्रमुख प्रचारक थिए मार्क जुकरबर्ग। यी अर्बपति मेटाभर्सप्रति यति प्रतिबद्ध थिए कि उनले अक्टोबर २०२१ मा फेसबुकको नामै बदलेर मेटा राखे।

‘मेटाभर्सको मुख्य विशेषता भनेकै सहभागिताको अनुभूति हुनु हो,’ उनले भनेका थिए, ‘तपाईंले कल्पना गर्नसक्ने सबै काम मेटाभर्समा गर्न सक्नुहुनेछ।’

उनको पक्षबाट महत्वाकांक्षामा कुनै कमी थिएन। 

तर, लगभग दुई वर्ष बितिसक्दा जुकरबर्गको मेटाभर्ससम्बन्धी अवधारणा नै संकटमा परेको छ। गत अप्रिलमा उनले मेटाभर्स निर्माणको योजना आफूले नत्यागेको बताएका थिए।

‘खै कसरी हो, हामीले आफ्नो ध्यान मेटाभर्सबाट हटायौँ भन्ने कथन निर्माण भएको छ। त्यसैले म सबैका अगाडि भन्न चाहन्छु, यो कुरा साँचो होइन,’ उनले लगानीकर्तामाझ भनेका थिए।

बुधबार मेटा कनेक्ट भनिने वार्षिक कार्यक्रम सो कम्पनीले आयोजना गर्दैछ। सायद जुकरबर्गका लागि यो एउटा मौका हुनेछ– उनी किन अति नै नाफादायी फेसबुकबाट अति नै घाटा हुने भर्चुअल रियालिटीतर्फ लागे भनेर लगानीकर्ताहरुलाई बताउने।

भर्चुअल रियालिटीमा कति घाटा छ भन्ने मेटाको पछिल्लो आँकडाले देखाउँछ। मेटाको रियालिटी ल्याबले गत वर्षयता मात्रै २१ अर्ब डलर गुमाइसकेको छ। 

यो घाटाको केही हिस्सा दीर्घकालीन लगानीमा गएको छ। तत्काल फाइदा हुने अपेक्षा कम्पनीले राखेको पनि थिएन। तर, चिन्ताजनक तथ्य के हो भने यत्रो पैसा लगानी भएको यो परियोजना सफल होला भन्ने प्रमाण अहिलेसम्म देखिएको छैन।

मेटाले होराइजन वर्ल्ड्स नामक भिडिओ गेम सार्वजनिक गरेको छ। यो कम्पनी मेटाभर्सको सबैभन्दा नजिक पुगेको त्यही हो। जहाँ क्याफे, नाइट क्लब, बास्केटबल कोर्टजस्ता फरक स्थानमा पसेर गेम खेल्न सक्छन्।

यसका मासिक प्रयोगकर्ता ३ लाख रहेको कम्पनीको भनाइ छ। फेसबुक र इन्स्टाग्रामका अर्बौं प्रयोगकर्ताको तुलनामा अति नै कम संख्या हो।

तर, त्यही खेलमा पनि भर्चुअल रियालिटीको अनुभूति नहुने धेरैले बताएका छन्।

मेटाको भर्चुअल रियालिटी हेडसेट भने दुई करोड वटा बिकिसकेको छ। जसको प्रशंसा पनि भएको छ।

तर, जुकरबर्ग हामीले काम गर्ने र बाँच्ने तरिकामै क्रान्ति ल्याउन चाहन्छन्।

सोझै भन्दा भर्चुअल रियालिटी अझै पनि निकै सानो हिस्सा मात्र हो, हाम्रो जीवनको। धेरैजसो मानिस यसमा खेल्न चाहँदैनन्, आफ्नो समय बिताउने कुरा त टाढाको भयो। वास्तविक जीवन नै अत्यधिक आकर्षक छ।

त्यसैले उनको यो अवधारणाले हावा खान लागेको प्रतीत हुन्छ। बुधबार उनले यसलाई अति आवश्यक भइसकेको अक्सिजन प्रदान गर्नुपर्ने हुन्छ।

बुधबार जुकरबर्गले मेटाको नयाँ हेडसेट र भिडिओ गेमबारे बताउनेछन्। त्यस्तै अनेक एआईसम्बन्धी घोषणा पनि हुनेछ।

निश्चय नै उनले यो दीर्घकालीन योजना हो भन्ने छन्। वास्तवमा उनी यसमा अझै विश्वास गर्छन्। अर्को वर्ष अझ बढी घाटा हुने उनले जुलाईमै बताइसकेका छन्। 

त्यसैले मेटाको ल्याबमा मेटाभर्स जिउँदो छ। तर, प्रविधि–संसारका सबैजसो यसबाट अघि बढिसकेको महसुस हुन्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .